काठमाण्डौ । पछिल्ला घटनाक्रमको विषयमा समीक्षा गर्न सत्तारुढ दल नेकपाका ६ सचिवालय सदस्य भैंसेपाटीमा भेला भएर छलफल गरिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने राष्टपतिलाई भेट्न शितल निवास पुगेका छन् । 

सचिवालयका नेताहरु सरकारले जारी गरेको अध्यादेशपछि विकसित घटनाक्रमको विषयमा समीक्षा गर्न भैसेपाटीमा भेला भएका हुन् । 

भैंसेपाटीमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ भेला भएका हुन् । 

नेताहरुको छलफलले राजनीतिक दल विभाजन सम्बन्धमा सरकारले ल्याएको विवादास्पद अध्यादेश फिर्ता गर्नुपर्ने निश्कर्ष निकालेको छ । 

यसअघि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्डलाई भेटेका थिए । सो क्रममा ओलीले अध्यादेश फिर्ता हुने आश्वासन दिएका थिए । सचिवालयकै नेताहरुले समेत साँझसम्ममा अध्यादेश फिर्ता हुने अपेक्षा गरेका थिए, तर त्यसो हुन सकेन । त्यसपछि विकसित हुनसक्ने घटनाक्रमको विषयमा समेत सचिवालय सदस्यहरुले छलफल गरेका स्रोतको भनाई छ । 

यसैबीच, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने यही बेला शितल निवास पुगेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न र सरकारको काम कार्यबाहीको विषयमा रिपोर्टिङ गर्न उनी त्यहाँ पुगेका भनिए पनि अध्यादेश फिर्ताको विषयमा छलफल गर्न पुगेका अनुमान गरिएको छ । कतिपयले भने सचिवालयका बहुसंख्या सदस्य भैंसेपाटीमा छलफलमा जुटेकै समयमा ओली शितल निवास जानु, साँझसम्म फिर्ता हुने भनिएको अध्यादेशको विषयमा सरकार अनिर्णित हुनु लगायतको विषय प्रस्तुत गर्दै अवस्था केही ‘अर्थपूर्ण’ हुनसक्ने दाबी गरिरहेका छन्।