काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् । 

कम्पनीको संचालक समितिसँग विवाद परेपछि उनले कार्यकाल नसकिँदै राजीनामा दिएका हुन् । 

तत्कालीन सीइओ विवेक झाले २ कार्यकाल पूरा गरी संस्था छाडेपछि डेपुटी सीइओको रुपमा कार्यरत प्रसाईंलाई २०७७ माघ २७ गते बसेको संचालक समितिको बैठकले सीइओ बनाएको थियो । 

यसरी प्रसाईले कार्यकालको ९ महिना नबित्दै सीइओ पदबाट राजीनामा दिएका हुन् । उनले आफ्नो राजीनामा कम्पनी संचालक समिति र बीमा समितिमा समेत बुझाएका नेपाल लाइफस्थित स्रोतले जानकारी दिएको छ । 

विवेक झाले छाडेपछि नेपाल लाइफ इन्स्योरेन्सले उल्लेख्य प्रगति गर्न सकेन । बीमा अभिकर्ता तथा कतिपय आन्तरिक विवादहरु मिलाउन तथा व्यवस्थापन गर्न समेत प्रसाईंले नसकेपछि उनको परफरमेन्समाथि पटक पटक प्रश्न उठ्ने गरेको थियो । यिनै विषय लम्बिँदै गएर विवाद उत्कर्षमा पुगेपछि प्रसाईले राजीनामा दिएका हुन्।

प्रसाईको राजीनामासँगै नेपाल लाइफ इन्स्योरेन्समा सीइओको रुपमा संस्थाबाहिरबाट कुशल व्यवस्थापक ल्याउने तयारी भइरहेको बुझिएको छ । शिवनाथ पाण्डे, महेश ढकाल लगायतका नामहरु नेपाल लाइफको भावी सीइओको रुपमा चर्चामा छन् ।