- अर्जुन तिमिल्सिना
काठमाण्डौ । दसैँ मनाउने सबैको आ–आफ्नै शैली र तरिका हुन्छ। बालपनको मानिसको स्वभाव र इच्छा ठूलो भएपछि पनि रहन सक्छ। खासगरी देशकोे भूभाग र मानिसको उमेरअनुसार पनि दसैँ मनाउन तरिका फरक–फरक पाइन्छ। राजधानी काठमाण्डौमा दसैँ मनाउने तरिका अलिक फरक नै रहेको छ। 

ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणि ढकालको दसैँ हरेक वर्ष अलिक फरक हुने गर्छ। आध्यात्मिक र अध्ययनशील ढकाल दसैँमा पूजापाठ गर्न बढी रुचि राख्छन्। नवदुर्गासँगै देवीका मन्दिरहरुमा पनि जान रुचाउने ढकाल काठमाण्डौका स्थायी बासिन्दा हुन्। 

यीबाहेक ढकाल अझै पनि चंगा उडाउन रुचाउँछन्। बालपनमा ६ वर्षको उमेरदेखि चंगा उडाउन थालेका ढकाल अझै पनि घरको छतबाट चंगा उडाउँछन्। उनी चंगा उडाउने तथा चंगा भिडाउन पनि निकै रमाइलो मान्छन्। 

यसपालिको दसैँमा पनि ढकालको काठमाण्डौ बाहिर जाने योजना छैन। ‘घरमै बसेर मनाउने हो’, उनले भने, ‘चंगा उडाउने हो, रमाइलो गर्ने हो।’ 

कोभिडका कारण पोहोर दसैँमा केही असहज भए पनि यसपालि धेरैले कोभिडको खोप लगाएकोले पनि सहज हुने ढकालको विचार छ। सबै लगानीकर्ता, इष्टमित्र, साथीभाइ तथा नियामक निकायलाई दसैँको शुभकामना दिँदै ढकालले सेयर बजार बढ्न अझै बाँकी रहेको बताए। ‘कालो बादल हट्दै गएकोले बजारमा सुनौलो दिन आउने आशा छ’, उनले भने, ‘बजार विश्वासले चल्ने हो, सबैले बजारमा विश्वासको वातावरण बनाउन आवश्यक छ।’