काठमाण्डौ । स्थानीय निर्वाचनको मतगणना जारी छ । सुरुवाती चरणमा रहेको मतगणनाको क्रममा कतिपय स्थानमा रोचक अवस्था पनि देखिएको छ । 

मुख्य रुपमा गठबन्धनको ठूलो दल कांग्रेस र एमालेबीच विभिन्न ठाउँमा कडा टक्कर देखिएको छ । 

विभिन्न गाउँपालिका र नगरपालिकाका मतपरिणामहरु सार्वजनिक भइरहँदा धेरैको ध्यान चाहिँ देशका ६ महानगरपालिकाको सम्भावित मतपरिणामतर्फ खिचिएको छ । 

शनिवार मध्यराति ११ः५५ बजे हामीले ६ वटा महानगरपालिकाका मेयर र उपमेयरका प्रमुख प्रतिस्पर्धी र उनीहरुले प्राप्त गरेको मतलाई अपडेट गर्ने कोशिश गरेका छौं । 

काठमाण्डौ महानगरपालिका
काठमाण्डौ महानगरपालिकामा सुरुवाती अग्रतालाई कायम राख्दै मेयरतर्फ स्वतन्त्र उम्मेद्वार बालेन साहले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तरलाई बढाउँदै लगेका छन् । 

निर्वाचन कार्यालयका अनुसार बालेनले ७६७ मतसहित अग्रता लिएका छन् । उनलाई एमालेका केशव स्थापितले ५५० मतसहित पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना सिंह ४२१ मतसहित तेश्रो स्थानमा छिन् । 

काठमाण्डौको उपमेयरमा भने एमालेकी उम्मेद्वार सुनिता डंगोलले ९२० मतको फराकिलो मतअन्तरले अग्रता कायम गरेकी छिन् । गठबन्धनतर्फ उपमेयरका उम्मेद्वार रामेश्वर श्रेष्ठको मत अढाई सय पनि पुगेको छैन । 

ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा निवर्तमान मेयर चिरिबाबु महर्जन नै अगाडि छन् । उनले ३२६ मतसहित अग्रता लिएका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकार १४१ मतसहित दोश्रो स्थानमा छन् । 

उपमेयरतर्फ भने एमालेकी मञ्जली शाक्य बज्राचार्य १४४ मतसहित अगाडि छिन् । उनलाई माओवादीका बाबुराज बज्राचार्यले ६१ मतसहित पछ्याइरहेका छन् । 

भरतपुर महानगरपालिका
चितवनको भरतपुर महानगरपालिकामा मेयरतर्फ रोचक भिडन्त देखिएको छ । 

गठबन्धनको साझा उम्मेद्वार रेणु  दाहालले ५०० मत ल्याउँदा एमालेका उम्मेद्वार विजय सुवेदीले ४५६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ४७८ मत ल्याएका छन् भने उपमेयरमा एमाले र राप्रप्रा गठबन्धनकी उम्मेदवार हिमला गुरूङ ३६७ मत ल्याएकी छन्। 

पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाको मेयर पदमा पनि कडा टक्कर देखिएको छ । यहाँ गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका नेकपा समाजवादीका धनराज आचार्यले ७६ मतसहितको अग्रता लिएका छन् । एमालेका उम्मेद्वार कृष्ण थापा ७४ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरतर्फ भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ र एमालेकी मञ्जुदेवी गुरुङले ८१ मत प्राप्त गरेका छन् । 

वीरगञ्ज महानगरपालिका
वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदका उम्मेद्वार जनता समाजवादी पार्टीका राजेशमान सिंह ७३७ मतसहित अगाडि छन् । 
उनलाई एमालेका विजयकुमार सरावगीले ३३८ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरतर्फ नेपाली कांग्रेसमा इम्तियाज आलम लोसपाका पुरुषोत्तम लाल झाभन्दा अगाडि छन् । 

विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेद्वार नेपाली कांग्रेसका नागेश कोइराला फराकिलो मतान्तरले अगाडि छन् । उनले १०३८ मत ल्याउँदा एमालेका सागर थापाले ७७४ मतसहित पछ्याइरहेका छन् । 

उपमेयरतर्फ एमाले उम्मेद्वार अगाडि छिन् भने उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव दोश्रो स्थानमा छन् ।