काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संस्था नेपाल बैंकर्स अशोसिएसन(एनबीए)ले १ प्रतिशत हाराहारीमा बेसरेट बढ्दा चाहिनेभन्दा बढी हल्ला भएको दाबी गरेको छ । 

मंगलबार काठमाण्डौमा आर्थिक पत्रकारसँगको अन्तरक्रियामा एनबीएका पदाधिकारीहरुले त्यस्तो दाबी गरेका हुन् । 

एनबीएका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले नेपालमा १ प्रतिशत हाराहारीमा बैंकको आधार दर बढ्दा चाहिनेभन्दा बढी हल्ला गरेर बैंकिङ उद्योगलाई बदनाम गर्ने काम भएको भन्दै आपत्ति जनाए । 

‘अमेरिकामा बैंकको ब्याजदर १ प्रतिशत हाराहारीबाट ८ प्रतिशत पुग्यो । तर, नेपालमा जम्माजम्मी १ प्रतिशत बढ्दा बढी हल्ला गरियो । बैंकहरुको विषयमा दुष्प्रचार गरियो ।’ केसीले भने–‘अहिलेको विश्व अर्थतन्त्रमा देखिएको समस्यापछि अन्य देशको अवस्था हेर्दा नेपालमा ब्याजदर बढेकै होइन भन्दा पनि हुन्छ ।’ 

उनले नेपालका बैंकहरु जिम्मेवार बनेर अगाडि बढिरहेका उल्लेख गर्दै आफूहरुको दायीत्व ऋणिप्रति मात्र नरहने प्रष्ट पारे । ‘हाम्रो त डिपोजिटरप्रति पनि उत्तिकै दायीत्व हुन्छ । लगानीकर्ताको हित पनि हेर्नुपर्छ ।’ उनले थपे–‘तर विगतमा हामीले ऋणिलाई बढी सुविधा दिंदा निक्षेपकर्ता र लगानीकर्तामाथि अन्याय भयो जस्तो लाग्न थालेको छ ।’

उनले १० वर्षअघि देशको बैंकिङ सेक्टरको रिटर्न अन इक्वीटी(स्वँपूजीमा प्रतिफल) २४.४२ प्रतिशत रहेकोमा अहिले घटेर ११.७३ प्रतिशतमा सीमित भएको भन्दै यो फिगरले समेत लगानीकर्तालाई मर्का परेको पुष्टि हुने दाबी गरे । 

उनले बैंकहरुले देशको राजश्व र आर्थिक उन्नतिमा गरेको योगदानको बेवास्ता गरिएको गुनासो पनि गरे । 

विश्वव्यापी आर्थिक मन्दीका संकेतहरु देखिन थालेका र यसले कतिपय देशको बैंकिङ धराशायी बन्दै गए पनि नेपालको बैंकिङ भने सहजै व्यवस्थापन गर्न सकिने ठाउँमा रहेको उनको तर्क छ । ‘विश्वव्यापी मन्दीको प्रभाव हामीलाई पनि नपर्ने कुरा हुन्न । तर, अझै पनि हामी वेल मेनेज्ड गर्ने अवस्थामा छौं ।’ उनले भने–‘सबैको साथ र सहयोग रहने हो भने दक्षिण एशियामा नेपालको बैंकिङलाई टप बनाउनसक्ने क्षमता हामीसँग छ ।’

अध्यक्ष केसीले पछिल्लो एकवर्षमा औसत लाभांश क्षमता पनि १४.३ प्रतिशतबाट घटेर १०.७६ प्रतिशतमा झरेको उल्लेख गर्दै सधैं ऋणिको कुरा मात्र सुन्न जायज नहुने बताए । ‘यति गर्दा गर्दै पनि निजी क्षेत्रबाट ब्याज नतिर्ने, ब्याजदर घटाइदिनुपर्ने र लोन नै नतिर्ने जस्ता माग राख्दै आन्दोलन हुन थालेका छन्, यो राम्रो कुरा होइन ।’ उनले थपे–‘हामी देशको अर्थतन्त्रको विषयमा सचेततापूर्वक आशावादी छौं ।’ 

राष्ट्रबैंकले तोकेको नयाँ स्प्रेड दर बैशाखदेखि लागू गर्नुपर्ने र माघबाट निक्षेपको ब्याजदर घटी केही कम भएको लागतका कारण बेस रेट घट्ने र नयाँ बेस रेट पनि बैशाखबाटै घटेर आउने बताए । ‘बैशाखदेखि बैंकको ब्याजदर राम्रै घट्ने देखिन्छ ।’ उनले थपे–‘हामीसँग उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै सकेसम्म म्यानेज गर्दै अगाडि बढ्नेछौं । यसकारण चालु आ.ब.को बाँकी ६ महिनामा अवस्था केही सहज हुने देखिन्छ ।’ 

उनले प्रत्येक आर्थिक वर्षको दोश्रो ६ महिनामा डिपोजिटको कुल लक्ष्यको ६५ प्रतिशतसम्म आउने भएकोले अत्तालिनुपर्ने अवस्था नरहेको प्रष्ट पारे । ‘यसरी हेर्ने हो भने अबको ६ महिनामा डिपोजिटतर्फ करिब ५५० अर्ब बराबरको ग्रोथ हुने देखिन्छ ।’ उनले थपे–‘डिपोजिटमा राष्ट्रबैंकले लिएको १२ प्रतिशतको ग्रोथको लक्ष्य पूरा हुने देखिन्छ । तर, कर्जा विस्तार भने केही खुम्चिन सक्छ । समग्रमा यो वर्ष १२.१३ प्रतिशतको बैंकिङ ग्रोथ हुने देखिन्छ । यस्तो विषम परिस्थितिमा पनि यो नराम्रो होइन ।’ 

सो क्रममा एनबीएका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले देशको आर्थिक तथा बैंकिङ परिदृश्यको विषयमा प्रस्तुती समेत दिएका थिए । सो क्रममा उनले खराब कर्जा बढ्दै गएको, प्रतिसेयर आम्दानी(इपीएस) घट्ने क्रममा रहेको, बैंकहरुको औसत नाफा पनि घटेर ४ वर्षअगाडिकै अवस्थामा फर्किएको,  बैंकहरुको ब्याज आम्दानी ६९ प्रतिशतले बढे पनि खर्च चाहिँ ८५ प्रतिशतले बढेको, नेट फी तथा इनकम समेत २१ प्रतिशतले घटेको लगायतका तथ्य प्रस्तुत गर्दै अवस्था सहज बन्न थालेको बताए । 

‘अघिल्लो आर्थिक वर्षको यही बेला बैंकहरुको औसत एनपीएल १.०९ प्रतिशत थियो ।’ शर्माले भने–‘अहिले २.२९ प्रतिशत पुगेको छ । यो चिन्ताको विषय हो ।’