सुनिल केसी–प्रमुख कार्यकारी अधिकृत(एनएमबी बैंक लिमीटेड)

पहिलो त्रैमासको बित्तीय विवरणमार्फत आफूलाई सिंगो उद्योग संकटउन्मुख हुँदा समेत थप भरोसायोग्य बनाएको एनएमबी बैंकले हालै बैंक अफ दि इयरको प्रतिष्ठित उपाधि पाएको छ । तपाईहरुले नै यो उपाधि पाउनुपर्ने कारण ?
-बैंक अफ दि इयर २०१७ को उपाधि पाउनु पछाडिको मुख्य कारण–हामीले फरक ढंगले बैकिङलाई अगाडि बढाइरहनुु नै हो भन्ने लाग्छ । वाणिज्य बैंक भएको हिसाबले निश्चित रुपमा प्रोफिटमा फोकस बन्नैपर्छ । यसबाहेक हामीले अन्य २ वटा सब्सीडरी कम्पनीको रुपमा एनएमबी क्यापिटल र एनएमबी माइक्रोफाइनान्सलाई पनि अगाडि बढाइरहेका छौ । अरुको भन्दा हाम्रो हिडाई नै फरक छ । आजको मितिको कुरा गर्ने हो भने हाम्रा बैंकका ९३ वटा शाखाहरु छन् । माइक्रोफाइनान्सको मात्र ६५ वटा शाखा छन् । यी दुवै गरेर हामीसँग पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाड र हिमालसम्म १ सय ६० शाखाहरुको विशाल सञ्जाल छ । नेपालको फाइनान्सियल मार्केटमा दुुर्गम क्षेत्रका जनतासँग पुुगेर नेपालको आर्थिक विकासलाई विशेष किसिमले हामीले सपोर्ट गरिरहेका छौ । आर्थिक विकास र आर्थिक समावेशीताका लागि जुन काम गरिरहेका छौ, त्यो अरुले भन्दा केही प्रभावकारी ढंगले हामीले गरिरहेका छौ । अर्को कुरा, हामीले देशको आर्थिक मात्र नभई सामाजिक क्षेत्रमा प्रभाव पर्ने काम पनि गरिरहेकै छौ । साना–साना माइक्रो प्रोजेक्टहरुमा समेत हामीले काम गरिरहेका छौ, बायोग्यास प्रोजेक्टहरुमा काम गरिरहेका छौ । हामी अरुभन्दा आक्रामक रुपमा हाइड्रोपावर क्षेत्रमा लागिरहेका छौ । आजको मितिमा हामी ३० भन्दा बढी प्रोजेक्टमा लिड बैंकको रुपमा काम गरिरहेका छौ । हामी पूर्वाधार र पर्यटनसँग सम्बन्धित प्रोजेक्टहरुमा समेत काम गरिरहेका छौ । हामी एसएमईमा सक्रिय रुपमा काम गरिरहेका छौ । माइक्रो एसएमईमा पनि हाम्रो सक्रियता उस्तै छ । 

यी सबै कुराहरुले गर्दा यो वर्ष कमसेकम यो बैंक समग्र रुपमा समाजमा प्रभाव छाड्ने मामलामा राम्रोसँग स्थापित भएको बैंक रहेको भन्ने उहाँहरु(पुरस्कृत गर्ने)को बुुझाई रह्यो । सायद यिनै कारणले हामी यसपटक नेपालको उत्कृष्ट बैंकको रुपमा अगाडि आउन सफल भयौं । 

यो सँगसँगै हामीले गत वर्षदेखि नै ‘ग्लोबल एलायन्स फर बैकिङ अन भ्यालूज’ भन्ने अभियानलाई पनि गम्भीर ढंगले अगाडि बढाइरहेका छौ । त्यसको कारण पनि सायद उहाँहरुले हामीलाई छनौट गर्नुभयो । 

