काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्तमध्ये हालसम्म ४४ वटाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन्। 

हालसम्म आउँदा लगानीकर्ताका लागि गत आर्थिक वर्षको नाफाबाट ४४ लघुवित्तले लाभांश घोषणा गरेका हुन्। गत आर्थिक वर्ष २०७८–७९को नाफाबाट वाणिज्य बैंकहरुले नगद लाभांशलाई प्राथमिकतमा राखेर लाभांश दिएकोमा लघुवित्तहरुले भने नगदभन्दा बोनस सेयरलाई प्राथमिकता दिएका छन्। 

आफ््ना ऋणीबाट नियमविपरीत बढी सेवाशुल्क असुल गरेका कारण यस वर्ष केही लघुवित्तहरुको लाभांश घोषणामा ढिलाइ भइरहेको छ। यद्यपि अधिकांंशले गत वर्षको नाफाबाट लाभांश घोषणा गरे पनि एक दजर्नभन्दा बढी संस्थाहरुले भने हालसम्म लाभांश घोषणा गर्न सकेका छैनन्। 

नियमविपरीत लिएको सेवाशुल्क फिर्ता गर्ने निर्देशन भएसँगै अझै पनि त्यस्ता संस्थाहरु हच्किरहेका हुन्।

गत वर्षको नाफाबाट जीवन विकास लघुवित्तले आफ्ना लगानीकर्ताका लागि सबैभन्दा उच्च लाभांश घोषणा गरेको छ। यो संस्थाले बोनसलाई प्राथमिकतामा राखेर कुल ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। लगानीकर्ताले कम्पनीबाट ७३ प्रतिशत बोनस सेयर पाउनेछन्। 

त्यसैगरी दोस्रोमा उपकार लघुवित्तले बोनस ६१.७५ प्रतिशत र नगद ३.२५ प्रतिशत गरी कुल ६५ प्रतिशत घोषणा गरेको छ।

यस्तै डिप्रोक्सले बोनस १० प्रतिशत र नगद ११.०५ प्रतिशत, सामुदायिकले १० प्रतिशत र ११.०५ प्रतिशत, मेरो मोइक्राफाइनान्सले १० प्रतिशत बोनस र १० प्रतिशत नगद, ग्लोबलले १२ प्रतिशत बोनस र ८ प्रतिशत नगद, स्वावलम्भनले १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद, फरवार्डले २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद, महुलीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

त्यसैगरी लक्ष्मीले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद, छिमेकले २२ प्रतिशत बोनस र ३.२६ प्रतिशत नगद, आरएसडीसी ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद, समता घरेलुले १५ प्रतिशत बोनस र ३ प्रतिशत नगद, महिलाले ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद, सीआईसी र आँधीखोलाले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद, आरएमडीसी र साना किसानले २६ प्रतिशत बोनस र १.२६ प्रतिशत नगद, नेरुडेले २२ प्रतिशत बोनस र १.१५ प्रतिशत नगद लाभांश गत वर्षको नाफाबाट प्रस्ताव गरेका हुन्।

यस्तै फर्स्ट, साधना, निर्धन, नयाँ सारथी र कालिकाले समान १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश घोषणा गरेकोमा स्वाभिमान, विजय र आदर्श लघुवित्तले पनि २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद प्रतिफल घोषणा गरेका हुन्। स्वरोजगारले २२ प्रतिशत बोनस र १.१५ प्रतिशत नगद, सबैले १८ प्रतिशत बोनस र ०.९५ प्रतिशत नगद, मिथिला र जनउत्थानले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद, समिटले १३.५६ प्रतिशत बोनस र ०.७१ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।

यस्तै सिभिलले ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद, सपोर्ट ११ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद, एनएमबि १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद, किसानले ७ प्रतिशत बोनस र ०.३६ प्रतिशत नगद, मनकामनाले ४.७५  प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद, गुराँसले ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद, मिरमिरेले २३ प्रतिशत बोनस, इन्फिनिटीले २० प्रतिशत बोनस, नेसनलले ३४.४५ प्रतिशत बोनस र सूर्योदय वोमीले १५ प्रतिशत बोनस लाभांश घोषणा गरेका छन्।

सबैजसोलाई पुँजी बढाउनुपर्ने आवश्यकता रहेकोले लघुवित्तहरुले नगदलाई भन्दा बोनस सेयरलाई बढी प्राथमिकता दिएको सबैको लघुवित्तका सीईओ केशवकुमार पौडेल बताउँछन्। 

अर्को भनेको राष्ट्र बैंकले तोकेका क्यापिटल एडुकेसी रेसियो मेनटेन गर्नका लागि पनि बोनस सेयर प्राथमिकतामा परेको सीईओ पौडेलको भनाइ छ। ‘सबैजसो लघुवित्तलाई पुँजी बढाउनुपर्ने प्रेसर छ, अर्को अधिकांशको क्यापिटल एडुकेसी रेसियो पनि कम छ’, उनले भने, ‘त्यसले गर्दा अधिकांशलाई त्यो मेनटेन गर्ने प्रेसर छ।’

सीईओ पौडेलले अहिले राष्ट्र बैैंकले लघुवित्तलाई हकप्रद निष्कासन गर्न नदिएकाले पनि बोनसमा फोकस गरिएको बताए। ‘लघुवित्तलाई हकप्रद दिएको भए आधा नगद आधा बोनस हुन्थ्यो होला’, उनले भने।

लाभांश घोषणा गरेका १५ बढी लघुवित्त वित्तीय संस्थाले साधारणसभाबाट प्रस्तावित लाभांश पारित गरिसकेका छन् भने अधिकांश साधारणसभा आह्वान गरेका छन्। 

यस्तै राष्ट्र बैंकले केही लघुवित्तको लाभांशमा भने कैँची चलाएको छ। राष्ट्र बैंकले आशा लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश घटाइदिएको छ।