रमन नेपाल(कार्यकारी निर्देशक(इडी)-नागरिक लगानी कोष(सीआइटी)

 

नागरिक स्टक डिलर बजारमा प्रवेश गर्नका लागि कस्तो तयारी भइरहेको छ ?
धितोपत्र बोर्डले एलओआई दिइसकेको छ । सबै पूर्वाधार पुर्याएर लाइसेन्सका लागि आउनु भनेको छ । नेप्से र सिडीएससीसँग समन्वय गरेर, त्योअनुसारको डेटा ब्याकअफिस, सफ्टवेयर लगायत सबै तयारी गरिसकेपछि स्टक डिलरको बोर्डले ‘हाम्रो तयारी भयो निरीक्षणका लागि आउनु’ भनेर बोलाउँछ । धितोपत्र बोर्डले हेरेर लाइसेन्स दिने कुरा छ । लाइसेन्स आएको भोलिपल्टदेखि हामी दोश्रो बजारमा कारोबार सुरु गर्छौ ।

अहिलेसम्म पूरा भएका तयारीहरु के के हुन् ?
२–४ वटा पोलिसी बनाउने काम सकिइसकेको छ । एकदुईवटा पोलिसी बनेर पनि पास हुन बाँकी रहेको अवस्था छ । पोलिसीमा टाइम लाग्दैन, अहिले काम सुरुवात गर्न पुग्ने पोलिसी छँदैछन् । बानेश्वरको कृष्ण टावरमा आवश्यकताअनुसारको अफिस पनि म्यानेज भइसकेको छ । अब चाँडै सफ्टवेयर र डेटा ब्याकअपका कुराहरु, डेटा स्टोरेजका कुराहरुको व्यवस्थापन गर्नुछ । हार्डवेयर तथा सफ्टवेयरको चुस्त व्यवस्थापन लागि साथीहरु लागिरहनु भएको छ । हामीले नेप्से र सिडिएससीसँग सबै कुरामा कोअर्डिनेट गरिसकेपछि काम सुरु हुन्छ । 

कर्मचारी व्यवस्थापन कसरी गर्नुभयो ?
अहिलेका लागि अस्थायी व्यवस्थापन मात्र गरेका छौं । केही समयका लागि हाम्रोतर्फबाट ३ जना अनुभवी कर्मचारी पठाएका छौं । टेलिकमबाट पनि आउनुभएको छ एक–दुईजना । पुनर्बिमाबाट पनि एकजना आउनुभएको होला । यसरी तीनवटा संस्थाकै कर्मचारी पठाएर अहिलेको काम गरिरहेका छौं । 

नागरिक स्टक डिलरमा कसको कति लगानी हो ?
हाम्रो ५१ प्रतिशत लगानी हो । नेपाल पुनर्बिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत लगानी हो । त्यसपछि बाँकी रहेको ३० प्रतिशत बराबरको आइपीओ सर्वसाधारणमा जारी गर्छौं ।

स्टक डिलरको रुपमा बजारमा प्रवेश गर्ने कुनै साइत तय भएको छैन ?
हाम्रो योजना सबै काम भनेजस्तो भयो भने साउन दोश्रो हप्तादेखि कारोबार सुरु गर्ने भन्ने थियो । तर  भनेअनुसारको भएन । अलिक छिटो टाइम राख्यो भने काम गर्ने साथीहरुले छिटो काम गर्नुहुन्छ भनेर पनि विगतमा सोंचियो । अब चाहिँ छिटोमा भदौको दोश्रो हप्तासम्ममा कारोबार सुरु होला कि जस्तो लागिरहेको छ । धितोपत्र बोर्डले ‘एलओआई पाएको ६ महिनाभित्र लाइसेन्स लिन आउनुहोला’ भनेको छ । त्यो कुर्ने हो भने टाइम लाग्छ । हामी त्यो कुरिरहदैनौं । जहाँसम्म लाग्छ, साथीहरुले तयारी गरेर उहाँ(धितोपत्र बोर्ड)हरुलाई निरीक्षण गराएर भदौसम्म लाइसेन्स लिई कारोबार सुरु गर्ने अवस्था बन्नेछ । कोरोनाका कारण अहिलेको अवस्था जटिल छ । काम गर्ने स्टाफ खटाउन गाह्रो, बोर्ड मिटिङ गराउन पनि गाह्रो छ । यस्ता कुराले तयारी प्रभावित भयो भने एकदुई दिन ढिलो हुनसक्छ ।  

धेरै ढिलो हुँदा पनि भदौसम्म चाहिँ आउँछ ? 
हो, धेरै ढिलो हुँदा पनि भदौभित्रमा चाहिँ आउँछ । बजार घटेको बेला प्रवेश गर्यो भने लगानीकर्ताको कन्फिडेन्ट लेभल बिल्डअप हुन्छ भनेर हामीले सोंचिरहेका हौं ।

हो नि, लगानीकर्ताले खोजिरहेको विषय पनि हो यो ।
दोश्रो बजारमा विशेषगरी साना लगानीकर्ता जताबाट पनि मारमा परिरहेको अवस्था छ । हाम्रो स्टक डिलरले डिमाण्ड र सप्लाईलाई अलि अलि भए पनि ब्यालेन्स गर्छ कि भन्ने हो । बजारमा संस्थापक लगानीकर्ता आउनु नै आफैंमा राम्रो विषय हो । 

लगानीको मोडल चाहिँ कस्तो हुन्छ नि ?
जस्तो बजारमा एकदमै डिमाण्ड छैन, सप्लाई मात्र बढ्यो भने सेयरको प्राइस तल आउँछ । सर्टेन पोलिसी बनाएर, सर्टेन इण्डीकेटरका आधारमा डिमाण्ड क्रिएट गर्ने काम गर्छ स्टक डिलरले, अरुले डिमाण्ड नगरेको बेला हामी गर्छौ । सेयर किनेर मौज्दातको रुपमा राख्छौं । अलिक डिमाण्ड क्रियट भएपछि मान्छेले बेच्न खोज्छन् । कतिपय भने बिक्री गर्न हतारिँदैन । मानौं भोलि गएर प्राइस धेरै माथि भयो भने स्टक डिलरले पनि सप्लाई बढाएर सेयरमूल्यलाई अस्वभाविक उचाईमा पुग्न दिंदैन । सन्तुलित बनाइदिन्छ । डिमाण्ड र सप्लाईलाई ब्यालेन्स गरेर, सेयर मूल्य नर्मल करिडरभित्र मूभ गर्नलाई सहयोग पुर्याउने गरी हामी लगानी गर्दै अगाडि बढ्छौं ।

लगानीको सीमा चाहिँ कति हुन्छ ?
अहिले हाम्रो चुक्तापूँजी साढे ३ अर्बको छ, ३० प्रतिशत पब्लिकमा गएपछि ५ अर्ब रुपैयाँको पूँजी हुन्छ । हामी २ वर्षभित्र डेढ अर्बको आइपीओ निश्कासन गर्छौ । त्यो बाहेक हालका सहभागी संस्थाहरु मिलेर बास्केटफण्ड पनि क्रिएट गर्छौ । क्यापिटलको ६ गुणासम्म त्यस्तो बास्केट फण्ड तयार गर्न पाउने पोलिसी छ। अब कति गुणासम्म तयार गर्ने भन्ने विषय भोलिकै दिनमा थाहा होला ।