काठमाण्डौ । पश्चिमा राष्ट्रहरुमा जस्तै सम्बन्ध बिच्छेदका घटना अत्याधिक बढेपछि चीन सरकारले ‘कुलिङ पिरियड’ को व्यवस्था गरेको छ। 

ययो कुलिङ पिरियडको व्यवस्थापछि चीनमा सम्बन्ध बिच्छेदका मुद्दामा यो वर्ष ७२ प्रतिशतले कमी आएको छ। चीनको नागरिक मामिला मन्त्रालयको तथ्यांकअनुसार २ लाख ९६ हजार सम्बन्ध बिच्छेदका मुद्दा यो वर्षको पहिलो त्रैमासमा दर्ता भएका छन्। अघिल्लो वर्षको अन्तिम त्रैमासमा १.०६ मिलयिनले दर्ता गरेका थिए। 

गत जनवरी १ मा आएको यो नयाँ नियमअनुसार सम्बन्ध बिच्छेदको आवेदन दिएको ३० दिनसम्म अनिवार्य रुपले दम्पतीले कुर्नुपर्ने सरकारले निर्देशन दिएको छ। यो समयमा दम्पतीहरुले कि त निवेदन फिर्ता लिनुपर्नेछ कि भने पुनः सम्बन्ध बिच्छेदका लागि निवेदन दिनुपर्नेछ। यो समायावधिबीचमा धेरै दम्पतीले सम्बन्ध विच्छेदको निवेदन फिर्ता गरेको नागरिक मामिला मन्त्रालयले जनाएको छ। 

यो नियमको नागरिक अधिकारकर्मीहरुले भने सरकारको आलोचना गरेका छन्। अधिकारकर्मीहरुका अनुसार निजी स्वतन्त्रता र बलपूर्वक गरिएका विवाहमा यो अनुचित हो। 

सरकारले भने जनसंख्या र सामाजिक प्रतिष्ठामा असर परेको भन्दै कुलिङ पिरियडको व्यवस्था गरेको हो। यस्तो व्यवस्था युरोपेली मुलुक फ्रान्स र बेलायतमा पनि रहेको छ। जहाँ २ देखि ६ हप्ताको कुलिङ पिरियडको नियम लगाइएको छ। 

सन् २०१८ मा चीन सरकारले ६६ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्दा पहिलो सुनुवाइमै रद्द गरेको थियो। – एजेन्सी