– अर्जुन तिमिल्सिना

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालले अहिले युवाले सजिलो काम खोज्दा देश र जनता दुवै गरिब भएको बताएका छन्। 

मुक्तिनाथ विकास बैंकको स्थापनाको स्मरण गर्दै अध्यक्ष ढकालले उद्यमशिलता गर्न निकै चुनौतीपूर्ण रहेको बताएका छन्। माउ कम्पनी रोयल सहकारी संस्थाबाट मुक्तिनाथ बैंकले सहायक कम्पनीका रुपमा हाल मुक्तिनाथ कृषि कम्पनी चलाइरहेको छ। छिटै अन्य सहायक कम्पनीहरु पनि सञ्चालन गर्न लागिएको ढकालले जानकारी दिए। 

ढकालले मुक्तिनाथ बैंकजस्तै मुक्तिनाथ कृषि कम्पनीले ५ वर्षको बच्चाले पनि जान्ने–बुझ्ने गरी काम गरिरहेको बताए। ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउने मूल उद्देश्य कृषि कम्पनीको छ’, बिजशालासँगको कुराकानीमा ढकालले भने। 

हाल कृषि कम्पनीले एउटा बेरोजगार युवालाई उद्यमशिल गर्न शिक्षा दिँदै कृषि कर्म गर्नका लागि जैविक, प्राँगारिक मल, विषादी, बीउ तथा बिरुवादेखि कृषि औजार तथा उपकरण वितरण गर्दै आएको छ। टनेल, पोस्ट हार्भेस्टका प्रशोधित सामग्री, सम्पूर्ण कृषि प्राविधिक सेवा, वित्तीय उपलब्धतामा सहयोग र कृषिउपजको बजार व्यवस्थापनको कार्यसमेत कृषि कम्पनीले गर्दै आएको छ।  

युवाको माइन्ड र मसललाई जोडेर काम गर्न युवापुस्ता नै आवश्यक हुने ढकाल बताउँछन्। नेपालको कृषि उत्पादकत्व बढाउन खोज तथा अनुसन्धानमा कृषि कम्पनी सक्रिय रहेको ढकालले जानकारी दिए। 

अहिले मुक्तिनाथ कृषि कम्पनीमा ६० जना कर्मचारी कार्यरत छन्। तीमध्ये ५० जना त कृषि नै पढेका छन्। 

यो कम्पनीले खासगरी वैदेशिक रोजगारीमा जान लागेका युवालाई रोक्ने र फर्केर आएका युवालाई सीप तालिमसँगै साधन र स्रोत उपलब्धता गराउने ढकालले जानकारी दिए। ढकालले वैदेशिक रोजगारीमा गएर ५० हजार तलब खानभन्दा सबै परिवारले नेपालमै बसेर २५ हजार तलब खानु राम्रो हुने बताए। जागिरको पछि लाग्नुभन्दा पनि युवालाई उद्यमको पछि लाग्न उनले सल्लाह दिए। 

उद्यम–व्यवसाय गर्न पुँजी र स्रोत सबै व्यवस्थापन गर्न कठिन भएको ढकालको अनुभव र बुझाइ छ।