काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले केही सहकारीमा आएको अनुशासनहीनताले आमसहकारीलाई शंकाको दृष्टिकोणले हेरिएको बताएका छन्। 

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र संघीय सहकारी विभागले संयुक्त आयोजनामा बुधबार भएको कार्यक्रममा सचिव रेग्मीले थोरै सहकारी संस्थाले गरेको बदमासीका कारण सदस्यले सबै सहकारीमाथि अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको बताएका हुन्। ‘गलत काम गर्ने सहकारीलाई संघ र महासंघले संरक्षण दिनेभन्दा पनि कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुपर्छ’, उनले भने, ‘गलत काम गर्नेलाई कारबाही गर्दा संघ र महासंघले साथ दिने आग्रह गर्दछु। मन्त्रालय नियमन र सहजकर्ताको भूमिकामा रहन तयार छ।’

आन्तरिक सुशासनका कारण सहकारीमा समस्या आएको भन्दै रेग्मीले त्यसलाई हटाउन अभियान्ता स्वंयं तयार हुनुपर्नेमा जोड दिए। ‘बाहिरबाट समस्या समाधान गर्न खोजियो भने निष्र्कषमा पुगिँदैन’, उनले भने, ‘समस्या समाधानका लागि भित्रैबाट पहल सुरु गरौँ।’ 

सचिव रेग्मीले भने, ‘सहकारीमा समस्या आयो भनेर डराउनुपर्दैन। सहकारीको समस्या समाधान हुन्छ। सबै सहकारी समस्यामा छैनन्।’

धेरैजस्तो सहरमा रहेका बचत तथा ऋण सहकारी क्षेत्रमा समस्या भएको रेग्मीले जनाए। 

कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले बचतकर्ताको रकम फिर्ता गर्दैन भन्ने सहकारी सञ्चालकलाई सहकारी ऐनको १२५ दफा बमोजिम कारबाही गर्ने बताए। उनले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्तबाहिर गएर काम गर्दा समस्या आएको बताए। 

घिमिरेले अहिले सहकारीमा आएको समस्या कोभिडका कारणले मात्र नभएर सहकारी सञ्चालकले बचतकर्ताको पैसा आफूखुसी लगानी गरेको हुँदा आएको उल्लेख गरे। ‘कोभिडका कारण छिटो समस्या आएको हो’, उनले भने, ‘सहकारीले नियमभन्दा बाहिर रहेर काम गरेका हुँदा एक पटक समस्या आउने अवस्था रहेको थियो। सहकारीका ठूलो वित्तीय कारोबार हुने भएकाले विभागबाट अनुगमन गरी समस्या समाधान गर्न सक्दैन।’