काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् । 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरको अवसरमा  दुई बैंकले संयुक्त रुपमा काठमाडौँ उपत्यकासहित नेपालका मुख्य मुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेका हुन् । 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् । 

प्रभातफेरिमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत दुई बैंकका १ हजारभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट हिँड्दै शहरको मुख्य मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यकाबाहिर पनि मुख्य मुख्य शहरमा परिक्रमा गरेका थिए । 

मर्जरपश्चात् बैंकको कूलपुँजी रु. ५७ अर्ब, चुक्तापूँजी रु. ३५.७७ अर्ब, कुल निक्षेप रु. ४०० अर्बभन्दा बढी र कुल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पंँुजी, चुक्तापुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ । 

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । 

त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

दुई बैंकहरुको मर्जरपश्चात् कुल ३६५ शाखाका र्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरु सहितअन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।