काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले नाफा बढाएको छ । 

अघिल्लो वर्ष तेश्रो त्रैमासमा १६ करोड खूद नाफा गरेको यो बैंकले चालु आबको सोही अवधिमा २५ करोड नाफा कमाएको हो । बैंकले ब्याज आम्दानी र संचालन मुनाफामा समेत राम्रो प्रगति गरेको छ । 

ब्याज आम्दानीमा गत वर्षको तुलनामा ४१ प्रतिशतले वृद्धि गरेको छ भने संचालन नाफा समेत ५४ प्रतिशत बढी कमाएको छ । अघिल्लो वर्ष २४ करोड रहेको संचालन नाफा यो वर्ष ३७ करोड पुगेको हो । ब्याज आम्दानी अघिल्लो वर्ष ३४ करोड रहेकोमा यो बर्ष ४८ करोड पुर्याएको छ । 

निस्क्रिय कर्जा भने केही बढेको  देखिएको छ । अघिल्लो आ.ब.को तेश्रो त्रैमासमा ०.३९ प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्ष केही बढेर ०.४१ प्रतिशत पुगेको छ । 

गत वर्षको तेश्रो त्रैमासमा प्रति शेयर आम्दानी ३५.७१ रुपैयाँ रहेकोमा यो वर्ष सोही अवधिमा सो बढेर ३९.४९ रुपैयाँ पुगेको छ । 

पोखरामा मुख्य कार्यालय रहे पनि यो बैंक राष्टिय स्तरको विकास बैंकमा परिणत भएसँगै काठमाण्डौमा कर्पोरेट कार्यालय संचालनमा आएको छ । काठमाण्डौ केन्द्रीत भएपछि आर्थिक गतिविधि बढेर आगामी आर्थिक वर्षमा थप नाफा कमाउने र बित्तीय अवस्थामा यो बैंकले आफूलाई थप सुधार गर्नसक्ने आँकलन गरिएको छ ।