कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागि देशका प्रायः सबै ठाउँमा निषेधाज्ञा जारी गरिएको छ। कोरोनाकै कारण देशको अर्थतन्त्र प्रभावित भइरहेको बेला सेयर बजारमा भने रौनक छाइरहेको छ। दिनदिनै सेयर बजारमा नयाँ–नयाँ रेकर्ड कायम भइरहेका छन्। बजार पुँजीकरण पनि देशको कुल ग्राहस्त उत्पादन (जीडीपी) बराबर पुग्न लागेको छ। यसले सेयर बजारमा पार्ने प्रभाव, कोरोनाबाट अर्थतन्त्रमा परिरहेको असर र आउँदो बजेटका विषयमा अर्थशास्त्री डा मीनबहादुर पौड्याल क्षेत्रीसँग बिजशालाकर्मी अर्जुन तिमिल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :

अर्थ मन्त्रालयमा लामो समय काम गर्नुभयो। कोरोनाको प्रभाव देशको अर्थत्रन्त्रमा कस्तो पर्न सक्छ ?

– नेपालको आर्थिक अवस्था जहिलेसुकै कमजोर नै हो। हाम्रो अर्थतन्त्र मजबुत नहुनाका धेरै कारण छन्। तीमध्ये पनि मुख्य कारण दुईवटा छन्। एउटा परनिर्भरता अर्थात वैदेशिक सहयोगमा विकास निर्माणका काम गर्न खोज्ने र अर्को हो उपभोगमुखी जीवनशैली अर्थात् उत्पादनमा ध्यान नदिने र भएको आम्दानीले सेवासुविधा विदेशबाट खरिद गरेर जीवन निर्वाह गर्ने। ४÷५ दशकपहिले नेपालले धान, चामल, दाल आदि निकासी गथ्र्यो तर अहिले धान, चामल, दालमात्र नभई विभिन्न खाद्यान्न विभिन्न मुलुकबाट आयात गरिन्छ। भएका उद्योगधन्दा तथा कलकारखाना कौडीको भाउमा बेचेर उत्पादनलाई निष्क्रिय पारियो। सक्रिय उमेरको जनशक्ति विदेशमा पलायन भइरहेको छ। 

अहिले त झन कोरोनाको महामारीले गर्दा अर्थतन्त्र कमजोर हुने नै भयो। कोरोनाले सबै क्षेत्रलाई असर गरेको छ। खासगरी होटेल, पर्यटन र सेवा क्षेत्रमा गम्भीर असर गरेको छ। यी क्षेत्र उठ्न समय लाग्छ र यिनको असर समग्र अर्थतन्त्रमा लामो समयसम्म पर्ने निश्चित छ। 

कोरोनाको असरलाई न्यूनीकरण गर्न अस्पतालजस्ता पूर्वाधारको विकास गर्नुपर्ने भए पनि हुन नसकेको अवस्था छ। अक्सिजन, औषधि, डाक्टर, नर्सहरुको अभाव छ। संक्रमित र मृतकहरु दिनहुँ थपिएका थपियै छन्। तर, सरकारको ध्यान सत्ता जोगाउन र प्राप्त गर्नतिर केन्द्रित छ। यी सबै परिस्थिति र कारणले गर्दा पनि आगामी दिनमा हाम्रो अर्थतन्त्र झन कमजोर हुने निश्चित छ।  

सरकारले बजेट ल्याउँदैछ। कस्तो बजेटको अपेक्ष गर्नुहुन्छ ? सेयर बजारमैत्री बजेट कस्तो आउनुपर्ला ?

– आर्थिक बर्ष २०७८÷७९ का लागि आउने बजेट स्वास्थ्य सेवा सुदृढीकरणका लागि हुनुपर्दछ। गत वर्षको कोरोना र यस वर्षको कोरोनाले स्वास्थ्य क्षेत्रको दूरावस्था उजागर गरेको छ। स्वास्थ्य सेवापछि कृषि, शिक्षा र अन्य रोजगारमूलक क्षेत्रका लागि बजेट केन्द्रित हुनुपर्दछ। अनि सांसदले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि हरेक वर्ष छुट्याउने गरेको रकम कटौती गरी माथि उल्लेखित क्षेत्रका लागि छुट्याउनुपर्दछ। तर विगतको अभ्यास हेर्दा त्यस्तो बजेट आउलाजस्तो लाग्दैन। अहिले झन बजेट ल्याउने बेलामा अल्पमतको सरकार छ, त्यसले गर्दा पनि जनमुखी नभई नेता तथा कार्यकर्तामुखी बजेट आउने प्रबल सम्भावना छ। 

सेयर बजारमैत्री बजेट भनेर नै केही गर्नुपर्नेजस्तो लाग्दैन। तर सेयर कारोबारमा थप करको बोझ थोपर्न हुँदैन। सेयर कारोबारमा लाग्दै आएको कर र ब्रोकर कमिसन नै बढी छ भन्ने आमजनगुनासो छ।

अहिले सेयर बजार यसरी बढ्नुका कारण के–के होलान् ? कत्तिको दिगोपन देख्नुहुन्छ ?

