काठमाण्डौ । अक्टोबर १ अर्थात भोलिदेखि दुबईमा एक्स्पो हुन गइरहेको छ, जहाँ विश्वभरका ४६ हजार संघसंस्थाका अढाई करोड बढी भिजिटर पुग्नेछन् । दुबईमा विश्वभरका प्रतिष्ठित लगानीकर्ता र व्यापारीको कुम्भमेला लाग्नेछ । यो एक्स्पो ६ महिनासम्म संचालन हुनेछ । 

यो एक्स्पोमा विश्वका १८० देशको पेभेलियन बनाइएको छ । विभिन्न देशले तयार गरेका पेवेलियनको अलग अलग उद्घाटन कार्यक्रम समेत राखिएको छ । ती पेभेलियन उद्घाटनका लागि सम्बन्धित देशका विभागीय मन्त्रीदेखि प्रतिष्ठित व्यापारी व्यवसायीको समेत कुम्भ मेला लाग्ने समाचारमा उल्लेख गरिएको छ । 

विभिन्न देशले निर्माण गरेका पेभेलियन अलग अलग थिमबाट प्रेरित रहेका छन् । यी पेभेलियनहरुले कुन देशको क्षमता कुन रुपमा बढिरहेको छ भन्ने कुरा आगन्तुकलाई झल्को दिने दाबी गरिएको छ । 

यो एक्स्पोमा मस्त व्यापार होस् भन्ने उद्देश्यले दुबईको रोड एण्ड ट्रान्सपोर्ट अथोरिटीले करिब ५०० करोड रुपैयाँ लागतमा १५ प्रोजेक्टको निर्माण गरेको छ । यसमा मेट्रो स्टेसन, ५० मेट्रो ट्रेनको खरीद, ९ फ्लाइओभरका साथ १३८ लेन किमीको सडकको समेत निर्माण सामेल छ । यूएईका शहरहरुलाई एक्स्पो स्थलसम्म जोड्नका लागि १८ स्टेशन र १५०० ट्याक्सी तैनाथ गरिएको छ । 

यो भव्य कार्यक्रम सन् २०२० मै गर्न खोजिएको थियो । तर, विश्वभर बढेको कोरोना महामारीले यो वर्ष सरेको थियो । दुबईमा हुने यो इभेन्टको मेन थिम ‘कनेक्टिङ माइण्ड, क्रिएटिङ फ्यूचर’ रहेको छ । 

यो एक्स्पो आयोजनाको मिति नजिकिएसँगै यूएई भ्रमण गर्ने विदेशीहरुको संख्या ह्वात्तै बढेको समाचारमा जनाइएको छ । यूएईको यात्रा गर्नेहरुको संख्या अगस्टमा २५ लाख पुगेको छ भने सन् २०२० को यही अवधिमा यस्तो संख्या ८.१४ लाख मात्र थियो । यसको अर्थ २०७ प्रतिशतले विदेशी आगन्तुको आगमन बढेको त्यहाँका अधिकारीहरुले बताएका समाचारमा उल्लेख छ । 

होटल बुकिङ वेबसाइट ‘वीगो’ले इभेन्ट अवधि दौरान दुबईका लागि उडान तथा होटल रिजर्बेसनका लागि ५ लाखभन्दा बढी सर्च भएको रेकर्ड गरेको छ । 

त्यसो त एक्स्पो सुरु हुनुअघि नै दुबईको अर्थव्यवस्थाले सुधारको संकेत दिइसकेको रिपोर्टहरुमा उल्लेख गरिएको छ । जनवरीबाट जुलाईसम्म ३० लाख मानिस दुबई पुगेका देखिएको छ । यो अवधिमा सबैभन्दा बढी होटल रिजरभेसनका लागि दुबई विश्वकै दोश्रो शहरमा दर्ज भयो । 

सन् २०२१ को पहिलो ६ महिनामा दुबईको होटल तथा पर्यटनसँग सम्बन्धित प्रतिष्ठानले ८३ लाख पाहुनालाई स्वागत गरेको छ, जुन २०२० को पहिलो ६ महिनाको तुलनामा १५ प्रतिशतले बढी हो । यहाँको होटल उद्योगको राजश्व वृद्धिदर ३१ प्रतिशतभन्दा बढी रहेको छ ।