-अनन्त्य सुन्दर
नेपालमा अहिले ५० वटा ब्रोकरहरू सञ्चालनमा छन्। दैनिक रूपमा बजारमा कारोबार बढ्दै गएको छ। ब्रोकरले फोन नउठाउने, समयमा सेयर र पैसा नहाल्दिने जस्ता व्यवहारले लगानीकर्ताहरू निरुत्साहित छन्। साना तथा नयाँ लगानीकर्ताहरूलाई ब्रोकरहरूले गर्ने व्यवहारले, ‘के ब्रोकर ठूला लगानीकर्ताका लागि मात्र हुन् त ? भन्ने प्रश्न उठ्छ। यो नेपाली सेयर बजारको सामयिक र यक्ष प्रश्न हो। 

केही महिना अगाडि म अनामनगरस्थित ब्रोकर नम्बर ४५ अर्थात् इम्पेरीयल सेक्युरिटिजमा गएँ। म ब्रोकरमा कारोबार खाता बन्द गर्न गएको थिएँ। खाता बन्द गर्न इमेल लेख्न भनियो। खाता बन्द गर्ने बेला ६०० को कोल्याटरल बाँकी रहेछ। मलाई त्यसको चेक दिइयो। हामीले चाहिँ बैकबाट शुल्क तिरेर पैसा हाल्छौ तपाईँहरू चाहिँ चेक दिने ? भनेर प्रश्न सोध्न मन लागेको थियो। तर बैंक पनि नजिकै भएकाले केही बोलिँन। ६०० रुपैयाँको चेक एकघण्टा लाइन बसेर डिपोजिट गरेँ।

ब्रोकर खाता बन्द गर्न इमेल लेखेँ। २४ घण्टामा पनि खाता बन्द भएन। फोन गर्यो, फोन उठ्दैन । जताततै कोरोना बढेकाले ब्रोकरकोमा दैनिक रूपमा धाउने कुरा पनि आएन।

बजार पनि आफ्नो लयमा बढ्न सुरु गर्यो। केही सेयरहरू बेचेँ, केही खरिद गरेँ। खरिद गर्ने क्रममा बजार बढेसँगै ब्रोकरले कोल्याटरल लिमीट घटाएको रहेछ। केही दिनअघि मात्र सेयर बेचेको थिएँ। फोन गर्न कोशिश गरेँ तर फेरि पनि उठेन। सेयर खरिद गरौँ भन्यो पैसा ब्रोकरकोमा छ, लिमीट पनि घटेको छ। बियरमा चाहिँ लिमीट दिने अनि बुल सुरु भएसँगै लिमीट घटाउने त ब्रोकरको ‘जिन’ मा नै छ कि क्या हो जस्तो लाग्यो। कति सहने अब चाहिँ खाता जसरी नि बन्द गर्छु भन्ने सोचेँ।

केही दिनअघि पुनः फोन गरेँ। ‘सर मेरो खाता बन्द गर्नु पर्यो। कोल्याटरल रिफण्ड गर्दिनु ल’ उताबाट जवाफ आयो ‘यो त चेक नै लिन आउनु पर्छ’। अब म झापाबाट पास बनाएर ५ हजारको गाडी भाडा तिरेर २ हजार लिन आउनु ? भनेँ । उताबाट 'सर यो त मिल्दै मिल्दैन' भन्ने जवाफ आयो।

टिएमएसमा कोल्याटरल 'रिफण्ड' भन्ने अप्सन राखिएको छ। रिफण्ड गर्न मिल्दैन भने मेरो विचारमा आज नै टिएमएसबाट रिफण्ड अप्सन हटाउनु पर्छ। 

ब्रोकर नम्बर ४५ मात्र नभएर अधिकांश ब्रोकरहरूको अवस्था उस्तै छ। सामाजिक सञ्जालमा ब्रोकरले दिने सेवा बारे सोध्ने हो भने अधिकांशहरूको गुनासो मात्र सुनिन्छ।  

केही महिनाअघि एकजना मित्रले ‘दिपसिखाको फोन नै उठ्दैन त, नम्बर छ ? भनेर फोन गरेका थिए। महिनौँसम्म सेयर बेचेको पैसा खातामा नहाल्ने ब्रोकर पनि छन्। कोरियाबाट लगानी गर्दै गरेका लगानीकर्ताहरूलाई ४२ नम्बर ब्रोकरले गरेको व्यवहार बारे हामी अवगत नै छौ।

नेपालमा ब्रोकरले दिने सेवाबाट अधिकांश लगानीकर्ताहरू निराश मात्र छन्। अब ब्रोकरहरूको विकल्प खोज्न आवश्यक छ। आम लगानीकर्ताहरूले समयमा पैसा नहाल्दिने, सेटलमेन्ट नगर्दिने, फोन नउठाउने साथै राम्रो सेवा नदिने समस्याहरू झेल्दै आएका छन्। वर्षौँदेखि सेयर बजारमा लगानी गर्दै आएका लगानीकर्ता विशाल कडरिया  ‘बैकलाई ब्रोकर लाइसेन्स दिए मात्र यसको समाधान’ हुने बताउँछन्। उनकाअनुसार ब्रोकर नम्बर ४५ लगायत त्यस्ता व्यवहार गर्ने ब्रोकरहरूलाई कानुनी रूपमा कारबाही गर्नुपर्छ। 

हामी आम लगानीकर्ताले ब्रोकरहरुबाट भोग्दै आएको यस्तो व्यवहार र अप्ठ्यारोको विषयमा धितोपत्र बोर्डले ध्यान दिन मिल्छ कि मिल्दैन ? कलेज पढ्दै लगानी गर्ने एक ब्रोकरपीडित लगानीकर्ता हुनुको नाताले यो विषयमा बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाको ध्यान जाने अपेक्षा गरेको छु । बोर्ड अध्यक्ष ज्यू म र मजस्ता लगानीकर्तालाई न्याय चाहियो !