काठमाण्डौ । धितोपत्र बोर्डले निकट भविष्यमै ५१ बाहेकका कम्पनीहरुको सूची समेत सार्वजनिक गर्ने भएको छ । 

विभिन्न समूहका ५१ सूचीकृत कम्पनीको सूची जारी गर्दै ती कम्पनीमा लगानी जोखिमयुक्त भनेका कारण बजारमा नकारात्मक प्रभाव परेसँगै बिग्रिएको बोर्ड नेतृत्वको छवि सुधार्नका लागि समेत थप कम्पनीको सूची सार्वजनिक गर्ने तयारी गरिएको हो । 

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आफूहरुले बजारका सबै सूचीकृत कम्पनीहरुको अध्ययन र अनुसन्धान गरिरहेको उल्लेख गर्दै ५१ देखि बाहेकका कम्पनीको समेत मुख्य वित्तीय सूचकसहितको सूची सार्वजनिक गरिने बताए । 

'साथीहरुले काम गरिरहनुभएको छ । २-४ दिनमा बाँकी कम्पनीको समेत वित्तीय सूचकसहितको सूची सार्वजनिक हुन्छ ।' उनले बिजशालासँग भने-'५१ वटा कम्पनीलाई हामीले जोखिमयुक्त छ, लगानी नगर्नुस् भनेर भनेका होइनौं । हामीले ती कम्पनीको वित्तीय अवस्था र तत् कम्पनीको सेयरमूल्यमा भएको अस्वभाविक वृद्धिको प्रष्ट तस्विर मात्र देखाइदिन खोजेका थियौं, तर बजारले यसको अपव्याख्या गर्यो ।' 

उनले बोर्डले २-४ दिनभित्रै एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गर्ने जानकारी दिए । 'हाम्रो कदमलाई लिएर बजारमा उत्पन्न भ्रमलाई चिर्न समेत हामीले एउटा विज्ञप्ति निकाल्नैपर्ने भएको छ ।' उनले भने-'थप कम्पनीको सूचीसँगै वा अघि पछि एउटा राम्रो विज्ञप्ति आउनसक्छ ।' 

अध्यक्ष ढुंगानाले आफूले राम्रो उद्देश्यले काम थालेको भए पनि चरित्रहत्या गर्ने काम भएकोमा दुखेसो पोखे । 'मेरो उद्देश्य गलत थिएन र छैन ।' उनले भने-'नयाँ लगानीकर्ता ठूलाको षड्यन्त्रमा नफसून् भनेर यो कदम उठाएँ, तर उल्टो आलोचना भयो । गाली मात्र खाइयो।' 

उनले आलोचना भयो भन्दैमा बजार शुद्धिकरणका लागि सुरु भएको अभियान नरोकिने समेत प्रष्ट पारे । 

बजार कहिलेदेखि फर्किएला ? 
यसैबीच, धितोपत्र बोर्डकै एक उच्च अधिकारीले बिजशालासँग कुरा गर्दै भोलि(मंगलबार)देखि नै सेयर बजारको गिरावटको यात्रा रोकिने विश्लेषण सुनाएका छन् । 

नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने-'हेर्दै जानुहोला, भोलिदेखि बजार बढ्छ । ठूला खेलाडीले असार मसान्त तिर्नुपर्ने ब्याजको जोहोका लागि पनि अब एक चरण बजार बढाउँछन् ।' 

ती अधिकारीले बजार सधैं घटिरहने वा बढिरहने नहुने प्रष्ट पार्दै भने-'कम्तीमा आजसम्मको घटाईबाट नयाँ लगानीकर्ताले बजारमा जोखिम पनि हुन्छ भन्ने कुरा बुझे होलान् । बजार घटेको घट्यै मात्र गर्यो भने पनि सेयर बजारप्रति बढ्दो आकर्षण कम हुनसक्छ, नयाँ लगानीकर्ता पलायन हुनसक्छन् । यसकारण बजार भोलिदेखि नै बढ्यो भने निरश लगानीकर्तामा पुनः आशाको किरण प्रवाह हुनसक्छ ।' 

ती अधिकारीले खेलाडीहरुले बजारलाई लगातार ४००० को विन्दूमा पर्याउन खोजेका दाबी समेत गरे । 'करेक्सन हुँदै अगाडि बढेको बजार मात्र बलियो र दिगो हुन्छ, यो कुरा लगानीकर्ताले बुझ्न जरुरी छ ।' ती अधिकारीले थपे-'बजार फेरि ४००० पुग्ला, तर करेक्सनबिना लगातार बढेर पुगेको बजारमा दुर्घटना निम्तिन सक्छ ।'