-गणेशराज पोखरेल
प्रमुख कार्यकारी अधिकृत(सिटिजन्स बैंक इन्टरनेशनल लि.)


सिटिजन्स बैंक छोटो समयमै सबैको नजरमा पर्न सफल भएको छ । यो कसरी सम्भव भयो ?

-हामी एकैदिनमा यहाँ पक्कै आइपुगेका होइनौं । मानिसले वर्षभरि मिहिनेत गरेर परीक्षा दिन्छ र उसको सफलता वा असफलता भनेको उसको नतिजाले नै तय गर्ने गर्दछ। त्यसैगरी हामीले पनि करिब १४ वर्षदेखि उत्कृष्ट बैंकिङ सेवासुबिधा प्रदान गर्दै आएका छौं ।  हामीले त्यस समयदेखि नै गर्दै आएको कामकारबाहीलाई केही वर्षयता रफ्तार प्रदान गरेका छौ र बजारले हाम्रो गतिलाई महसुस गरेकै कारण आज सफलताका केही खुड्किलाहरु उक्लिन सकेका हौं । 

आज हामी जहाँ छौ त्यो सबै भनेको यस बैंकको विभिन्न शाखा, विभागमा रहेर यस संस्थाको सफलताका लागि अहोरात्र खटिरहनु भएका कर्मचारीहरुकै कारण हो। संचालक समितिले दिएको सोंचलाई हुबहु व्यवहारिक रूपमा कर्मचारीहरुले कार्यान्वयन गरेकै कारण हामीलाई सबैले राम्रो मानिरहेका छन्।  हामी जुन उद्देश्यका साथ यस यात्रामा निस्केका थियौ, त्यसलाई मूर्तरुप प्रदान गर्न सबैजना लाग्नु भएको छ।  यसैको नतिजास्वरूप आज हामी अधिकांशजसो वित्तीय सूचकहरुमा अब्बल साबित भएका छौं ।  

उदाहरणका लागि गत आर्थिक वर्षकै केही सूचकहरुलाई हेर्न सकिन्छ । असार मसान्तसम्मको तथ्याङ्कको आधारमा यस बैंकले सर्वसाधारणबाट उठाएको निक्षेप करिब रु. १४३ अर्ब रुपैयाँ र  सर्वसाधारणलाई  दिएको ऋण लगानी रु.१२३ अर्ब रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा क्रमशः ५५ प्रतिशत र ५२ प्रतिशतले बढी हो।  

गत आ.ब.मा सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी भने रु. १५.३८, खुद ब्याज आम्दानी करिब रु ३ अर्ब ६० करोड, फि एण्ड कमिसन आम्दानी करिब रु ८२ करोड, गैरब्याज आम्दानी करिब रू १ अर्ब ५२ करोड, संचालन मुनाफा करिब रु २ अर्ब १५ करोड , वितरणयोग्य मुनाफा करिब  रू १ अर्ब ८० करोड, खुद नाफा करिब रू १ अर्ब ५९ करोड रहेको छ, जुन गत वर्षको तुलनामा क्रमशः करिब ११ प्रतिशत, २५ प्रतिशत, ४१ प्रतिशत, ३५ प्रतिशत, ३५ प्रतिशत, ७६ प्रतिशत र ३३ प्रतिशतले बढी हो ।  

बैंकले हाल देशभर १८४ वटा शाखा, ११७ वटा एटिएम र १११ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

हरेक वर्ष सिटिजन्स बैंकले वित्तीय प्रतिवेदन सबैभन्दा पहिला  प्रकाशित गर्दै आएको छ।  हालको विषम अवस्थामा पनि यस बैंकले सबैभन्दा पहिला अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । लेखापरिक्षकको प्रतिवेदन र नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात उक्त वित्तीय विवरण फाइनल हुनेछ । संक्षेपमा भन्नुपर्दा हाम्रो संचालक समितिले लिएको दिर्घकालिन सोंच र हाम्रा कर्मचारीहरुको मेहनत एवम् लगनशीलताले गर्दा नै आज हामी यहाँसम्म आइपुगेका छौं ।