बैंकको कमाण्ड तपाईले सम्हालेपछि महत्वपूर्ण उपलब्धि हासिल गर्नुभयो । आगामी दिनमा यो साखलाई जोगाइराख्ने चुनौतिहरु कसरी स्वीकार गर्नुहुन्छ ?
निश्चित रुपमा कुनै पनि अवार्ड पाएपछि सरोकारवालाहरुको चासो र आशा सधैभन्दा बढी हुनजान्छ । त्यो बढिरहँदा हामीले पनि आफूलाई अझ बढी संवेदनशील, लगनशील बनाउन आवश्यक हुन्छ । अझै जिम्मेवार भएर काम गर्नुपर्ने कुरामा दुुईमत रहेन । हामी त्यो चुनौतिलाई किन पनि स्वीकार गर्न सक्छौ भने हामीसँग राम्रो र उत्कृष्ट जनशक्ति छ । हाम्रा कर्मचारीहरुले अवार्ड पाएको यो बिषयलाई धेरै नै सकारात्मक रुपमा लिनुुभएको छ । यसले बेग्लै किसिमको उर्जा पाइरहेको महसुस गरिरहेका छौ, यसलाई एउटा गर्व र महत्वपूर्ण उपलब्धिको रुपमा लिइरहनुुभएको हुनाले आगामी दिनहरुमा यसको प्रभाव हामीले हाम्रा ग्राहकहरुको सेवामा सिर्जना गर्नुपर्यो । बैकिङ पहुँच वृद्धिका लागि यसैगरी लागिरह्यौ भने यसको साख जोगाउन कठीन हुन्न । आगामी दिनमा योभन्दा पनि अझ राम्रा उपलब्धिहरु हासिल गर्दै हामी अगाडि बढ्न सक्छौ।

पछिल्लो छोटो अवधिमा एनएमबी बैंकको पक्षमा २ वटा उपलब्धि भएको देखियो । बैंक अफ दि इयरको उपाधि हासिल गर्नुभन्दा अगाडि क्रेडिट क्रञ्च लगायतका समस्याले अधिकांश बैंक तथा बित्तीय संस्थाहरुको प्रोफिटमा हिट गरिरहँदा तपाईहरुले भने पहिलो त्रैमासमा कमालको बित्तीय विवरण निकाल्नुुभयो । पहिलो त्रैमाससम्मको यो प्रगति चाहि कसरी संभव भयो ?
-बटमलाइन नेट प्रोफिटलाई हेर्ने हो भने हामी फ्रस्ट क्वार्टरमा नेपालका राम्रो नाफा कमाउने बैंकहरुमा ५ नम्बरभित्र पर्न सफल भयौं । लिक्वीडिटीको इस्यूू वा क्रेडिट क्रञ्च भएको बेला समेत हामी धेरै संवेदनशील भएर अगाडि बढ्यौ । रणनीतिक रुपमा ग्रोथलाई कम गरेर भए पनि खर्चलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने अभियानमा गइरहेका थियौ । योसँगै हामीले ग्यारेण्टी विजिनेशहरुमा समेत विशेष ध्यान दियौं । अहिले थुप्रै नयाँ प्रोजेक्टहरु सुरु भइरहेको छ नेपालमा, त्यस्ता प्रोजेक्टहरुमा समेत हामीले ध्यान दियौं । र, हामी विशेष गरी चाइनिज बिजिनेशमा अरुभन्दा अगाडि छौ, त्यसले गर्दा पनि सायद हामी अगाडि बढ्न सक्यौं । त्यतिबेला समेत लिक्वीडिटी र फण्ड म्यानेजमेन्ट प्रभावकारी ढंगले गर्न सकेका कारण ओभरअल इण्डष्ट्रीभन्दा अलिक राम्रो भएर गएको हो कि !

