– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपालको सेयर बजार विगत केही महिनादेखि निरन्तर घट्दो क्रममा रहेको छ। झन्डै ३२०० पुगेको नेप्से परिसूचक अहिले १८५३.७६ रहेको छ। त्यसका साथै बजारमा कारोबार रकम पनि खुम्चिएर ५०–६० करोडमा झरेको छ।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार दसैँपछि बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना रहेको बताउँछन्। ‘नेपाली सेयर बजार १३–१४ महिनाको समय अवधिमा नै झन्डै १४०० अंक घटिसकेको छ। अब बजारमा त्यति धेरै घट्ने ठाउँ देखिँदैन’, उनले भने, ‘त्यसैले दसैँपछि बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ।’

अब ब्याजदर बढ्ने सम्भावना नरहेको रौनियारको भनाइ छ। ‘ब्याजदरका विषयमा डेपुटी गभर्नर, अर्थमन्त्रीलगायतले प्रस्ट पारिसकेका छन्’, रौनियारले भने, ‘ब्याजदर महँगो हुँदा ऋणीहरुले पैसा तिर्न नसक्दा डिफल्ट हुने चान्स उच्च हुन्छ। त्यसैले बैंकहरुको पनि अब ब्याजदर नबढाउने मनसाय देखिन्छ।’  

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै रेमिट्यान्स पनि बढ्दो रहेको रौनियार बताउँछन्। ‘अहिले तरलता पनि पहिलाको तुलनामा सहज हुँदै गएको छ’, उनले भने। 

अहिले बजार सुधारका धेरै कामहरु भइरहेको रौनियार बताउँछन्। ‘नयाँ एक्सचेन्जका साथै नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रिया पनि अघि बढेको छ’, उनी भन्छन्, ‘आस्बा शुल्क पनि अहिले घटिसकेको छ। सम्भवतः दसैँतिहारपछि ब्रोकर कमिसन पनि घट्नेछ। त्यसैले अहिले पुँजी बजार विकास र सुधारका धेरै काम भइरहेका छन्।

अहिले कम्पनीहरुले लाभांश पनि दिने बेला रहेको रौनियारले बताए। ‘चुनाव नजिकिएसँगै चुनावी खर्च पनि हुन्छ’, उनले भने, ‘त्यसैले अब बजार धेरै घट्ने देखिँदैन। बजारमा रिस्क त सधैँ हुन्छ। तर, अहिले बजारमा रिस्कको तुलनामा रिटर्नको अवसर बढी छ।’

आमलगानीकर्तालाई बडादसैँको शुभकामना दिँदै रौनियारले भने, ‘लगानी गरेपछि लगानीकर्ता आशावादी हुनुपर्छ। मनोबल कमजोर बनाएर हुँदैन।’