काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि बजारले नयाँ कीर्तिमान बनाएको छ।

आज नेप्से परिसूचकले यसअघिको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। आज नेप्से ४२.७२ अंकले बढेर ३०२५.८३ को विन्दुमा उक्लिएको छ। नेप्सेले चुमेको यो हालसम्मकै उच्च विन्दु हो। 

योसँगै हिजो आइतबार नेप्सेले बनाएको अलटाइम हाई रेकर्ड ब्रेक भएको छ। हिजो नेप्सेले २९८३.११ को विन्दु चुमेको थियो। जुन हालसम्मकै उच्च थियो। 

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.६० अंकले बढेर ५५०.०२ को उचाइमा पुगेको छ। कारोबार रकम पनि पौने १९ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आजको बढाइले बजार परिपक्व बन्दै गएको प्रस्ट हुने बताउँछन्। ‘आजबाट बैंकिङ सेक्टर पनि चलेको देखिन्छ, यसले बजार बढाउन थप टेवा पुग्नेछ’, उनले भने। 

कारोबार रकमले बजारलाई भरपूर साथ दिएको ढकाल बताउँछन्। ‘अहिले बजारमा करिब ७ लाख लगानीकर्ता सक्रिय रुपमा कारोबार लागेका छन्’, उनले भने, ‘लगानीका अन्य क्षेत्रमा पनि ठप्प छन्, त्यसैले सेयर बजारको विकल्प छैन।’

बढ्दो बजारमा जोखिम बढी हुने भएकोले लगानीकर्ताहरु आफैँ सचेत भएर लगानी गर्नुपर्ने ढकालको सुझाव छ। ‘जोखिमको विश्लेषण गरेर राम्रा कम्पनीहरुमा लगानी गर्न सकियो भने प्रतिफल अवश्य प्राप्त हुन्छ’, उनले भने।

समृद्ध नेपाल लगानीकर्ता समूहका अध्यक्ष पर्वत बिष्ट आज बढाइले बजार सकारात्मक ढंगले अगाडि बढिरहेको बुझ्न सकिने बताउँछन्। ‘बजारको अबको टार्गेट भनेको ३१८० को देखिन्छ’, उनले भने, ‘सानातिना करेक्सनका साथ यो टार्गेट पूरा हुने देखिन्छ।’

निषेधाज्ञाको अवधि बढेकोले पनि बजार सकारात्मक बनेको बिष्टको तर्क छ। ‘अहिले बजारको सन्तुलन कायम गर्न नियामक निकायहरुबाट चित कदम चालिएका छन्’, उनले भने, ‘लगानीकर्ताको मनोबल पनि उच्च बन्दै गएको छ।’

बजारमा केही सयमपछि करेक्सन आउन सक्ने भन्दै बिष्टले भने, ‘त्यस्ता करेक्सनले बजार थप मजबुत हुन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ। यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ४.२५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ३.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.७२ प्रतिशत, वित्त समूहमा ०.९५ प्रतिशत, जीवन बीमा समूहमा ०.४४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२७ प्रतिशत र निर्जीवन बीमा समूहमा २.०३ प्रतिशतको बढोत्तरी भएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक १.११ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह ०.५४ प्रतिशतले घटेको आज जलविद्युत समूहमा ०.१८ प्रतिशत, लघुवित्त समूहमा ०.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०७ प्रतिशत र व्यापार समूहमा ०.३४ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ५४ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीका ५० करोड २९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँ, अरुण काबेली पावरको ३९ करोड ९६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ३९ करोड ६२ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको ३४ करोड ३८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३१ करोड ९५ लाख रुपैयाँ र निफ्राको ३१ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १२ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा ङादी ग्रुप पावर, ओरियन्टल होटेल, सीईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटेल, युनियन हाइड्रोपावर, एचआईडीसीएल, सोल्टी होटेल र हिमालयन डिस्टिलरीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन बेस्ट फाइनान्सको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

आज माउन्ट हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीले ओरालो लागेको छ।