फ्रस्ट क्वार्टरको धेरै बित्तीय संस्थाको रिपोर्ट हेर्दा लगानीकर्ता अत्तालिएको अवस्था पनि छ । बैंकर एक राम्रो विश्लेषक पनि हो । समग्र उद्योगको कुरा गर्ने हो भने अवस्था के हो ? कतिपयले अवस्था चिन्ताजनक हो पनि भन्छन् नि ? डराउनुपर्ने अवस्थाबाटै नेपालको बैकिङ क्षेत्र गुज्रिरहेको हो र ?
-त्यस्तो धेरै अत्तालिनुपर्ने अवस्था होइन । कस्ट बढिरहँदा र बजारमा लिक्वीडिटीको समस्या हुँदाखेरि एसेट लायबिलीटी म्यानेजमेन्ट राम्रोसँग गर्न सकियो भने त्यति धेरै प्रभाव नपर्ला । तर, कतिपय अवस्थामा त्यो व्यवस्थापन केही कमजोर हुँदा वा असर पर्दा आफ्नो कस्ट बढ्दै जाने र त्यो कस्ट कस्टमरलाई पास गर्न नसक्दा स्प्रेड घट्नुु स्वभाविक हो । यो नियमित प्रक्रिया पनि हो । कुनै पनि साइकलमा एउटा समयमा ब्याजदर बढ्दै गएपछि लोनको डिमाण्ड अटोमेटिक कम हुँदै जान्छ र लिक्वीडिटी बढ्दै जान्छ र लोनको ब्याज सस्तो हुँदै गएपछि अटोमेटिकल्ली लोनको डिमाण्ड बढ्न थाल्छ । यो साइकल चलिरहन्छ । कुनै बेला रेट घट्दै जान्छ, त्यसले डिमाण्ड क्रिएट गर्दै जान्छ । डिमाण्ड क्रिएट भएपछि फण्डको सप्लाईको अवस्था केही कम हुन जान्छ । कुनै पनि इकोनोमीमा यस्तो खालको साइकल चल्नुु स्वभाविक हो । यो साइकलमा आयो भन्दैमा बैकिङ सेक्टर नै धराशायी हुन लाग्यो भन्ने कुरा होइन । समग्र बैंक अहिले पनि ठीकै अवस्थामा छन् र महत्वपूर्ण इण्डिकेटर हेर्ने हो त्यस्तो धेरै चिन्ताजनक अवस्था पनि होइन । तर, अलिकति संयमित भएर ग्रोथलाई म्यानेज गर्दै जानुपर्ने, सस्टेनेवल ग्रोथतिर लाग्नुपर्ने आवश्यकता चाहि हो । धेरै आक्रामक हुँदा गाह्रो हुन्छ । हाम्रो बजार सानो छ, कहिलेकाही अप्ठ्यारो स्थिति आउन पनि सक्छ र यसले गर्दा चाहिने भन्दा बढी रेटहरु माथि जाने संभावना पनि हुन्छ । तर, त्यस्तो आत्तिहाल्नुपर्ने अवस्था छ भन्ने मलाई चाहि लाग्दैन । 

बैंकहरुबीच नाफा कमाउने अस्वस्थ दौड बढी भयो । नाफा फोकस हुँदा जोखिमतर्फ पनि ध्यान दिन छाडे भन्ने आरोप पनि लाग्छ । वाणिज्य बैंकहरुले विकास बैंकका लोन खिचिदिने, सहकारीकै लोन र बचत समेत वाणिज्य बैंकहरुले तान्न थाले । तँछाडमछाड बढी भयो पनि भन्छन् कतिपयले । त्यस्तो भइरहेको हो ?
-तपाईले नेपालको १० वर्षको डेटा हेर्नुभयो भने लोनको ग्रोथ रेट खासै ठूलो छैन । ओभरअल इकोनोमीको ग्रोथमा प्रभाव पर्ने हुँदा त्यो ग्रोथलाई कतिपय अवस्थामा बढी रुपमा हेरियो होला । तर, यी सबै कुराहरु डिमाण्ड कस्तो हुन्छ, ग्राहकले बैंकमै किन आउने भन्ने कुराले समेत निर्धारण गर्छ । बैंकको पनि सेवा  बढ्दै गइरहेको छ, पहुँच राम्रो बढ्दै गइरहेको छ । शाखाहरु खुलिरहेका छन् । पहिला हामी शहरी क्षेत्र केन्द्रीत थियौं भने अहिले दुुर्गममा पनि शाखाहरु बिस्तार गरिरहेका छौ । यस्तो भइसकेपछि स्वभाविक रुपमा अरु मार्केटका संस्थाहरुको रेट हाइ हुन्छ, पहिला बाध्य भएर उच्च रेटमा पनि सहकारीमै काम गर्नुपर्ने बाध्यता थियो होला । यस्तो बेलामा बैंकको पहुँच ती क्षेत्रमा पुुगेपछि स्वभाविक रुपमा मानिस सुविधा र सहज अवस्था खोज्दै बैंकतिरै आउँछ । त्यसकारण यसलाई बैंक आक्रामक भएको भन्दा पनि सेवालाई बिस्तार गरेको भन्ने हिसाबले हेर्नुपर्छ होला । बजार खुल्ला छ, बजारले नै धेरै कुरा ड्राइभ गर्छ । जसले राम्रो सेवा र प्रोडक्ट दिन्छ, ग्राहक त्यहाँ जाने हो । पहिला बैंकले जे प्रोडक्ट ल्याउथ्यो, त्यो कस्टमरलाई दिन्थ्यो । अहिले चाहि कस्टमरलाई के चाहिएको छ, त्यो बैंकले दिनसक्छ, अनि कस्टमर आउने हो । कस्टमर पनि धेरै डिमाण्डेड भएका छन् । धेरै कुरा बुझिसकेका छन् । 

