काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज बुधबार पनि दोहोरो अंकले बढेको छ। भोलि बिहीबार माघे संक्रान्तिको सार्वजनिक बिदा परेको अब बजार आउँदो आइतबारमात्र खुल्नेछ। 

आज नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ को विन्दुको उचाइमा पुगेको छ। यो हालसम्मकै उच्च विन्दु पनि हो। त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ४३५.२५ को विन्दुमा उक्लिएको छ। 

दोहोरो अंकले बढेको आजको बजारमा झन्डै ६ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यो हिजोको तुलनामा १ अर्बभन्दा बढी पनि हो।

झन्डै २३०० नजिक पुगेको नेप्से आज यो विन्दु पार गर्न निक्कै हम्मेहम्मे पर्यो। बुलिस प्रवृत्तिमा कुदिरहेको बजारमा आमलगानीकर्ताको मनोबल उच्च छ। जसअनुरुप नै बजारमा सकारात्मक माहौल छ। यही सकारात्मक माहौल र लगानीकर्ताको बलियो मनोबलकै कारण बजार निरन्तर उकालो चढिरहेको विश्लेषकहरु बताउँछन्।

दोस्रो त्रैमास अर्थात् माघदेखि बैंकहरुको आधारदर घटेकै कारण बचत र कर्जाको ब्याजदर बैंकहरुले अब धमाधम घटाउने क्रममा रहेकाले समेत बजारले सकारात्मक लय समातेको विश्लेषकहरु दाबी गर्छन्। माघदेखि लागू हुने बैंकहरुको कर्जादरले बजारलाई प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पर्ने भएकाले बजार बढेको उनीहरुको ठम्याइ छ। 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने बाँकी २ वटामा रातो पोतिएको छ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २४२.५२ अंकले उकालो लागेको छ। जीवन बीमा समूह १६९.७७ अंकले बढ्दा निर्जीवन बीमा समूहमा १११.१५ अंक, व्यापार समूहमा ९.०५ अंक, विकास बैंक समूहमा ३०.९७ अंक, जलविद्युत् समूहमा ३०.२ अंक, वित्त समूहमा ४५.०८ अंक, अन्य समूहमा १२.०९ अंक, लघुवित्त समूहमा ९६.४९ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।

आज बैंकिङमा ३.१५ अंक र होटेल्स् समूहमा ५.३९ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०७ कम्पनीका १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल टेलिकमको सर्वाधिक २६ करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २० करोड ७२ लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्लो तामाकोशीको १८ करोड ४९ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड ३६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ९३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९६ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सको १४ करोड ८१ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १४ करोड २८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १३ करोड ७८ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १३ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ९ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा आरम्भ चौतारी लघुवित्त, फस्ट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, गणपति माइक्रोफाइनान्स र समृद्धि फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

आज एनएमबी लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने वरुण हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स र युनाइटेड फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भएका छन्।

यो दिन मल्टीपर्पस फाइनान्सको सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।