काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबिए) हालका लागि कर्जा लिएको ५ वर्षसम्म ब्याजदर स्थिर बनाउन तयार भएको छ । 

राष्ट्रबैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर कर्जा अवधिभर स्थिर राख्नुपर्ने व्यवस्था एकीकृत निर्देशनबाट गरेपछि बैंकरहरु रुष्ट बनेका थिए ।

लामो अवधिको निक्षेप परिचालन नहुने नेपाली बजारमा अहिले नै कर्जाको पूरा अवधिभरका लागि एउटै ब्याजदर कायम गर्ने विषय कार्यान्वयन गर्न जटील हुने भन्दै एनबिएले यो व्यवस्थालाई क्रमशः लागू गर्दै लैजाने गरी सहजीकरण गरिदिन राष्ट्रबैंकलाई आग्रह गर्दै आएको छ। 

यो विषयमा एनबिएले बैंकरहरुसँग समेत छलफल गरेको थियो । सो क्रममा अधिकांशले तत्कालका लागि ५ वर्षसम्मका लागि स्थिर ब्याजदर बनाउन सकिने सुझाव दिएका थिए । सोही अनुसार राष्ट्रबैंकलाई लिखित रुपमै अनुरोध गरिएको एनबिएका अध्यक्ष भूवन दाहालले जानकारी दिए । 

‘हामी स्थिर ब्याजदरको विपक्षमा छँदै छैनौं, बाहिर भएको सफल अभ्यास नेपालमा पनि हुनु सुखद पक्ष हो ।’ दाहालले भने–‘तर, कर्जाको ब्याजदर स्थिर हुनका लागि निक्षेपमा पनि लामो समयसम्म स्थिर दर हुनुपर्छ । नेपालमा २ वर्ष अवधिका भन्दा निक्षेप कम देखियो । ५ वर्ष अवधिका निक्षेप त अत्यन्त कम रहेछ ।’

यहीकारण पनि आफूहरुले पहिला ५ वर्षका लागि स्थिर ब्याजदर कायम गर्ने गरी लिखित अनुरोध पठाएको उनको प्रष्टोक्ति छ। ‘पहिला ५ वर्षका लागि गरौं, बिस्तारै बढाउँदै जाऔं भन्ने हाम्रो भनाई हो ।’उनले थपे–‘स्थिर ब्याजदर सम्बन्धी व्यवस्थाले ग्राहकलाई राहात हुन्छ । तर, नेपालीको बानी २ वर्षभन्दा माथिको डिपोजिट राख्दै नराख्ने छ । अब भने हामी लङटर्म डिपोजिट लिन र ऋणपत्रमा पनि जोड गर्छौै र बिस्तारै स्थिर ब्याजदरको व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न तयार हुन्छौं ।' 

दाहालका अनुसार स्थिर ब्याजदरको विषय मात्र नभई एकीकृत निर्देशनका कतिपय कार्यान्वयन गर्न गाह्रो परेका व्यवस्थाका विषयमा पनि एनबिएले निरन्तर राष्ट्रबैंकसँग संवाद गरिरहेको छ । 

‘गभर्नर सा’ब, डेपुटी गभर्नर, कार्यकारी निर्देशक ज्यू लगायतसँग हामीलाई भएका अप्ठ्यारालाई सहज बनाउने विषयमा निरन्तर छलफल चलिरहेको छ।’ उनले थपे–‘सकारात्मक परिणामको आशा गरेका छौं ।’