तपाई आफैंले पनि भन्नुभयो कि अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवस्था हेर्दा बैंकका अधिकांश वित्तीय सूचकहरु उत्साहप्रद देखिएका छन् । कतिपयले अन्य संस्थाहरु समेत गाभेका कारण सिटिजन्स बैंकमा सिनर्जी देखिएको भन्ने गर्छन् । अहिले देखिएको प्रगतिको आधार यत्ति मात्र हो ?
-विभिन्न वित्तीय संस्थाहरुको प्राप्ति पश्चात मात्र हामी आजको अवस्थामा आएका त होइनौ, तर हामीमा समाहित भएका बैंक तथा वित्तीय संस्थाहरुको पनि उल्लेखनीय योगदान भने पक्कै छ । हामीसँग उपलब्ध हुने सबैजस्तो उपकरणको सही परिचालन गर्नुपर्छ भन्ने मनशायका साथ नै हामीले काम गर्दै आएका थियौ।  यति भन्दै गर्दा हामीले आफैंले मात्र एग्रेसिभ हिसाबले व्यापार वृद्धि गर्ने वा सन्तुलित रुपमा सँगसँगै विभिन्न प्रदेशमा छरिएर रहेका वित्तीय संस्थाहरुलाई प्राप्ति गर्दै एकसाथ अगाडि बढ्ने भन्ने बिषयमा संचालक समितिमा व्यापक छलफल हुँदा दुवै लाइन एकसाथ अगाडि बढाउने भन्ने निर्णय लिएकै कारण प्राप्तिबाट समेत सिनर्जी भने पक्कै प्राप्त गरेका छौं । वित्तीय संस्थाहरु प्राप्ति पश्चातको सिनर्जी आजका दिनमा भन्दा पनि अझ आगामी दिनहरुमा अझ प्रखरसँगै देखिने अपेक्षा राखेका छौ। 

एक वर्षको अन्तरालमा यस बैंकले तीनवटा वित्तीय संस्थाहरु प्राप्ति गरिसकेको छ । यस बैंकले मिति २०७७ साल असार २० गते नेपाल राष्ट्रबैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको), मिति २०७७ चैत्र १४ गते राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र मिति २०७८ असार २६ गते नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको छ । यी भन्दाअघि पनि बैंकले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको थियो । बैंकले स्थापनाकालदेखि हालसम्म कुल ६ वटा वित्तीय संस्थाहरुलाई आफूमा समाहित गरिसकेको छ।  

प्राप्तिपछि बैंकको व्यापार विस्तारमा एक तहको वृद्धि त भएकै छ त्यो भन्दा पनि सुन्दर पक्ष भनेको आजको दिनमा बैंकको प्रदेश नं १ मा २७, प्रदेश नं. २ मा २७, बागमती प्रदेशमा ४३, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ५९, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेश नं. ७ मा ७ वटा शाखा गरी कुल १८४ वटा शाखाहरुमार्फत १६६२ जना दक्ष एवम् कर्मठ कर्मचारीद्वारा करिब १२ लाख ग्राहक वर्गहरुलाई उच्चस्तरीय आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइएको छ । 

यसप्रकार प्राप्तिबाट यस बैंकलाई एक किसिमको सिनर्जी प्राप्त भएको छ र सँगसँगै  वित्तीय संस्थाहरुको संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत सहयोग पुगेको छ भने देशमा व्यवसायिक क्रियाकलाप एवम् समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने म ठान्दछु । साथै बैंकको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय परिसूचक, मानव–संशाधनका तथा प्राविधिक एवम् अन्य क्षमतामा अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुनाको साथै देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्नेमा म विश्वस्त छु । 

