– अनन्त्य सुन्दर

काठमाण्डौ । दसैँको बिदा सुरु भएसँगै सेयर बजारका लगानीकर्र्ता पनि कोही राजधानीमै र कोही राजधानीबाहिर दसैँ मनाउने योजनामा छन्। कतिपय घुम्न राजधानीबाहिर गइसकेका छन्। 

बजार ३२०० को विन्दुमा हुँदा नै सेयर बेचेकाहरु अहिले ढुक्क साथ दसैँ मनाउने योजनामा छन्। सेयर होल्ड गरेकाहरु पनि दसैँपछि बजार बढ्ने आशाका साथ बसेका छन्।

सेयर बजारकी सक्रिय लगानीकर्ता सबिना बन्जारा यसपालिको दसैँमा जन्म घर गोर्खामा बुबा–आमासँग मनाउने योजनामा छिन्। शिक्षण पेसालाई तिलाञ्जलि दिएर सेयर बजारमा लागेकी बन्जारा भन्छिन्, ‘पोहोर साल सेयर बजारमा दसैँको असर धेरै नै थियो। तर यसपालि लगानीकर्ताको संख्या बढेसँगै दसैँमा दसैँका कुरा कम सेयरको बढी हुन्छ होला।’ 

दसैँको शुभकामना दिँदै बन्जाराको खानपिनमा ध्यान दिँदै दसैँ हर्ष र खुसीका साथ मनाउन सुझाव छ।

चितवनकी शारदा आचार्यको यसपालिको दसैँ आफन्तजनसँग घरमा नै बसेर योजना छ। आचार्य भन्छिन्, ‘कोरोनाको त्रास अझै पनि छ। त्यसैले दसैँको बेला स्वास्थ्यको ख्याल राख्दै मनाउन अत्यावश्यक छ।’ 

दसैँमा सेयर बजार पनि बन्द हुने भएकाले आचार्यको घरमा मिठो परिकारहरु बनाएर आफन्तहरुसँग दसैँ मनाउने योजना छ। दसैँको शुभकामना दिँदै आचार्य अनावश्यक भीडभाड नगरी सरकारलाई महामारी नियन्त्रणमा सहयोग गर्दिन आग्रह गर्छिन्। 

चितवनका सिर्जन पोख्रेल अध्ययनका साथै सेयर बजारमा लगानी गर्ने गरेका छन्। पोख्रेलको कोरोना महामारीले आइपरेको दुःखका साथै नकारात्मक विचारहरुलाई भुलेर दसैँ मनाउने योजना छ। पोख्रेल भन्छन्, ‘पोहोर साल महामारीले गर्दा खुलेर दसैँ मनाउन पाएको थिएनौँ। यसपालि अधिकांशले खोप लगाएकाले साथीभाइसँग मनोरञ्जन गर्ने योजना रहेको छ।’ 

दसैँको शुभकामना दिँदै पोख्रेलको फौजुल गर्नुको साटो विपन्न वर्गका नागरिकलाई दसैँमा आफूले सकेजति खाना, पैसा, लत्ताकपडालगायत अन्य सहयोग गर्न आग्रह छ।

बारा कलैयाका सुनिल यादवको यसपालिको दसैँमा नयाँ ठाउँहरु घुम्ने योजना छ। यादव भन्छन्, ‘पोहोर साल कोरोना कहरले गर्दा दसैँको सबै योजनाहरु खेर गयो। यसपटक सबैले कोरोनाविरुद्धको खोप लगाएकाले घुम्ने योजना छ।’ 

दसैँको शुभकामना दिँदै यादव नेपाली दाजुभाइ दिदीबहिनीलाई अहिले बजार घटेका र दसैँपछि बढ्ने भएकाले अनावश्यक खर्च गर्नुको साटो सेयर बजारमा लगानी गर्न सुझाव दिन्छन्।