सेयर बजारमा अहिले उछाल आउनुका धेरै कारण छन्। हाल सबैतिर मन्दी छाएको छ, व्यापार–व्यवसाय चौपट छ, उद्योग–धन्दा तथा कलकारखाना बन्द छन्, विकास निर्माणका काम सुस्त छन्, बैंकमा निक्षेप बढ्न गएको तर पर्याप्त कर्जा प्रवाह नहुनाले बैंकहरुले ब्याज दर घटाएका छन्, लगानी गर्ने क्षेत्रमा संकुचन आएको छ, घरमै बसी–बसी अनलाइनबाटै सेयर खरिदबिक्री गर्न सकिन्छ र नगद आवश्यक पर्दा सजिलै बिक्री गर्न सकिन्छ। यिनै विभिन्न कारणहरुले गर्दा लगानीकर्ताका लागि सेयर बजार आकर्षणको क्षेत्रमा परेको छ। 

विगत केही वर्षको विश्लेषण गर्दा सेयरमा लगानी गर्दा तुलनात्मक हिसाबले सुरक्षित नै देखिएको छ। 

सेयर बजारको कुल बजार पुँजीकरण जीडीपीको साइज नजिक पुग्न लागिसक्यो। कतिपय विश्लेषकहरुले सेयर बजारको दोस्रो बजार पुँजीकरण जीडीपी नजिक पुग्नुलाई अस्वभाविक पनि मान्छन्। यहाँको विचारमा यो स्वभाविक कि अस्वभाविक ? यसले के संकेत गर्छ ?

– नेपालको सेयर बजार परिपक्व छैन भन्ने भनाइमा म सहमत छैन। किनकि नेपालको सेयर बजारको इतिहास धेरै लामो छैन। यसको कारोबार तथा साइज दिनप्रतिदिन ठूलो हुँदै गएको छ। अनलाइन सिस्टम लागू भएपछि यसले तीव्रता लिन थालेको छ। आर्थिक वृद्धि दर नेगेटिभ दिशातर्फ जाँदा सेयर बजार पोजेटिभ दिशातर्फ किन जान्छ त भन्दा अन्यत्रतिर लगानीको भरपर्दो क्षेत्र नभएर नै हो। साथमा पैसा भएपछि अनि लगानी गर्ने इच्छा भएपछि कहाँ लगानी गर्ने त ? भन्दा सजिलो सेक्टर नेपालको सेयर बजार नै देखिन्छ। त्यसैले सेयर बजारको कुल पुँजीकरण जीडीपी नजिक पुग्नुलाई अस्वाभाविक मान्न मिल्दैन। जबसम्म अन्य क्षेत्रमा सहज लगानीको अवस्था सिर्जना हुँदैन यस्तै स्थिति रहिरहन्छ र यस्तो अवस्थालाई नराम्रो भन्न पनि मिल्दैन। 

राजनीति र अर्थत्रन्त्रको सेयर बजारसँग कस्तो सम्बन्ध हुन्छ ?

– राजनीति र सेयर बजारबीचजहिले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध गाँसिएको हुन्छ। खासगरी सेयर बजारमा सरकारले जारी गर्ने नीतिनियमले प्रत्यक्ष प्रभाव पारेको हुन्छ। केही वर्षपहिले अर्थमन्त्रीले सेयर बजार अनुत्पादक क्षेत्र हो भन्दा तत्कालै नेपालको सेयर बजारमा हलचल आएको थियो र कम्पनीका सेयरमूल्यमा पनि गिरावट आएको थियो। यद्यपि त्यसको असर लामो समय रहेन। 

वास्तवमा सेयर बजार अनुत्पादक क्षेत्र हो भन्न सकिन्छ तर उत्पादक क्षेत्रमा लगानीको अवसर खोई त भन्ने कुरा महत्वपूर्ण छ। जबसम्म सरकारले उत्पादक क्षेत्रमा लगानीको अवसर र वातावरण तयार पार्दैन तबसम्म सेयर बजार दौडिनै रहन्छ। बाकस वा खल्तीमा पैसा राखेर कोही पनि बस्न चाहँदैन। यो कुरा सरकारले बुझ्न जरुरी छ। 

नियामक निकायले सेयर बजारमा गर्नैपर्ने काम के–के छन् ? अहिलेको उनीहरुको भूमिकाबाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?

– नियामक निकायहरुको भूमिकामा सेयर ब्रोकरहरु सन्तुष्ट नै होलान् तर आमलगानीकर्ता त्यति सन्तुष्ट देखिँदैनन्। आमलगानीकर्ता सेयर ब्रोकरहरुको संख्या कम भयो भनिरहेका छन्। अर्कोतिर ब्रोकहरुले दिने सेवासुविधाको तुलनामा उनीहरुले लिने कमिसन बढी भयो भनिरहेका छन्। आमलगानीकर्ताको माग बैंकहरुलाई पनि ब्रोकरहरुलाई जस्तै सेयर कारोबारमा संलग्न गराउन पर्छ भन्नेछ। बैंकलाई ब्रोकर लाइसेन्सन नदिनुमा नियामक निकाय र सेयर ब्रोकरहरुको मिलेमतो छ भन्ने पनि केही लगानीकर्ताको गुनासो छ।