बैंकले तपाईको नेतृत्व पाएपछि धेरै कुरामा क्रमशः सुधार हुन थालेको देखिएको छ । नेतृत्व सम्हालेदेखि अहिलेसम्मको अवस्थामा आउँदा तपाईले के–कस्ता सुधार गर्नुभयो ?
-मैले मेरो सफलताको श्रेय यस बैंकको विभिन्न युनिटमा कार्य सम्पादन गर्दै आउनु भएका कर्मचारीहरुलाई दिन्छु ।  आज उहाँहरु हुनुहुन्छ र म यहाँ छु ।  यस बैंकको कर्मचारी छनौटको विधि अति नै वैज्ञानिक रहेको छ।  हाम्रो प्रगतिको आधारशिला भनेको नै दक्ष र राम्रा कर्मचारी हुन् ।  त्यसैले म सदैब हाम्राभन्दा राम्रा कर्मचारीले नै बैंकको विकास हुने कुरामा विश्वास राख्दछुँ ।  बैंक भन्ने एक दिगो संस्था हो जुन अनन्तकालसम्म चल्छ।  दिगोपनका लागि राम्रा कर्मचारी नै अवयव हुन् जस्तो मलाई लाग्दछ । मैले सदैव काम गर्दा bottom up approach को अवाधारणा अवलम्बन गर्दै आएको छु ।  म सदैव सिस्टमले काम गर्नुपर्छ भन्ने सोंचको मानिस हुँ र त्यसका निम्ति मैले मेरा मातहतका विभागहरुलाई सबल बनाउन यथासम्भव प्रयत्न गर्दै आएको छु। यस संस्थामा काम गर्नुहुने सबैजना एकदमै व्यवसायिक हुनुहुन्छ र आज यहाँसम्म ल्याउन उहाँहरुको योगदान एकदमै महत्वपूर्ण रहेको छ। मैले सधैं भन्दै आएको छु मैले नेतृत्व गर्दै आएको संस्थामा एबीसी भन्ने भाईरस चल्दैन । म स्वयम् नै एउटा बलियो एन्टीभाइरसको रूपमा लागि परिरहेको छु । यस संस्थामा A आफ्नो मान्छे, B भनसुन र  C चाकरीचाप्लुसीको कुनै औचित्य छैन । म कर्मचारीको मनोबल उकासेर उहाँहरुबाट अपेक्षित प्रतिफल निकाल्न प्रयासरत  छु । 

म अहिले पनि तीन सिफ्टमा काम गर्छु । बिहान उठ्ने बित्तिकै मेरो कम्प्युटर खुल्छ र बैंकको काम थाल्छु।  मैले घरबाट नै विभिन्न रिपोर्टहरु बनाएर सम्बन्धित सबैलाई पठाउने गरेको छु।  मैले स्वीकृत गर्नुपर्ने फाइलहरु समेत मैले घरबाट नै गर्ने प्रबन्ध मिलाएको छु।  त्यसपछि म करिब साँझसम्म कार्यालयमै हुन्छु, त्यो मेरो दोश्रो सिफ्ट हो।  त्यसपछि घर आउनेबित्तिकै मेरो तेस्रो सिफ्टको काम सुरु हुन्छ।  यसरी मैले वर्षको ३६५ दिन नै बैंकको प्रगति र उन्नतिका लागि समर्पित भई काम गरिरहेको छु।  

म यस बैंकको स्थापनाकालदेखि नै आबद्ध छु र यस क्रममा २०६५ सालदेखि नै म दोस्रो बरियतामा रही बैंकमा विभिन्न कार्यसम्पादन गर्दै आएको थिएँ । मेरो यही अनुभवलाई मध्यनजर राखेर मलाई संचालक समितिले मिति २०७५ साल चैत्रको १८ गते प्रमुख कार्यकारी अधिकृत रूपमा नियुक्त गरेको हो। मैले कार्यभार सम्हाल्दा बैंकसँग करिब ६७ अर्ब रुपैयाँको निक्षेप थियो, जुन आजको दिनमा करिब १४३ अर्ब रुपैयाँ रहेको छ।  यसैगरी करिब ६२ अर्ब रुपैयाँको कर्जा प्रवाह भएकोमा आज बढेर करिब १२३ अर्ब रुपैयाँ पुगेको छ । चुक्तापुँजीको कुरा गर्ने हो भने करिब ८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर १२ अर्ब ५८ करोड रुपैयाँको उचाई चुमिसकेको छ ।  

