काठमाण्डौ । सवारी साधनहरुको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शोको ११ औं संस्करण अवधिमा ३ अर्ब ५० करोड बराबरको कारोबार भएको छ । 

यो अवधिमा कुल ६५ हजार दर्शकले प्रदर्शनीको अवलोकन गरेका आयोजक नाडा अटोमोवाइल्स असोसिएसन अफ नेपालले जनाएको छ । 

भदौ १४ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको मेलाको समापन समारोहमा नाडाले अटो शोमा सहभागी सबै अटोमोवाइल फर्म कम्पनी, वित्तिय निकाय र इन्स्योरेन्स कम्पनीहरुलाई मोमेण्टो प्रदान गर्यो । प्रदर्शनीमा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गर्ने पूर्व घोषणाअनुसार फोर ह्वीलरमा अरुण इण्टरकण्टिनेन्टल, टु ह्वीलरमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि, कमर्सियल भेहिकलमा एल.टि इण्टरप्राइजेज प्रा.लि र सपोटिङ्ग स्टलमा हिटको प्रालिलाई पुरस्कार प्रदान गरियो । 

देशकै बृहत एवं सर्वाधिक लोकप्रिय प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्टपुर्जा तथा अन्य एसेसरिजहरुका स्टल राखिएका थिए । 

नाडा अटो शो २०१६ मा डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको जमघटले सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारिकरण र विस्तारका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको आयोजकले दाबी गरेको छ । 

भृकुटीमण्डप प्रदर्शनी स्थलको अधिकतम प्रयोग गर्दै यस वर्ष मेलामा साना र ठूला गरी करिब १२५ वटा स्टलहरू थिए भने ७४ वटा संस्थाहरूले विभिन्न योजनाहरू सहित सवारी साधन, सवारी साधन जन्य वस्तु तथा अन्य सेवाहरू प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा १६ वटा ब्राण्डका ४–पाङग्रे, १५ वटा ब्राण्डका २–पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनका स्टल थिए ।