काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले कोभिड १९ को संक्रमण त्रासले देश नै पूर्ण लकडाउनमा भएको अवस्थामा धितोपत्रको दोश्रो बजार कारोबार संभव भए पनि सेटलमेन्ट भने असंभव रहेको बताएका छन् । 

अर्थमन्त्रालयले बुधबार धितोपत्र बजार समेत खुलाउने आशयको परिपत्र सम्बद्ध निकायहरुमा गरेपछि त्यसले लगानीकर्ता, ब्रोकर, धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका कर्मचारीमा पनि निकै ठूलो द्विविधाको अवस्था सिर्जना गरिरहेको बेला ब्रोकरका अध्यक्षले सेटलमेन्टबिनाको कारोबार खुलाउनुको अर्थ नहुने प्रष्ट पारेका हुन् । 

उनले ब्रोकरहरुको तर्फबाट कारोबार खुलाउन संभव भए पनि सेटलमेन्ट गर्न नसकिने विषयका बारेमा बिहीबार नै धितोपत्र बोर्ड, नेप्से र सिडिएससीलाई जानकारी दिइसकिएको प्रष्ट्याए । 

उनले बजारसँग सम्बद्ध सबै सरोकारवालाहरुले भोलि नै छलफल गर्नुपर्नेमा जोड दिंदै भनेका छन्-'ब्रोकर हाउसमा कर्मचारी छैनन् । उपत्यका छाडेर धेरै आ आफ्नो घर(जिल्ला) गइसकेका छन् । उनीहरुलाई बोलाउन सकिन्छ, तर पूर्ण लकडाउनमा उनीहरु काठमाण्डौ आउने व्यवस्था हुनुपर्छ । ब्रोकर हाउस खोल्नैपर्छ भन्ने कुरा आयो भने हामी तयार छौ, तर अवस्था असामान्य छ ।' 

कोरोना भाइरसको संक्रमणले विश्वले तहल्का मच्चाइरहेका बेला अर्थमन्त्रालयले पूूँजीबजार खोल्न गरेको निर्णय मानवीय संवेदना विपरीत भएको लगानीकर्ताको धारणामा कतिपय ब्रोकर सहमत देखिएका छन् ।

सेयर कारोबारमा एनसीएचएलको कनेक्ट आइपीएसमा भएको सीमितता र बैंक क्लियरिङ गर्न समेत संक्रमण भएको बेला असम्भव भएको ब्रोकरहरुको ठम्याइँ छ । 

ब्रोकरहरुका अनुुसार वित्तीय जोखिमका कारण अनलाइन कारोबारीहरुलाई समेत लिमिट दिन असम्भव छ । ‘मल्टिपल डिम्याट खाता टीएमएसमा आवद्ध नहुँदा सेयर कारोबार गर्दा फरक डीपीका सेयर बेच्दा डीआइएस दिन ब्रोकर कार्यालय नै धाउनुुपर्दछ ।’एक ब्रोकर भन्छन्–‘इडीआइएसबाटै लगानीकर्ताले घरबाटै सेयर हस्तान्तरण गरे पनि पूूँजीगत लाभकर सिस्टममा हाल्न पनि कर्मचारीहरुले म्यानुुअली नै पोस्ट गर्नुुपर्ने हुुन्छ ।’

ब्रोकर हाउसमा कार्यरत कर्मचारीहरु मोफसल बाहिर गइसकेका छन् । यदि ब्रोकर हाउस खोल्ने नै भएपनि कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमण भई मृत्युु भएमा क्षतिपूूर्ति दिन ब्रोकर असमर्थ रहेको बताउँछन् । अत्यावश्यक परेमा बिक्री गरे पनि कसले किन्ने भन्ने प्रश्न पनि आउनसक्छ । अरु सेक्टर ठप्प प्रायः भइरहेका बेला धितोपत्र कारोबार निरन्तरता हुुनुु भनेको बेमौसमी बाजा भएको ब्रोकरहरुको आरोप छ ।

सेयर बजार सट्टेबाजीहरुको क्रीडास्थलसमेत मानिन्छ, तर केही हदसम्म । कोरोनाकै त्रासमा लगानीकर्तालाई प्यानिक बनाएर कौडीका भाउमा सेयर आत्तिएर बेच्न बाध्य तुुल्याई केही गिरोहलाई मात्र फाइदा पुग्ने गरी बजार खुलाउन नहुने ब्रोकरहरु बताउँछन् । 

सबैभन्दा गम्भीर विषय त यस्तो बेलामा सेयर किन्नेले पैसा नदिने तर बेच्नेले भने पैसा लैजाने हुुँदा यो बेला कारोबार भएमा धान्नै नसक्ने अवस्था आउने ब्रोकरहरुको भनाई छ । 

हुुन पनि गत साता बिहीबार चैत ६ गते भएको सेयर कारोबारमा बेच्नेले पैसा लिएर गइसकेका, तर किन्नेले कोरोना संक्रमणले लकडाउन हुुने आँकलनमा धमाधम सेयर किने, जसको भुुक्तानी अहिलेसम्म नभएको ब्रोकरहरुको गुनासो छ ।