यस अन्तरालमा हामी शाखा सञ्जालको विस्तारमा समेत आक्रामक भएर लागिपरेका छौं ।  मैले कार्यभार सम्हाल्दा हामीले ८१ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रवाह गर्दै आएका थियौ र आज हामीले सातवटै प्रदेशमा छरिएर रहेका १८४ वटा शाखाबाट गुणस्तरीय बैंकिङ सेवा पस्किरहेका छौं ।  

यस अन्तरालमा हामीले खुद नाफामा पनि उल्लेखनीय वृद्धि गर्न सफल भएका छौं । करिब १ अर्ब रुपैयाँको हाराहारीमा रहँदै आएको नाफा आज करिब १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।  

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै हामीले घरबाट नै प्रयोग गर्न मिल्ने बैंकिङ सेवा सुबिधाको व्यापक विस्तार गरेका छौं । आजको दिनमा हामीसँग करिब ४ लाख ५७ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता हुनुहुन्छ भने करिब २ लाखको हाराहारीमा कार्डको प्रयोगकर्ता हुनुहुन्छ। 

यसैगरी, मिति २०७५ साल माघ २० गतेबाट बैंकको Core Banking Software Finacle Version 10.2.18 मा प्रतिस्थापन गरिएको थियो । नयाँ प्रविधिलाई आत्मासाथ गर्दै नेपाली जनताको घरदैलोमा बैंकिङ्ग सेवालाई सरल र छरितो रूपमा पुर्याउने अभिप्रायका साथ बैंकले त्यस बखत प्रयोग गर्दै आएको Pumori IV Plus बाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीको Finacle Core Banking Software Version 10.2.18 मा प्रतिस्थापन(Migration) गरिएको थियो । 

यी सूचकहरुमा आमूल परिवर्तन ल्याउन त्यति सहज थिएन । म आजको दिनमा पनि यहाँ उपलब्ध रहेको स्रोतसाधनको अधिकतम प्रयोगमा नै विश्वास गर्छु ।  अहिले पनि मैले मेरो समयको तीन चौथाई बैंकको काममा नै व्यतित गरिरहेको हुन्छु । मैले मेरो जीवनको अमूल्य समय बैंकलाई सुम्पेको छु र इमान्दारितापूर्वक म यस बैंकको भलो होस् भन्ने उद्देश्यका साथ अहोरात्र लागिरहेको छु । 

अहिले अधिकांश वाणिज्य बैंकमा लामो समय सोही संस्थामा रहेर डेपुटी सीइओ भएकाहरुलाई धमाधम बैंकको नेतृत्व दिन थालिएको छ । तपाई पनि डेपुटी सीइओबाटै सीइओ बन्नुभएको हो । डेपुटी सीइओलाई सीइओ बनाउँदा एउटा संस्थाको प्रगतिमा कस्ता परिवर्तनहरु आउनसक्छन् ? यो ट्रेण्डको सकारात्मक पाटोहरु के–के हुन् ?
-म यसबैंकसँग स्थापनाकालदेखि नै आबद्ध छु र म २०६५ देखि नै दोश्रो बरियतामा थिएँ । त्यस दौरान बैंकको विभिन्न बिभागको जिम्मेवारी सम्हाल्ने मौका पाएँ । आज त मलाई यस्तो लाग्छ कि मेरो गाथको हरेक कणकणमा यस बैंकसँग जोडिएका यादहरु मात्र छन्। मैले करिब धेरैजस्तो शाखाहरुको उद्घाटन आफैं नै गरेको थिएँ ।  सबैजस्तो कर्मचारीहरुसँग आत्मिय सम्बन्धका साथ काम गर्ने मौका मैले पाएँ जुन अरु संस्थाबाट आएको खण्डमा बिरलै पाइन्छ।  आज corporate world  मा succession planning वकालत गरेको सुनिन्छ, तर अब बिस्तारै त्यसलाई मूर्त रुप प्रदान गर्ने शिलशिलाको सुरुवात भएजस्तो लाग्छ। त्यही संस्थाको माटोपानीसँग जोडिएको मान्छेले त्यस संस्थाको नेतृत्व गर्दा केही हदसम्म सजिलो नै हुन्छ। जिम्मेवारी लिएको पहिलो दिनबाट नै काम थाल्नसक्ने अवस्था हुन्छ।  