अर्को कुरा, हामीले शाखा बिस्तार गरिरहेका छौ, यसले हामी ग्राहकको नजिक पुगिरहेका छौ। यसलाई अस्वस्थ होडबाजी भएको रुपमा बुुझ्नुुहुुन्न ।

शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । स्थिर सरकार बन्ने आशा छ । राजनीतिको संक्रमणकाल अन्त भइसक्यो । आर्थिक समृद्धिको युुग सुरु गर्छौ भनेर जित्ने दलहरुले भनिरहँदा एउटा बैंकरको हिसाबले भविष्यप्रति कत्तिको आशावादी हुनुहुन्छ ? अबको बैकिङ कस्तो बन्ला ?
अहिलेको स्थितिमा जुन खालको राजनीतिक घटनाक्रममा विकास भयो र आउँदा दिनमा हेर्दा आशावादी हुनुपर्ने धेरै ठाउँ छन् । जुन खालको म्याण्डेड अहिले आयो, यसो हेर्दा आर्थिक समृद्धि र स्थायीत्वका लागि आएको जस्तो देखिन्छ । श्रीलंकाकै उदाहरण हेरौं न, आन्तरिक द्वन्द्व र सिभिल वार भोगेको त्यो देशले अहिले निकै राम्रो ग्रोथ गर्न थालेको छ । हामीले गर्न नसक्ने भन्ने होइन । यस्तै उदाहरणहरु हेर्ने र राजनीति स्थिर हुने हो भने धेरै आशा गर्ने ठाउँहरु छन् । 

पहिलोपटक हामी नेपालमा संघीय संरचनामा काम गरिरहेका छौ । विकेन्द्रीकरणको कुरा उठिरहेको छ । विगत ४–५ वर्षको अवस्था हेर्दा सरकारको तर्फबाट हुने विकास खर्चहरु गर्न नसकिरहेको अवस्था देखिन्थ्यो, यसले गर्दा बैकिङलाई चाहिने आर्थिक गतिविधि हुन सकेको थिएन । अब विकेन्द्रीकरणको युुग समेत सुरु होला । विकासको खर्चहरुलाई अगाडि बढाउने कुरामा राम्रो संरचना बनेको छ । भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम हुने आशा गरिरहेका छौै, यो हुने बित्तिकै आर्थिक गतिविधि र विकास अगाडि बढ्छ । हामीले हेर्दा अबको ५–१० वर्ष ६–७ प्रतिशतको हाराहारीमा आर्थिक विकास हुन्छ भन्ने लाग्छ । यस्तो हुनसक्यो भने बैकिङ क्षेत्रका लागि निकै नै ठूलो अवसर सिर्जना हुनेछ। सँगसँगै अझै पनि धेरै स्पष्टता बाँकी छ, त्यसकारण चुनौतिहरु पनि छन् । कसरी विजिनेशलाई अगाडि बढाउने, करको इस्यूूहरु के–के हुने जस्ता कुरामा स्पष्टता आउन बाँकी नै छ । संरचना बन्न बाँकी नै छ । समग्रतामा मलाई सोध्नुुहुन्छ भने चनाखोपूर्वक हामी आशावादी छौ । चुनौतिहरु आफ्नो ठाउँमा छन् । सबै कुरा मिलेर जाने हो भने हाम्रै छिमेकीले झै आर्थिक वृद्धि हासिल गर्दै अगाडि बढ्ने हो भने त्यसले बैकिङ क्षेत्रका लागि धेरै ठूलो अवसर हुनेछ । समृद्धिसँगै पूर्वाधार विकास र इनर्जी सेक्टरमा पनि लगानी बढ्नेछ । यसले धेरै कुरालाई सहज बनाउँछ । नयाँ खालको उद्योग आउनलाई पनि सहयोग गर्छ । प्रतिस्पर्धी वातावरण समेत सिर्जना गर्छ । 

