काठमाण्डौ । पोखरामा आइतबार आन्तरिकतर्फ सबैभन्दा ठूलो हवाई दुर्घटना भयो। यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती खोँचमा खसेको थियो। 

विमान चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। अहिलेसम्म ६९ जनाको शव फेला परिसकेको छ। बाँकी ३ जनाको खोजी कार्य भइरहेको छ। 

निकै तामझामका साथ उद्घाट्न गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै ठूलो दुर्घटना भएको छ । यो घटनाले उड्डयनविज्ञहरुलाई पनि अचम्मित पारेको छ । 

उता माघे संक्रान्तिका दिन यस्तो भयावह दुर्घटना हुँदा खासगरी पोखरावासी र सारा नेपाली स्तब्ध भएका छन्। 

आइतबार पोखराको मौसम सफा थियो। नेपाल उड्डयन प्राधिकरणका अनुसार ५ किलोमिटरको भिजिबिलिटी भए पुग्ने त्यस विमानस्थलमा आइतबार ७ किलोमिटरको भिजिबिलिटी थियो। पोखराको नयाँ विमानस्थलमा कुनै किसिमको समस्या थिएन। अन्तर्राष्ट्रिय उडानका कारण आन्तरिक उडान भर्ने विमानहरु घुमाउनुपर्ने कारण पनि थिएन। विमानस्थलसँग त्यस विमानको सञ्चार टुटेको अवस्था पनि थिएन। तर, विमान एकाएक सेतीको खोँचमा अनियन्त्रित भई खस्न पुग्यो। 

सिनियर क्याप्टेन कृष्णविक्रम क्षेत्री हवाई यात्राका लागि नेपालको आकाश सुरक्षित नै रहेको बताउँछन्। ‘नेपालको हवाई क्षेत्रमा ३–४ वटा मुख्य चुनौती छन्’, उनले भने, ‘यहाँका डाँडाकाँडा, मौसम, जहाजको प्राविधिक पक्ष र मानवीय भूल मुख्य चुनौती हुन्। यी कारणले यहाँ उड्ने जहाजहरु, यहाँ जहाज उडाउने पाइलटहरु र जहाजहरु हेर्ने इन्जिनियरहरु चुस्तदुरुस्त हुनुपर्छ।’

सिनियर पाइलट क्षेत्रीले नेपालमा दुर्घटना हुनेबित्तिकै जहाज र पाइलटमाथि दोष देखाउने परिपाटी गलत रहेको बताउँछन्। ‘यो विल्कुलै गलत प्रवृत्ति हो’, ३८ वर्षभन्दा बढी समय विमान उडाएका क्षेत्रीले भने, ‘किनकि जहाज पुराना हुन्छन् भन्ने हुँदैन। जहाजका हरेक पार्टपुर्जाका आयु फरक–फरक हुन्छ। तिनको समय–समयमा परीक्षण पनि हुन्छ। जहाज पुरानो हुँदैमा दुर्घटना हुने र नयाँ हुँदैमा नहुने भन्ने हुँदैन।’

जहाज दुर्घटना न्यूनीकरण गर्न सिनियर पाइलट क्षेत्रीले यसअघि भएका दुर्घटनाहरुको प्रतिवेदनमा दिइएका सुझावहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउँछन्। ‘दुर्घटना हुनेबित्तिकै छानबिन समिति बनाउने र प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन नगरी बस्ने प्रवृत्ति राम्रो होइन’, उनले भने।

यस्ता घटनाहरु छानबिन गर्नको छुट्टै स्वतन्त्र निकाय गठन गर्नुपर्ने क्षेत्रीको सुझाव छ। ‘एभिएसन इन्भेस्टिगेसन ब्युरो नै खडा गर्नुपर्छ’, उनले भने, ‘यस्तो ब्युरो खडा गरेपछि हरेक दुर्घटनामा छानबिन समिति बनाइराख्नुपर्दैन।’

क्षेत्रीले समय–समयमा जहाजहरुको प्राविधिक निगरानी गर्नुपर्ने सुझाव पनि दिए। ‘कुन पार्टपुर्जाको कति समयमा जाँच गर्नुपर्ने भन्ने उल्लेख भएबमोजिम नै चेकजाँच गर्नुपर्छ’, उनले भने। 

त्यसैगरी पाइलटको स्वास्थ्य जाँचसँगै पाइलटको तालिम कति महिनाको हुनुपर्छ र त्योअनुसारको भएको छ वा छैन तथा कहाँबाट तालिम लिएर आएको हो भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने क्षेत्री बताउँछन्। नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरुको कडाइका साथ सुपरिवेक्षण गर्नुपर्ने क्षेत्र बताउँछन्।

अहिले नेपालजस्तो सानो मुलुकमा धेरै एयरलाइन्स कम्पनीहरु खुल्नुले पनि चुनौती थपिएको क्षेत्रीको भनाइ छ। ‘त्यसैले बैंकहरुमा जस्तै एयरलाइन्स कम्पनीहरुमा पनि मर्जरको नीति ल्याउनुपर्छ’, उनले भने। 

पोखरामा भएको विमान दुर्घटनाका विषयमा क्षेत्रीले कम उचाइमा रहेको जहाज धेरै मात्रामा घुमाउँदा वा इन्जिन फेल भएर दुर्घटना भएको हुन सक्ने बताए। ‘छानबिन समितिले काम थालिसकेको छ’, उनले भने, ‘दुर्घटनाको कारण पत्ता लाग्ला।’ 

विमानको ब्ल्याक बक्स पनि भेटिएकोले त्यसमा विमानको उडान रेकर्ड हुने भएकोले दुर्घटनाको कारण पत्ता लाग्न सक्ने क्षेत्री भनाइ छ। ‘ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ’, उनले भने, ‘‘ककपिट भ्वाइस रेकर्ड’बाट पाइलटको वार्तालाप हुन्छ। यसका आधारमा के कारणले दुर्घटना भएको हो पत्ता लगाउन सकिन्छ।