अर्को भनेको कर्मचारीहरु आनीबानी, strength, weakness    सबै जस्तो थाहा हुन्छ । त्यसकारण त्यसलाई सही दिशामा परिचालन गर्न सहज हुन्छ, जसले संस्थामा efficiency का साथसाथै effectiveness समेत ल्याउँछ जस्तो मलाई लाग्दछ।  

यसैगरी, संस्था सँगै लामो समय आबद्ध भएको डेपुटी सीइओलाई विगतमा भएका विभिन्न रणनीतिक कदमहरुलाई मूर्त रुप दिन र त्यहाँ भएका कमीकमजोरीलाई सुधार गर्ने अवसरहरु हुन्छ जस्तो मलाई लाग्दछ।  

नेपाल राष्ट्रबैंकले ‘बिग मर्जर’लाई प्राथमिकता दिंदै आएको छ । यस्तो अवस्थामा सिटिजन्स बैंकको आगामी रणनीति कस्तो हुनसक्छ ?
-हामी हरेक विकल्पका लागि खुल्ला छौं । हामी नेपाल राष्ट्रबैंकले लिएको नीतिलाई पालना गर्न कहिले पनि पछाडि हट्ने छैनौ।  नेपाल राष्ट्रबैंकले चुक्तापूँजीको बढोत्तरी गर्नुपर्छ भन्ने आशय व्यक्त गरेको जस्तो मलाई लाग्दछ।  हामीले एक वर्षको अन्तरालमा नै तीनवटा वित्तीय संस्थालाई आफूमा समाहित गरिसकेका छौं । सबै विकल्प खुल्ला छ भन्दै गर्दा हाम्रो प्राथमिकता भनेको ख र ग स्तरका वित्तीय संस्थालाई प्राप्ति गर्ने नै हो।  

अबको पाँच वर्षपछाडि नेपालको बैंकिङ उद्योगमा सिटिजन्स बैंक कहाँ पुग्ला ? 
-बैंक उत्कृष्ट १० भित्र पर्ने रणनीतिका साथ अगाडि बढिरहेको छ र आगामी ५ वर्षभित्र सिटिजन्स बैंक उक्त श्रेणीमा पुग्नेमा म पूर्ण विश्वस्त छु।  बैंकले अबको पाँच वर्षभित्र सूचना प्रविधिमा आएको आमूल परिवर्तनलाई अंगिकार गर्दै थप प्रभावकारी तवरले ग्राहकवर्गलाई उच्चस्तरीय तथा प्रविधिमैत्री वित्तीय सेवाहरु प्रदान गर्ने एक अग्रणी संस्थाको रूपमा स्थापित हुने कुरामा म ढुक्क छु ।  यसकासाथै आत्मीय वातावरणको सिर्जना गर्दै देशको ७७ वटै जिल्लाका सुगम तथा दुर्गम स्थानहरुबाट  बैंकिङ सेवा प्रवाह गर्ने योजनालाई यस अवधिमा साकार पार्न हामी सफल हुनेछौ। वित्तीय पहुँचभन्दा बाहिर रहेको बिपन्न वर्ग तथा आर्थिक रूपमा पिछडिएका जनमानसलाई बैंकिङ दायरामा ल्याउन यस बैंकले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोमा त्यसलाई थप प्रभावकारी तरिकाले संचालन गर्दै वित्तीय पहँुचको अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा म आशावादी छु । नेपाल सरकार र नियामक निकायहरुको निर्देशनलाई अक्षरशः पालना गर्दै संस्थागत सुशासनको पाटोमा पनि यस बैंकले पृथक किसिमको पहिचान बनाउनेमा म विश्वस्त छु । 