प्रदेशहरु गठन भइसकेपछि तिनीहरुबीच पनि आफ्नै किसिमको प्रतिस्पर्धा होला । यसले गर्दा पनि नयाँ–नयाँ खालको अवसरहरु सिर्जना हुनेछन् । नयाँ किसिमले उहाँहरु अगाडि बढिदिनुुभयो भने हामीलाई काम गर्न सहज हुन्छ । भविष्यको अवसरहरुलाई हेरेर अहिले हामीले कतिपय शाखाहरु बिजिनेश नभए पनि खोलिरहेका छौ । बाटाघाटा बन्दै जाने हो र संचार तथा विद्युतीकरण हुँदै जाने हो भने निश्चित रुपमा धेरै अवसरहरुको ढोका खुल्नेछन् । 

देश संघीय संरचनालाई कार्यान्वयन गर्दै अगाडि बढिसक्यो । संघीय संरचना अनुसार तपाईको बैंकको सेवा तथा विजिनेशको मोडललाई रुपान्तरण गर्ने कुनै योजना छ ? प्रदेशहरुलाई फोकस गरेर हेडक्वार्टर स्थापना गर्नेदेखि लिएर यस्तै नवीनतम कुनै योजना छन् ? संघीय संरचना अनुसार आफूलाई कसरी ढालिरहनुुभएको छ ? 
-हामी पनि यसलाई हेरिरहेका छौ । विशेष रुपमा बुुझेर हामी अगाडि बढ्छौ । भोलि अझै पनि स्रोतहरुको बाँडफाँड, उहाँ(सरकारहरु)हरुले गर्नुपर्ने खर्चको स्रोत कसरी आउने भन्ने कुरा अझै पनि स्पष्ट हुन बाँकी नै छ । हामी अहिलेको अवस्थामा पनि सातैवटा राज्यमा हाम्रो प्रतिनिधित्व छ । आउने दिनमा बन्ने राज्य सरकारहरु कस्तो खालको बन्छन्, उनीहरुको प्राथमिकता के–के हुन्छन्, आर्थिक गतिविधिमा कस्तो खालको योगदान हुन्छ, ती सबै कुरा हेरेर हामी एउटा विजिनेश मोडल बनाएर अगाडि बढ्छौ । हामी सेन्ट्रलाइज मोडलमा काम गरिरहेका छौ । तपाईले अन्तराष्ट्रिय क्षेत्रमा हेर्नुभयो भने पनि मल्टिनेशनल बैंकहरु सेन्ट्रलाइज गरेर अगाडि बढेर धेरै प्रगति भएको छ । हामीले यसका लागि आन्तरिक गृहकार्य थालिसकेका छौ । 

डिजिटाइजेसनको लहर चलेको छ । यो क्षेत्रमा चाहि तपाईको बैंक कसरी अगाडि बढ्छ ?

