काठमाण्डौ । मेगा बैंकले आफ्ना सेयरधनीलाई १४ प्रतिशत लाभांश र ६५ प्रतिशत हकप्रद निश्कासनको डबल अफर एकसाथ पारित गरेको छ । 

बैंकको बिहीबार राजधानीमा सम्पन्न छैठौं साधारणसभाले बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत गरी १३.९५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश पारित गरेको बताइएको छ ।

आर्थिक बर्ष २०७२/७३ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत अर्थात ५३ करोड १६ लाख बोनस शेयर तथा सोको लागि आवश्यक करको निमित्त हालको चुक्ता पुँजीको ०.७० प्रतिशत अर्थात २ करोड ८० लाख नगद लाभांश साभारण सभाले पारित  गरेको बैंकले जनाएको छ । बैंकका संचालक समिति अध्यक्ष भोजबहादुर शाहले संचालनको छोटो अवधिमै यति मुनाफा दिनसक्नुलाई उपलब्धिको रुपमा लिनुपर्नेमा जोड दिए । ‘मैले अघिल्लो बर्ष १० प्रतिशत भन्दा बढी लाभांश दिने प्रतिबद्दता गरे बमोजिम यस बर्ष बैंकले १३.९५ प्रतिशत लाभांश वितरण गर्न सफल भएकोमा खुसी लागेको छ ।’–उनले थपे । 

यसैगरी, साधारणसभाले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यो निर्णयले करिब १ लाख ४० हजार शेयरधनी लाभान्वित हुनेछन् ।  

सञ्चालनको ६ वर्षमै निर्माण तथा हासिल गरिएको आधार उत्साहजनक रहेको उल्लेख गर्दै अध्यक्ष शाहले विपन्न वर्ग तथा लघुवित्त अन्तर्गत बैंकले करिब २१ हजार ग्राहकहरुलाई कर्जा प्रदान गरिसकेको बताए । उनले भने–‘देशका ६३ जिल्लामा छरिएका  १२१९ जना मध्यमवर्गीय संस्थापक शेयरधनीहरुले “हलोदेखि हाइड्रो” सम्मका ग्राहकहरुलाई लक्षित गरी“सम्पूर्ण नेपालीको बैंक” बनाउने उद्धेश्यले स्थापना गरेको यस बैंकमा हाल सर्वसाधारण शेयरधनीहरुसहित करिब १ लाख ४० हजार शेयरधनीहरुको सहभागिताका साथै साबिक पश्चिमाञ्चल डेभपलपमेण्ट बैंक लिमिटेडसंगको मर्जरबाट समेत बैंकको सञ्जाललाई थप व्यापक बनाएको छ ।’ 

अत्याधुनिक प्रविधिको प्रयोग र क्षमतावान कर्मचारीका कारण मेगा बैंकले राम्रो प्रगति हासिल गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले बताए । 

‘बैंकले क्षेत्रीय कार्यालयको अवधारणालाई आत्मसात गर्दै लुम्बिनी क्षेत्र अन्तर्गतका शाखा कार्यालयहरु मतहतमा रहने गरी बुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ । भविष्यमा अन्य क्षेत्रमा समेत आवश्यकता बमोजिम क्षेत्रीय कार्यालयहरु स्थापना गर्दै जाने नीति लिएको छ ।’, उनले भने–‘देशका विभिन्न १० वटा स्थानहरुमा शाखा कार्यालयहरु विस्तार गर्नको निमित्त बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ ।’

मेगा बैंकले स्थापनाको पहिलो बर्षदेखि नै निरन्तर नाफा गर्दै आएको छ । २०७१/७२ मा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गर्न सफल भएकोमा २०७२/७३ मा बढेर ५५ करोड १० लाख पुगेको थियो । 

सिइओ शाहका अनुसार, चालू आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ७ अर्ब ७७ करोडले वृद्धि भई ३८ अर्ब ५२ करोड रुपैंया पुगेको छ भने खुद कर्जा ६ अर्ब ६५ करोडले वृद्धि भई ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । दोस्रो त्रैमासिकमै बैंकले ३७ करोड ९ लाख खूद मुनाफा आर्जन गरेको छ । 

मेगा बैंकका अहिले ३९ वटा शाखा कार्यालयहरु, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । यसैगरी, बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर १४ सय भन्दा बढी प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्र्तराष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २० पुगेको छ । यसैगरी, बैंकको ग्राहक संख्या २ लाख २४ हजार पुगेको छ ।