बैंकमा सुधार भएसँगै लगानीकर्ताका अपेक्षा समेत बढिरहेका हुन्छन् । तपाई सीइओ बन्दै गर्दा अत्यन्त न्यून लाभांश दरका कारण बैंक निकै आलोचित भएको थियो । तर, यहाँले घोषणा गरेजस्तै कमान सम्हालेपछिका वर्षहरुमा सिटिजन्स बैंकले लगातार डबल डिजिटको लाभांश वितरण गरिरहेको छ । लाभांशको दृष्टिकोणबाट हेर्दा आगामी दिनहरु कत्तिको सुखद हुनसक्लान् ?
-पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्च दरमा वृद्धि देखिएको छ । आजभन्दा १० वर्षअघि १९ करोड ८० लाख रुपैयाँमा सीमित रहेको बैंकको नाफा पछिल्ला ५ वर्ष निरन्तर एक अर्ब रुपैयाँभन्दा माथि रहँदै आएको छ ।  सिटिजन्स बैंक उत्कृष्ट १० वाणिज्य बैंकभित्र पर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । यसबाट बैंकका लगानीकर्तालाई बितरण गरिने प्रतिफलको दरमा आकर्षक सुधार गरी आगामी वर्षहरुमा पनि दोहोरो अंक कायम गरिरहने योजना छ । 

मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए पश्चात यस बैंकले दोहोरो दरको प्रतिफल प्रदान गर्दै आएको छ। आज हामी जहाँ छौ त्यो सबै शेयरधनीहरुको माया, स्नेह र मार्गदर्शनले नै गर्दा हो। उहाँहरुले गर्नुभएको अघाद सहयोगकै कारण हामी आज सन्तुलित तर आक्रामक रूपमा व्यापार विस्तार गर्न पाएका छौ। शेयरधनी महानुभावहरुले हामीसँग गर्ने अपेक्षा भनेको प्रतिफल नै हो र केही वर्षयता हामीले प्रदान गर्दै आएको दोहोरो अंकको प्रतिफललाई निरन्तरता दिने उद्देश्यका साथ हामीले कामकारबाही संचालन गरिरहेका छौं ।   

निकै राम्रो प्रदर्शन र सुधार भइरहँदा र डबल डिजिटको लाभांश क्षमता बनिरहँदा पनि दोश्रो बजारमा भने सिटिजन्स बैंकको सेयरमूल्य रु. ४०० कै हाराहारीमा घुमिरहेको छ । यसलाई कसरी विश्लेषण गर्नुभएको छ ?
-यो बजारको मनोविज्ञानमा पनि भर पर्दछ । दोस्रो बजारको मूल्य बजारमा हुने माग र आपूर्तिले तय गर्छ।  यो बिशुद्ध बजारको कुरा हो तर यति भन्दै गर्दा हाम्रो बैंकले गरेको प्रगतिका कारण एक वर्षको अन्तरालमा हेर्ने हो सेयरको मूल्यले अपेक्षित रूपमा फड्को मारेको छ। हालका दिनहरुमा वित्तीय सूचकहरुमा आएको आमूल परिवर्तनले गर्दा आगामी दिनमा समेत सेयरमूल्यमा बजार सकारात्मक रहने कुरामा म विश्वस्त छु।  हामीले काम गरेर देखाउने हो र त्यसको मूल्याङ्कन बजारले गरिरहेको हुन्छ । 