-ग्लोबल सेक्टरको बैकिङ उद्योगलाई हेर्यौ भने विगत ५–७  वर्षमा डिजिटाइजेसनमा निकै ठूला प्रगतिहरु भएका छन् । छिमेकी भारतकै बैकिङ क्षेत्रलाई हेर्दा पनि क्रमैसँग बैंकहरु डिजीटाइजेसनको माध्यमबाट आफ्नो प्रभाव र उपस्थिति बढाउन सक्रिय देखिन्छन् । नेपालजस्तो मुलुकमा त्यो आवश्यक पनि छ । मोवाइल फोनको उपलब्धता राम्रो भएको देशको रुपमा नेपाल स्थापित छ । यहीकारण डिजिटाइजेसनका लागि समेत हामी राम्रो ढंगले अगाडि बढिरहेका छौ । भोलि गएर कस्टमरलाई चाहिएको कुरा दिने र सहज तथा सरल रुपमा उपलब्ध गराउने काम गर्छौ । कनेक्टिभिटीको इस्यूू भएको ठाउँमा समेत फिजिकल रुपमै सेवा पुर्याउनुुपर्नेछ । हामी आगामी दिनमा परम्परावादी बैकिङ र आधुनिक बैकिङलाई नै मिक्सअप गर्दै कस्टमरको आवश्यकता अनुसार अगाडि बढ्ने छौ । 

डिजिटल कारोबारसँग सम्बन्धित कुनै नयाँ प्रोडक्टहरु छन्/आउँदैछन् ?
-मोवाइल बैकिङ, इन्टरनेट बैकिङ, एसएमएस बैकिङ जस्ता काम त सबैले नै गरेका छन् । तर, अरु खालका प्रोडक्टमा हामी सोचिरहेका छौ । अहिले यसलाई भनिहाल्दा चाँडो होला, हामी केही न केही नयाँ काम गरिरहेकै छौ । 

यो आर्थिक वर्षको अन्तसम्ममा एनएमबी बैंकलाई लगानीकर्ता, सेयरधनी र ग्राहकले वाणिज्य बैंकको भीडमा कुन स्थानमा देख्न पाउलान् ?
-हामी कन्सिसटेन्ट रुपमा अगाडि गइरहेका बैंकमध्येको एक हौ । ८–९ वर्षको ग्राफलाई हेर्ने हो भने क्रमैसँग हामी अगाडि बढिरहेका छौ । हाम्रो आगामी अगाडि बढाई पनि यस्तै हुन्छ । धेरैवटा शाखाहरु भएका कारणले विजिनेश ग्रोथ राम्रोसँग भइरहेको छ । त्यसकारण यो आर्थिक वर्षको अन्तसम्म लगानीकर्ता, सेयरधनी र ग्राहकले हामीलाई नेपालको टप बैंकमध्येमै देख्न पाउनुहुनेछ । मुख्य आधार, चाहि: यहाँ भएका ४–५ वटा ज्वाइन्ट भेञ्चर बैंकहरु छन् । धेरै बैंकहरुको डिसिजन बाहिरबाट हुने गर्छ, तर हामी ज्वाइन्ट भेञ्चर भएर पनि निर्णय चाहि लोकल्ली गर्नसक्ने बैंकमध्येमा पर्छौ । हामीले थुप्रै किसिमका सहयोगका कार्यक्रमहरु, थुप्रै किसिमको प्रोजेक्टहरु, विशेष गरी एसएमईमा, रिटेल बैकिङमा पनि काम गरिरहेका छौ । हाम्रो बल भनेकै विश्वभर काम गरिरहनुुभएको ज्वाइन्ट भेञ्चर पार्टनर हो । उहाँहरुसँग मिलेर जतिसक्दो चाँडो विश्व बजारको राम्रो र नेपाल अनुकुल कुरा लिएर आउँदैछौ । यो हिसाबले हामी अरुभन्दा फरक ढंगले अगाडि बढ्न सक्छौ । हामी क्रमैसँग अगाडि आइरहेका छौ । हाम्रो ब्राण्डप्रतिको विश्वास बिस्तारै बढिरहेको छ । यिनीहरुले फरक किसिमले काम गरिरहेका छन् भन्ने ग्राहकहरुले बुुझ्न थालेका छन् । हामी ग्राहकसँग नजिक भएर काम गरिरहेका छौ । सेयरहोल्डरहरुले पनि आउने वर्षमा यो बैंकलाई अझ परिस्कृत, अझै राम्रो लेभलमा पुुग्ने देखिन्छ । फ्रस्ट क्वार्टरमा हामीले जस्तो प्रगति गर्यौ, त्यही रुपमा हामी यो वर्षको नाफा गर्छौ । 

