काठमाण्डौ ।‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्…’ गीतबाट ख्याति अर्जेका लोकगायक झलकमान गन्धर्वको ४३ वर्ष पुरानो एउटा नयाँ डिस्क रेकर्ड गीत बेलायतका संस्कृतिविदको घरमा फेला परेको छ ।

लोकगायक गन्धर्वले यो संसार छाडेको १३ वर्षपछि बेलायतको वेल्सस्थित नेपाली लोकसंस्कृतिकी जानकार भ्यालेन्टाइन हार्डिङले आफ्नै घरमा सुरक्षित राखेको अवस्थामा भेटिएको हो । ‘द लिभिङ ट्रेडिसन’ नाममा सन् १९७३ मा काठमाडौंमा डिस्क रेकर्ड गरिएको संग्रहमा झलकमानको एउटा गण्डकी भाकाको गीत भने अहिलेसम्म सार्वजनिक नभएकै अवस्थामा रेकर्डमा पाइएको छ ।

‘खोजबिन गर्दा पाएको जानकारीमा सन् १९७३ तिर काठमाडौं (कीर्तिपुर) मा भएको डिस्क रेकर्डमा झलकमानको यो गीत भेटिएको हो,’ नेपाली लोकबाजा संग्रहालयका संस्थापक रामप्रसाद कँडेलले कान्तिपुरसँग भने, ‘त्यसबेला बीबीसीमा काम गर्ने बंगाली मूलका देवेन भट्टाचार्यले यो रेकर्ड गराएका रहेछन् ।’ लोकबाजा संग्रहालयमा सुरक्षित यो गीतमा इन्द्रलाल श्रेष्ठले मादल बजाएका छन् ।

भ्यालेन्टाइन स्वयं भने सन् १९७१ मा नेपालमा स्वयंसेवक नर्स बनेर शान्तभवन आएकी थिइन् । उनी त्यसबेलैदेखि नेपाली तथा बंगाली लोकसंस्कृतिका बारे सरोकार राख्ने गर्थिन् । ‘तर यो डिस्क रेकर्ड के–कसरी लन्डनको एउटा सेकेन्ड हेन्ड म्युजिक शपमा पुग्यो भन्ने थाहा हुन सकेको छैन । भ्यालेन्टाइनका श्रीमान् डग्लसले नेपाली लोकसंस्कृतिको धुन रेकर्ड भनेर उक्त पसलबाट डिस्क किनेर घर लगेका रहेछन्,’ कँडेल भन्छन् । यो रेकर्डमा झलकमानको नयाँ गीतसहित नेवारी गान, मंगल धुनसहित १४ वटा ट्रयाक छन् ।

‘दुई दिनको जिन्दगी/बगाई लाने गण्डकी, फर्केर फेरि कैल्यै आउँदैन…’ बोलको गीत रहेको डिस्क रेकर्डमा लन्डनको ‘आर्गस’ कम्पनीको लेबल छ । यसमा डेक्का रेकर्ड कम्पनी १९७४ समेत लेखिएको छ । ‘द लिभिङ ट्रेडिसन’ नामको डिस्क रेकर्ड लन्डनमा संग्रहित छ भनेर अनलाइन सूचनामार्फत अमेरिकाको बोस्टन बस्ने विद्यार्थी आकाश सुवेदीले ५ वर्षअघि पहिलोपटक थाहा पाएका आजको कान्तिपुर दैनिकमा खबर छ ।

‘त्यसपछि मैले नेपाली लोकसंस्कृतिका जानकार रामप्रसाद कँडेललाई यसबारे अवगत गराएको थिएँ,’ हालै काठमाडौं फिरेका सुवेदीले कान्तिपुरसँग भने, ‘कँडेलले आफैं लन्डन गएर यो डिस्क रेकर्डलाई एमपी–थ्रीमा सारेर काठमाडौं ल्याउनुभएको रहेछ ।’

कास्कीको बाटुलेचौरमा संवत् १९९२ वैशाख १२ मा जन्मेका झलकमानको २०६० मंसिर ६ मा काठमाडौंमा निधन भएको थियो । झलकमानका बुबा दुर्गाबहादुर मिजार पनि कर्खा गायकका रूपमा चिनिएका छन् । लोकसंस्कृतिका जानकार कँडेलका अनुसार दुर्गाबहादुरको सन् १९६५ तिरको सरस्वती मंगलगान फ्रान्समा मिरे हेल्फर नामका संस्कृतिविदका साथमा पाइएको र हालै बाजा संग्रहालयमा संग्रहित गरिएको छ ।