प्रसंग बदलौं, कोभिडको दोश्रो लहरपछि थिलथिलो बनेको अर्थतन्त्र तेश्रो लहरको त्राससँगै थप दवाबमा पर्ने देखिन्छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्था बचाउनका लागि भन्दै केन्द्रीय बैंकले असल कर्जाको समेत प्रभिजनिङ बढाउनेजस्ता व्यवस्था गरेको छ । कतिपय बैंकका संचालक यस्तो व्यवस्थाबाट रुष्ट देखिएका छन् । राष्ट्रबैंकको पछिल्लो कदमलाई यहाँले चाहिँ कसरी हेर्नुभएको छ ?
-नेपाल राष्ट्रबैंक हाम्रो अभिभावक हो। अभिभावकले कुनै पनि निर्णय लिंदा आफ्नो सन्ततीको भलो होस् भन्ने नै चिताएको हुन्छ।  त्यसैले अहिले राष्ट्रबैंकद्वारा चालिएको कदमलाई मैले सकारात्मक रूपमा नै हेरेको छु। उहाँहरुले बजारको राम्रो विश्लेषण गर्नु भएको छ र बजारलाई गतिशील र दिगो बनाउनका निम्ति नै यो कदम लिइएको जस्तो मलाई लाग्दछ। कुनै पनि नयाँ निर्देशन आउँदा त्यसको चिन्तन तथा गन्थन हुनु मलाई स्वाभाविक नै लाग्छ। तर हामीले कुनै निर्देशनलाई सरल रूपमा हेर्यौ भने त्यो पक्कै सरल नै हुन्छ।  हामीले व्यापार गर्नुपर्छ तर योसँगै नियामकद्वारा दिइएको निर्देशनलाई समेत शिरोधार्य गरेर कामकारबाही गर्नुपर्छ। अहिलेको समय भनेको बच्ने र बचाउने नै हो।  यसले एक प्रकारको अनुशासन स्थापित गर्छ । तसर्थ हालको अवस्थामा नियामकले दिएको निर्देशनमाथि खासै तर्क बितर्क गर्नु त्यति आवश्यक छ जस्तो मलाई लाग्दैन।  

कोभिडको तेश्रो लहर नियन्त्रणका लागि पुनः लकडाउन हुने अवस्था भयो भने नेपालको बैंकिङ क्षेत्रले थेग्नसक्छ ? 
-नेपालको बैंकिङ क्षेत्रले आफ्नो बाल्यकाल सकाएर यौवन अवस्थामा प्रवेश गरिसकेको छ।  हामीले गत दुई वर्षयता कोभिडको प्रभावसँग लड्दै बैंकिङ गतिविधिहरु गर्दै आएका छौं । अहिलेको अवस्थासँग जुध्नका निम्ति बैंकिङ क्षेत्र सक्षम छ जस्तो मलाई लाग्दछ।  यस्तो अवस्थामा यदि राज्यले दिनुपर्ने छुट तथा सुविधाहरु राज्यद्वारा नै प्रदान गरियो भने बैंकिङ सहज तरिकाले अगाडि बढ्छ र अहिलेको विषम अवस्थालाई चिर्न सफल हुन्छ। हामीले समानताको साटो समताको बाटो अँगाल्न सक्यौ भने बैंक र ग्राहक दुबैको भविष्य उज्वल छ।  

