काठमाण्डौ । एनबी इन्स्योरेन्सले निश्कासन गर्न लागेको १ बराबर १ अनुपातको हकप्रदका लागि बुक क्लोजको मिति आगामी जेठ ४ लाई तोकेको छ ।

यो बिमा कम्पनीलाई धितोपत्र बोर्डले एकसाताअघि सतप्रतिशत हकप्रद निश्कासनको अनुमति दिएको थियो ।

यो कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गरी जेठ ४ गतेलाई बुक क्लोज मिति तोकेको हो । यसको अर्थ जेठ ३ गतेसम्म एनबी इन्स्योरेन्सको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले मात्र सतप्रतिशत हकप्रद भर्न पाउनेछन् ।

यो निर्जिवन बिमा कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यको कुल २७ लाख कित्ता हकप्रद निश्कासन गर्नेछ । हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड रहेको छ ।

यो बिमा कम्पनीको हाल चुक्तापुँजी २७ करोड रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रदपछि चुक्तापुँजी बढेर ५४ करोडको उचाईमा पुग्नेछ । बिमा समितिले निर्जिवन बिमा कम्पनीको चुक्तापुँजी न्यूनतम १ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसारको पूँजीको उचाई प्राप्त गर्न यो बिमा कम्पनीले अझ निकै मेहेनत गर्नुपर्ने देखिन्छ । बिहीबार यो कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १ हजार ८ सय ६१ रुपैयाँ रहेको छ । हकप्रदपछि मूल्य समायोजन हुँदा सेयरको मूल्य केही घटे पनि १ सय रुपैयाँ हालेर खरीदमा राम्रै फाइदा देखिन्छ ।