-चन्द्रसिंह साउद(प्रमुख कार्यकारी अधिकृत)-नेपाल स्टक एक्सचेञ्ज लिमीटेड

तपाईलाई अरुबेलाभन्दा आज अलिक प्रफूल्ल मुद्रामा देखिरहेको छु?
-मलाई सेयरबजारमा एकैदिन १७ अर्ब बढीको कारोबार भएर मात्र खुशी लागेको होइन । सुरुका दिनमा अनलाइन कारोबार प्रणालीको सुरुवात गर्दा अधिकांशले विश्वास गर्न सकेका थिएनन् । कतिपय मिडियाका ‘टक शो’हरुमा म एक्लो पर्थेँ । मिडियाकर्मीदेखि लगानीकर्ता, ब्रोकर, नियामकका प्रतिनिधि एकमुख थिए, म एक्लो हुन्थेँ । आज १७ अर्ब २ करोड बढीको कारोबार भयो । मैले त्यसबेला भनेको कुरा सत्य रहेछ भन्ने कुरा प्रमाणित हुँदैछ । 

त्यसबेला अनलाइन धेरैले रुचाएका थिएनन् । रियलटाइममा आफैंले किन्ने र बेच्ने माहौल पनि थिएन । त्यो अवस्थामा लगानीकर्ता, ब्रोकर र विभिन्न व्यक्तिका विभिन्न स्वार्थहरु पनि थिए होलान् । त्यतिबेला दिनभरि नेप्सेमा आउने र ‘अनलाइन आजै चाहियो, भोलि नै चाहियो’ भन्ने तर राति भने फोन गरेर ‘यो अनलाइन किन चाहियो ? किन जोखिम लिनुहुन्छ ?’ भन्ने मान्छेहरु पनि थिए । ‘तपाईलाई ठूलो जोखिम छ, यसमा धेरै अगाडि नबढ्नुहोस्’ भन्ने खालका धम्की पनि आए । 

तर, हामी अनलाइन ल्याउने विषयमा कटिबद्ध थियौं, सिस्टम सेटअप भयो । हाम्रोमा नट्स छ, ब्रोकरकोमा टिएमएस, इन्भेष्टर्सका साधनस्रोत आफ्नै खालका होलान्, इन्टरनेटको पहुँचको कुरा पनि आउला । बैंक तथा वित्तीय संस्थाको पेमेन्ट गेट्वेका कुरा छन्, सिडिएससीको सिस्टमको कुरा छ, यी सबै कुराको र क्षेत्रको योगदानको कम्बीनेसन अहिलेको अनलाइन प्रणाली हो । 

यो प्रणाली सुरु भएपछि कहिलेकाही सिस्टममा पनि समस्या आउने गथ्र्यो । पछिल्लो समय सबै लगानीकर्ताले अनलाइनको विषयमा कमेन्ट गर्नुभन्दा आफैंले यूजरनेम र पासवर्ड लिएर कारोबार गर्नतिर लाग्नुभयो । अहिले समस्या छैन । मैले त्यसबेलै भनेको थिएँ–जसले अनलाइन प्रयोग नै गरेको छैन, उसले बजारमा बढी कमेन्ट गरेको छ । अहिले लगानीकर्ताले वास्तविक रुपमा अनलाइन प्रयोग गरे, यो प्रमाणित भयो । बजारका ९४ प्रतिशत लगानीकर्ता आजका दिनमा अनलाइनबाट कारोबार गर्छन् । एकैदिन १७ अर्ब बढीको कारोबार भयो । ४ करोड २६ लाखभन्दा बढी कित्ता एकैदिन कारोबार भए । यसरी हेर्दा अनलाइन सिस्टम सफल पनि भयो । सत्यकुरा एकदिन प्रमाणित हुन्छ र आज भयो, यही भावनाले म आज खुशी बनेको हुँ । 