लगातारको लकडाउन र कोरोना प्रभावका कारण समस्यामा परेका बैंक तथा वित्तीय क्षेत्रको पुनरुत्थानका लागि के–कस्तो व्यवस्था हुनुपर्छ ?
-हालको अवस्थामा वित्तीय क्षेत्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंकको महत्वपूर्ण भूमिका रहन्छ।  अहिले भनेको बच्ने र बचाउने नीतिका साथ कामकारबाही संचालन गर्नुपर्ने समयको माग रहेको छ।  अहिले रिफाइनान्सिङको प्रणालीलाई निरन्तरता दिनुपर्दछ।  गत वर्ष छुटको भार बाणिज्य बैंकहरुलाई बोकाइयो। मेरो विचारमा stimulus package ल्याउने काम राज्यको हो र अर्थतन्त्रलाई उकास्न राज्यले नै नीति अवलम्बन गर्नुपर्छ।  बातावरणलाई जति सकिन्छ, त्यति सहज बनाउनु पर्छ। कोरोनाका कारण बैंकबाट प्रवाह भएका कर्जाहरुको असुली गर्न कठिन नै रहेको छ। व्यवहारिक रूपमा हेर्ने हो भने अहिलेको विषम समयमा हामीले ग्राहकलाई कर्जाको भुक्तानी गर्नका निम्ति भन्न पनि कठिन रहेको छ। उहाँहरुले व्यवसाय संचालनका लागि लिनुभएको कर्जा व्यवसाय नचल्दा कहाँबाट तिर्ने ? अहिले राज्यले सकेसम्म चाँडो खोपको प्रबन्ध गर्नुपर्छ। खोपले माहोललाई सहज बनाउन मद्दत गर्नुकासाथै एकप्रकारको कन्फीडेन्स लेभल बढ्छ। राष्ट्रबैंकले कर्जाहरुको पुनरसंरचना र पुनरतालिकीकरण गर्न सहजीकरण  गरिदिनुपर्छ । Moratorium अवधिलाई पनि पुनरावलोकन गर्नुपर्ने अवस्था रहेको छ। Provisioning को हकमा पनि केही राहत दिन सकियो भने बच्ने र बचाउने अभियान सफल हुन्छ जस्तो लाग्छ।  

एकातिर कोभिड महामारीजस्ता जटिल चुनौतिहरु छन् । अर्कोतर्फ राष्ट्रबैंकले नियमनको नाममा माइक्रो म्यानेजमेन्ट गर्दा बैंकहरुको लाभांश क्षमता घटिरहेको छ । सबैतर्फको दवाब, प्रभाव र पेलाईका कारण कतै बैंकिङ क्षेत्र समस्यै समस्यामा पर्ने त होइन ? यो क्षेत्रमा भएको लगानी निरुत्साहित हुने त होइन ?
-नेपाल राष्ट्रबैंकद्वारा तर्जुमा गरिने नीतिहरु एकदमै गहन मन्थन पछि आउछन् जस्तो मलाई लाग्दछ । नियमनकारी निकाय माइक्रो म्यानेजमेन्टको लेवलमा आउनुमा कतै हामी बैंक वित्तीय संस्थाहरुमै कमजोरी त होइन ? यसमा हामी सबैले पनि आत्मसमीक्षा गर्न जरुरी छ। अर्थतन्त्रलाई चलायमान राख्न तथा वित्तीय सुशासनलाई पालना गराउने अभिप्रायका साथ नेपाल राष्ट्र बैंकले नीतिहरु तर्जुमा गरेको हो।  हाललाई केही कठिनाईजस्तो देखिएता पनि कालान्तरमा यसले बैंकिङ जगतलाई थप प्रभावकारी तथा वित्तीय रूपमा स्वस्थ बनाउन सहज पुग्छ । मलाई के लाग्छ भने अहिले नेपाल राष्ट्रबैंकद्वारा चालिएको कदमले आम लगानीकर्ताको विश्वास बैंकिङ क्षेत्रमा झनै बढ्छ।  एउटा सुनिश्चितताको वातावरण सिर्जना हुन्छ र आगामी दिनमा बैंकिङ क्षेत्र झनै सबल हुने कुरामा म ढुक्क छु ।  यसले गर्दा आगामी दिनमा लगानीकर्ताहरु बैंकिङतर्फ आकर्षित हुनेमा पनि म आशावादी छु।