काठमाण्डौ । यतिबेला भारतमा कोरोना संक्रमण भुसमा आगो फैलिएझैँ सल्केको छ। 

पछिल्लो २४ घन्टामा भारतमा २ लाख बढी संक्रमित भएका छन् भने १ हजार ३८ जनाको ज्यान गएको छ। कोरोना रोकथामकै लागि विभिन्न राज्यमा सप्ताहन्त लकडाउन, रात्रिकालीन कर्फ्युलगायत विभिन्न प्रतिबन्ध लगाइएको छ। 

यसबीच भारतको सेन्ट्रल बैंक अफ इन्डियाले कोरोना खोप अभियानलाई तीव्रता दिन नयाँ योजना ल्याएको छ। जसअनुसार सरकारले कोरोना खोप लगाउनेलाई बैंकमा पैसा राख्दा बढी ब्याज दिइनेछ। 

सेन्ट्रल बैंक अफ इन्डियाले ल्याएको योजनामा भ्याक्सिन लगाइसकेका मानिसहरुलाई मुद्दति निक्षेप (फिक्स्ड डिपोजिट) मा बढी ब्याज दिइने भएको हो। यो योजनाको नाम ‘इम्युन इन्डिया डिपोजिट’ दिइएको छ। 

यस योजनाअन्तर्गत कोरोना खोप लगाएका आम सर्वसाधारणलाई मुद्दति निक्षेपमा हालको दरमा ०.२५ बढी ब्याज दिइनेछ भने कोरोना खोप लगाएका ज्येष्ठ नागरिकलाई ०.५० प्रतिशत बढी ब्याज दिइनेछ । 

सेन्ट्रल बैंक अफ इन्डियाले मानिसलाई कोरोना खोपप्रति जागरुक गराउन यो योजना ल्याइएको जनाएको छ।

यो योजना १ हजार १११ दिनमा परिपक्व हुनेछ। – एजेन्सी