काठमाण्डौ। अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको दिगोपनाका लागि एकता अभियान कार्यान्वयनका लागि नेपाल बैंकर्स संघ (एनबीए) सँग समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

नेपाल बैंकर्स संघको कार्यालय थापाथलीमा भएको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय, कार्यकारी निर्देशक अनिल शर्मा र अन्नपूर्ण मिडिया नेटवर्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सनत न्यौपानेले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीको मुख्य उद्देश्य नेपालमा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने रहेको छ। 

यसैगरी नवीकरणीय एवं वैकल्पिक ऊर्जाको क्षेत्रमा लगानी प्रवर्द्धनमा जोड गर्दै दुवै पक्षले वकालत पैरवी गर्ने, उद्यमशीलताको विकासमा क्षमता अभिवृद्धि गर्ने, जैविक विविधताको संरक्षण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, दिगो विकासका लक्ष्यमा संयुक्त रुपमा वकालत पैरवी गर्ने उद्देश्य समझदारीको छ। 

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ। यसका लागि सरकारी, बैंकिङ क्षेत्र, निजी क्षेत्र र आमसञ्चार माध्यमको संयुक्त सहकार्यमा जनचेतनामूलक कार्यक्रम अभिवृद्धि गरी, विषयगत छलफल लाई बढाउँदै  कार्बन उत्सर्जन कम गर्दै जाने उद्देश्य समझदारीको रहेको छ। जलवायु परिवर्तनको विषयमा नीतिगत बहस सञ्चालन गर्न पनि दुई संस्थाबीच सहकार्य गर्ने पनि समझदारी पत्रमा उल्लेख छ। 

समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले जलवायु परिवर्तनको विषय निकै गम्भीरतापूर्वक हेरिनुपर्ने विषय र समयसापेक्ष भएको उल्लेख गरे। उनले यस समझदारी पत्रमा हस्ताक्षरसँगै भएका छलफल तथा बहसबाट दुई संस्थाबीच दिगो साझेदारीको आधार तयार भएको पनि उल्लेख गरे। 

उपाध्याय भने, ‘हाल जलवायु परिवर्तनजन्य संकट हाम्रा दैनिक जीवनमा तीव्र रुपले देखिन र भोगाइमा महसुस गर्न थालेका छौँ, नेपाल उच्च जोखिम राष्ट्र भएको हिसाबले पनि सँगै मिलेर यस युनिटी फर सस्टेनेबलिटीबाट बहसको नयाँ आयाम सुरु भएको हो।’ 

अन्नपूर्ण मिडिया नेटवर्कका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जलवायु परिवर्तन कुनै एक पक्षको मुद्दा मात्रै नभई विश्वकै लागि चुनौतीको विषय भएकाले नेपाललगायत विश्वभर यसको विषयमा जनचेतना र आमचेतनाको स्तरमा पनि विस्तारै परिवर्तन ल्याउनुपर्ने औँल्याए। उनले यस विषयसँग लड्न दिगोपनका लागि एकता अभियान एउटा कोशेढुंगा साबित हुने कुरा उल्लेख गरे। 

न्यौपानेले नेपाल बैंकर्स संघले कार्यान्वयन गरिरहेको धेरै मुद्दाहरुमध्येको एक प्राथमिक मुद्दामा राखेको कुराले आफू अझ बढी आशावादी र खुसी भएको साथै कार्बन उत्सर्जन न्यूनीकरणमा यस अभियान र संघबीच सहकार्य गर्न सकिने पनि बताए। 

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स संघ र अन्नपूर्ण मिडिया नेटवर्ककका तर्फबाट विभिन्न पदाधिकरीको उपस्थिति थियो।