काठमाण्डौ । राष्ट्रिय स्तरका दुई बलिया विकास बैंकलाई गाभेर बलियो वाणिज्य बैंकको रुपमा उदाएको जनता बैंक नेपाल लिमीटेडले चुक्तापूँजी ८ अर्ब पुर्याएको छ । 

यो बैंकको शुक्रबार राजधानीमा सम्पन्न आठौं वार्षिक साधारणसभाले १४.४० प्रतिशत बोनस सेयर वितरणको संचालक समितिको प्रस्ताव पारित गरेसँगै चुक्तापुँजी ८ अर्ब पुगेको हो ।

मर्जरपछि बलियो बनेको बैंकको पहिलो साधारणसभा भएकोले यसलाई निकै चासोको साथ हेरिएको थियो । 

जनता बैंकले निर्विरोध रुपमा ६ जना संचालक नियुक्त गर्ने सफलता समेत प्राप्त गरेको छ । कतिपय बैंकहरुको संचालक समिति विवादमा फसिरहेको बेला जनता बैंकले मर्जरपछि पनि सहमतिमै संचालक निर्वाचित गर्नुलाई सकारात्मक लिन सकिन्छ ।

साधारणसभाबाट संस्थापक समूहतर्फ केशवबहादुर रायमाझी, रामबहादुर भण्डारी र लंकबहादुर केसी संचालक निर्वाचित भएका छन् । यस्तै, सर्वसाधारण समूहबाट गौतमप्रसाद खनाल, विनितकुमार अग्रवाल र सञ्जिव न्यौपाने निर्विरोध निर्वाचित भए ।

साधारणसभामा सहभागी सेयरधनीहरुले बलिया कम्पनी गाभिएर बलियो बनेको जनता बैंकलाई देशकै टप वाणिज्य बैंक बनाउने गरी अगाडि बढ्न व्यवस्थापन र संचालकलाई सुझाव दिएका थिए । व्यवस्थापन समूहले समेत बैंकलाई आगामी ५ वर्षभित्र देशका टप वाणिज्य बैंकको लाइनमा उभ्याउने प्रतिबद्धता जनाएको थियो । 

सेयरधनीको सुझाव अनुसार संचालक समिति र व्यवस्थापन अगाडि बढे जनता बैंकले आगामी ५ वर्षभित्रमा इतिहास नरच्ला भन्न सकिन्न । बलिया बैंकबाट भित्रिएका दक्ष जनशक्ति समेत साथमा भएकोले जनता बैंकलाई प्रक्षेपित लक्ष्य हासिल गर्न उति गाह्रो भने छैन ।