काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका तथा कोरोनाका संभावित संक्रमितहरुले १४ दिन मात्र क्वारेन्टाइनमा बसेर नपुग्ने प्रष्ट पारेको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिवारको नियमित पत्रकार सम्मेलनमा १४ दिन क्वारेन्टाइनमा बसेकै कारण कसैलाई कोरोना संक्रमण छैन भन्न सकिने अवस्था नआउने उल्लेख गर्दै भने–‘कतिपयले हाम्रो कलसेन्टरमा क्वारेन्टाइनमा १४ दिन बसिसक्दा ममा कोरोनाको कुनै लक्षण देखिएन, अब के गर्ने भन्ने कुरा गर्नु भएको छ । उहाँहरुले अझै क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।’

उनले कतिपयमा १४ दिनको क्वारेन्टाइनपछि पनि कोरोनाको लक्षण र संक्रमण देखिएको दृष्टान्त पेश गर्दै लकडाउन समेत जारी रहेकोले क्वारेन्टाइनमै बसिदिन आग्रह गरे । ‘क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ । त्यसकारण क्वारेन्टाइनमै बसिदिनुहोला ।’ डा. देवकोटाले भने–‘घरमै बस्नु पनि एक खालको क्वारेन्टाइन नै हो । तसर्थ बाहिर ननिस्किदिनुहोला, यो सबैको भलोका लागि हो ।’ 

चौध दिन क्वारेन्टाइनमा बसिसकेकाको पुनः परीक्षण गर्दा केहीलाई पोजिटिभ देखिएको भन्दै उनले अब क्वारेन्टाइनको अवधि बढ्ने प्रष्ट्याए ।

नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब त झनै सावधानीपूर्वक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आवश्यक रहेको बताए । ‘कोरोना संक्रमणको लोकल ट्रान्ससिमन हुन थालेको देखियो । कैलालीमा यस्तो पहिलो घटना भयो ।’ उनले थपे–‘संक्रमण फैलिन नदिनका लागि विदेशबाट आएका अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपाय अवलम्बन गर्नुपर्ने हुन्छ।’ 

त्यसो त शनिवार कैलालीमा संक्रमित भएका चौथो कोरोना संक्रमितकी भाउजूमा पनि सुरुवातमा संक्रमण देखिएको थिएन । दुबईबाट फर्किएका देवरलाई संक्रमण भएपछि सो परिवारका सबैको नमूना परीक्षण गरिएको थियो । सो क्रममा ती महिलामा समेत संक्रमण देखिएको थिएन । कसैलाई संक्रमण नदेखिएपछि २ दिन क्वारेन्टाइनमा राखेर उनीहरुलाई घर फर्काइएको थियो । तर, ‘कोरोना छैन’ भनी घर फकाईएकै महिलामा अहिले भने कोरोना संक्रमण पुष्टि भएको हो ।  

यही घटनातर्फ संकेत गर्दै डा. देवकोटाले क्वारेन्टाइनमा बस्नु कोरोना संक्रमण रोकथामका लागि महत्वपूर्ण हुने बताए ।

पीपीई लगाएर सेल्फी
प्रवक्ता देवकोटाले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षात्मक उपकरण(पीपीई)को स्वास्थ्यकर्मीहरुबाटै दुरुपयोग भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरे । ‘कतिपय ठाउँमा स्वास्थ्यकर्मीहरुले नै पीपीई लगाएर सेल्फी हान्दै सामाजिक सञ्जालमा पोस्ट गरेका पनि देखियो, यो पीपीईको दुरुपयोग हो ।’ उनले भने–‘देशलाई पीपीईको अभाव भइरहेको बेला यस्तो काम नगरिदिनुहोला । पीपीईको अस्पतालहरुमा समुचित प्रयोगको आवश्यकता छ ।’ 

पछिल्लो अपडेट
यस्तै, प्रवक्ता डा. देवकोटाले कोरोना संक्रमण रोकथामका लागि भइरहेको पछिल्लो कामहरुको समेत अपडेट सार्वजनिक गरेका छन्।

उनका अनुसार देशका ८ संक्रमितमध्ये २ जना टेकू अस्पतालमा, २ जना बाग्लुंग अस्पताल र बाँकी ४ जना धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका छन् । सबै संक्रमितको अवस्था सामान्य छ । 

पहिलो संक्रमित भने पहिला नै निको भएर घर फर्किसकेका छन् । 

देशभर आइसोलेसनमा रहनेको संख्या शुक्रबारको तुलनामा शनिवार भने घटेको छ । शुक्रबारसम्म देशभर १२० जना आइसोलेसनमा रहेकामा त्यो संख्या घटेर शनिवार ६९ मा सीमित बन्न पुगेको छ । यो अवधिसम्म काठमाण्डौमा १५ जना र उपत्यकाबाहिर ५४ जना मात्रै आइसोलेसनमा छन् । 

कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने गरिन्छ । त्यस्ता बिरामीहरुको संख्या घट्नु भनेको अधिकांशमा कोरोना संक्रमण प्रमाणित भएन भन्ने हो ।