काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले गरेको सेयरको प्राथमिक निश्कासन(आइपीओ)मा मागभन्दा ३ सय ७३ गुणा बढी आवेदन परेको छ । 

३ लाख कित्ता सेयरको प्राथमिक निश्कासन गर्न लागेको यो संस्थाले सर्वसाधारण, आफ्ना कर्मचारी र केही म्यूचुअल फण्ड संचालकहरुलाई निश्चित संख्यामा सेयर बाँडफाँड गरी त्यसमा आवेदन मागेको थियो । 

१ सय रुपैयाँ अंकित मूल्यले ३ करोड रुपैयाँको आइपीओ माग हुँदा करिब ११ अर्ब २० करोड रुपैयाँको आवेदन प्राप्त भएको आइपीओको निश्कासन तथा व्यवस्थापनका लागि बिक्री प्रबन्धकको रुपमा काम गरिरहेको एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडको मर्चेन्ट बैकिंग प्रमुख बद्री प्याकुरेलले जानकारी दिए । उनका अनुसार हालसम्मको हिसाब अनुसार ११ अर्ब २० करोड जतिको आवेदन परेको प्रारम्भिक रुपमा देखिएको छ, तर यो अमाउण्ट अझ बढ्नसक्छ । उनका अनुसार ३ लाख सेयरका लागि देशभरका  विभिन्न संकलन केन्द्रहरुमा १ लाख ६४ हजार आवेदनहरु पेश भएका छन् । 

धेरै माग पेश भएका कारण सीमित संख्याको आइपीओलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषय जटिल बनेको प्याकुरेलले बताए । उनका अनुसार आबेदन धेरै परेकाले चिठ्ठा प्रणालीबाट बाँडफाँड गर्नुपर्ने अबस्था देखिएको छ ।

यो कम्पनीले यही साउन १६ गतेदेखि १९ गतेसम्मका लागि आइपीओमा आवेदन दिने मिति तोकेको थियो । 

कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो । 

यो संस्थाले कुल निश्कासित प्राथमिक सेयरमध्ये १२ हजार कित्ता आफ्ना कर्मचारीका लागि, १५ हजार कित्ता ७ वटा म्यूचिअल फण्डवाला कम्पनीका लागि र बाँकी २ लाख ७३ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । 

धादिङमा मुख्य कार्यालय रहेको यो माइक्रो फाइनान्स कम्पनीले आइपीओको निश्कासनबाट चुक्तापूँजीमा ३ करोड थप गर्ने योजना बनाएको छ । आइपीओको व्यवस्थापनपछि कम्पनीको कुल चुक्तापूँजी १० करोड रुपैयाँ पुग्ने बताइएको छ । अधिकृत पूँजी ५० करोड रुपैयाँको रहेको छ । 

आइपीओपछि यो कम्पनीमा संस्थापक–सर्वसाधारणको सेयर रेसियो(सेयर स्वामित्व अनुपात) ७० : ३० हुनेछ ।