काठमाण्डौ । नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको देखिएको छ। जसमा सबैभन्दा बढी एफडीआई भारतको रहेको पाइएको छ। 

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धानले तयार पारेको आर्थिक वर्ष २०७५/७६ प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। तीमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ। त्यसपछि क्रमशः चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनले देखाएको छ। 

प्रतिवेदनअनुसार नेपालमा आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १८२ अर्ब ९२ करोड रुपैयाँ कायम रहेको छ। कुल वैदेशिक लगानीमध्ये चुक्तापुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत रहेको छ। रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो।

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ। सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको देखिन्छ। त्यसैगरी औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ। 

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारिएको हो।