– रेखा चन्द

काठमाण्डौ । अहिले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारीमा जुटेको छ। विभिन्न क्षेत्रबाट मौद्रिक नीतिका लागि सुझाव संकलन कार्य भइरहेको छ। 

विज्ञहरुले भने यो वर्षको मौद्रिक नीति लचिलो नआउने बताइरहेका छन्। बढ्दो महँगी र ब्याजदर, तरलता संकटलगायतका कारण विज्ञहरुले राष्ट्र बैंकले कसिलो खालको मौद्रिक नीति ल्याउन सक्ने सम्भावना रहेको बताउँदै आएका छन्। 

पूर्वबैंकर भुवन दाहाल मौद्रिक नीतिले देशैभरि उत्पादन बढाउने नीतिलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। ‘जसले गर्दा आयातलाई कम गर्न सकिन्छ’, उनी भन्छन्, ‘सम्भव भएको बेला निर्यातलाई बढाउन सकिन्छ।’

‘मानिसको धेरै खालको अपेक्षा छ तर यर्थाथ फरक छ’, दाहाल भन्छन्, ‘हाम्रोजस्तो देशमा गरिबले सुन लगाए पित्तल हुन्छ तर धनीले पित्तल लाए पनि सुन हुन्छ।’

देशमा विदेशी मुद्राको सञ्चिती घट्यो भने अर्थतन्त्रमा धेरै किसिमको अट्याक हुन सक्ने दाहालको भनाइ छ। ‘मुद्राको सञ्चिति ६ महिनाका लागि राख्ने हिसाबले जानुपर्छ। हामीलाई आवश्यक नपर्ने वस्तु आयात नगर्ने’, उनले भने, ‘अहिले हामी श्रीलंकाको अवस्थामा छैनौँ। तर, अहिलेको परिस्थिति नसुध्रिए २–३ वर्षमा हाम्रो हालत पनि श्रीलंकाको जस्तो हुन सक्छौँ। त्यसैले अहिले नै सचेत हुनुपर्ने अवस्था छ। हामीले मौद्रिक नीति धेरै सहुलियतको आशा नगरौँ।’ 

पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री विदेशी मुद्राको सञ्चिती घट्दो क्रममा रहेकोले यसलाई नियन्त्रण गर्ने खालको मौद्रिक नीति आउनुपर्ने बताउँछन्। ‘आयातलाई प्रतिस्थापन गर्ने खालको नीति ल्याउनुुपर्छ’, उनले भने, ‘मेरो विचारमा राष्ट्र बैंकले उत्पादनलाई प्रोत्साहित हुने मौद्रिक नीति ल्याउनुपर्छ जस्तो लाग्छ। यिनै विषयमा राष्ट्र बैंकले फोकस गरिरहेको जस्तो मलाई लाग्छ।’