अहिले नेपालका बैंकहरुका सीइओले पूँजीवृद्धिसँगै नाफा बढाउन निकै ठूलो दवाब झेलिरहेका छन् भनिन्छ नि ?
-त्यसलाई दवाबको रुपमा हेर्नु हुँदैन । बैंकको सरोकारवालामा स्टाफ, कस्टमर, रेगुलेटर, सेयरहोल्डर र सोसाइटी हुन्छन् । यी सरोकारवालाको समेत आफ्ना कुरा हुन्छन् । उहाँहरुले इन्भेष्टमेन्ट गर्नुभएको छ ।  उहाँहरुले गरेको लगानीका लागि उचित, बजारको संभावना अनुसार उचित रिटर्न दिनुु हाम्रो पनि काम हो । त्यसकारण त्यसलाई दवाब भन्नुुभएन । नयाँ क्षेत्र खोज्नुपर्यो, केही न केही नयाँ काम गरेर उहाँहरुलाई राम्रो रिटर्न दिनुुपर्यो । तर, योसँगै सेयरहोल्डरको साइडबाट पनि रिजनेवल आशा हुनुपर्यो र हामीले पनि रिजनेबल आशालाई मिट गर्न पहिलाभन्दा फरक हिसाबले काम गर्नुपर्यो । राम्रो खालको जनशक्ति आफैंभित्र तयार हुनुपर्यो, अरुबाट केही सिक्ने हो भने पनि सिकेर आफूलाई अब्बल बनाउने कोशिश हुनुपर्छ ।

बढेको पूँजी अनुसारको विजिनेश एकैपटक नआउने, तर नाफा चाहि बढाउनैपर्ने बाध्यताले धेरैलाई सकसमा पारेको देखिन्छ । नाफा बढाउनैका लागि गलत प्राक्टिस पनि सीइओहरुले गर्न थाले भनिन्छ नि त ?
-अरु बैंकहरुको बिषयमा कुरा नगरौ । हाम्रो केसमा हामी स्पष्ट छौ । राइट टाइममा पूँजीवृद्धि भएको छ । ६–७ प्रतिशतको ग्रोथ इकोनोमीमा हुने हो भने अहिले भन्दा ग्रोथ गर्ने ठाउँ पाइहालिन्छ । आफूले पनि आफूलाई सक्षम बनाउँदै लैजानुुपर्छ । पहिला भन्दा फरक ढंगले सोच्नुुपर्ने अवस्था पनि आउला । 

अन्तमा, तपाईहरुसँग सहायक कम्पनीको रुपमा एनएमबी क्यापिटल पनि छ । कतिपयले ऋणपत्र जारी गर्ने, खुल्लामुखी म्युचुुअल फण्डको पनि सुरुवात गर्ने प्रयास थालेका छन् । तपाईहरुको पनि यस्ता कुनै प्रोडक्ट छन्/आउँदैछन् ?
-नियामकले तोकेको परिधिभित्र रहेर केही नयाँ काम गर्नुपर्छ भन्ने सोचिरहेका छौ । एनएमबी क्यापिटल नेपालको मर्चेन्ट बैकिङको पायनियर कम्पनी हो । म्युुचुुअल फण्ड ल्याउनेमा पनि हामी पहिला ३ वटा कम्पनीभित्रै पर्छौ । हामीले २ वटा स्किम राम्रोसँग चलाइरहेका छौ । अहिले प्रतिस्पर्धा बढेको छ । त्यसका लागि केही नयाँ सोंच बनाएका छौ । नियामकले स्वीकृत गरेपछि त्यस्ता योजना घोषणा गर्दै जान्छौ । गर्नसक्ने कुराहरु हामी गर्दै जान्छौ । इन्भेष्टमेन्ट बैकिङको क्षेत्र भनेको धेरै नै गर्नसकिने संभावना भएको क्षेत्र हो। यसलाई धेरै अगाडि बढाउने योजना छ ।