कारोबारमा दैनिक ४–५ अर्बको छलाङ देखियो । कतिपयले कारोबार अस्वभाविक रुपमा बढिरहेको छ भनिरहेका छन् । कतै गलत ढंगले बजारमा पैसा छिरिरहेको छ कि भनी शंका गर्नेहरु पनि छन् ?
-पूँजीबजारजत्तिको पारदर्शी बजार अरु छैन । हरेक भुक्तानीहरु बैंकिङ च्यानलबाट हुन्छ । लगानीकर्ताको बैंक अकाउण्टबाट पैसाको लेनदेन हुन्छ । ब्रोकर साथीहरुले पनि बैंकबाटै भुक्तानी गर्नुहुन्छ । यसरी हेर्दा बजारमा गलत ढंगले पैसा आएको छ भनेर म मान्न तयार छैन । फेरि पनि त्यो चेक गर्ने काम बैंकहरुको हो । कसैको पैसा डिपोजिट गर्दा कुन स्रोतबाट आएको हो भन्ने खोज्ने काम त बैंकको होला । तर, अहिले शंका गर्नुपर्ने आवश्यकता छैन । 

लकडाउनको बेला उद्योगव्यापार ठप्प छन् । व्यापार गर्ने मान्छेले के गर्ने त ? दिनभरि घर बस्नुभएको छ । काम छैन । हो, अहिले त्यस्तै लगानीकर्ताले आफूसँग भएको पैसा पूँजीबजारमा हाल्नुभएको हो । धेरै लगानीकर्ताको समय पनि पूँजीबजारमै व्यतीत भएको छ । पछिल्लो समय हाम्रो वेबसाइट भिजिट गर्नेको संख्या, टिएमएस लिनेको संख्या, हाम्रो विभिन्न डेटाहरु हेर्ने लगानीकर्ता लाखौं लाख भइसक्नुभएको छ । यसले उद्योग व्यापारमा जानुपर्ने पैसा पनि पूँजीबजारमा आएको देखिन्छ । 

यतिबेला बैंक तथा वित्तीय संस्थाको लगानीको क्षेत्र पनि संकुचनमा परेको छ । अहिले सजिलै रुपमा र सस्तो ब्याजमा सेयरलोन उपलब्ध छ । लगानीकर्ताले पनि बैंकमा निक्षेप राखी आउने ब्याजभन्दा सेयर बजारमा लगानी गर्दा प्राप्त हुने प्रतिफल हजारौं गुणा बढी रहेछ भन्ने थाहा पाउनुभयो । यी सबै कारणले कारोबार बढेको हो । 

केहीअघिसम्म औसतमा ७–८ अर्बको कारोबार हुन्थ्यो । अहिले आएर एकैदिन ठूलो अन्तरले कारोबार बढिरहेको छ । त्यो हिसाबले सूचक बढिरहेको छैन । कतिपयले नेप्से बढ्यो, कारोबार पनि बढ्यो, तर हाम्रो पोर्टफोलियो खासै बढेन भन्ने गुनासो गरेको सुनिन्छ । के कारणले यस्तो भएको हो ? 
-लगानीकर्ताको सही गुनासो हो । किनभने जुन सेयरको मूल्य बढ्नुपर्छ, अहिले पनि बढिरहेको छैन । जस्तो बैंकिङ सेक्टरको मूल्य वास्तविक रुपमा बढ्न सकेको छैन । अहिले माइक्रोफाइनान्स, हाइड्रोपावर, रियलसेक्टर, इन्भेष्टमेन्ट कम्पनीको मूल्य बढेको छ । धेरै ठूलो पूँजीकरण भएका संस्थाको मूल्य बढ्यो, जस्तो ः दूरसंचार, निफ्रा र पुनर्बिमा कम्पनी । यिनीहरुको २–३ रुपैयाँले मूल्य बढ्दा पनि ह्वात्तै कारोबार बढ्न जान्छ । यसकारण लगानीकर्ताले भन्नुभएको कुरा सही हो । तर जसले बैंक तथा वित्तीय संस्थामा लगानी गर्नुभएको छ, उहाँहरुले अझै केही समय पर्खिनुपर्नेछ । र, पक्कै पनि बैंक तथा वित्तीय संस्था दिन आउँछ भन्नेमा म चाहिँ ढुक्क छु । 

कारोबार रकम बढिरहेको छ। नेप्से परिसूचक पनि बढेकै छ । बजारले दैनिक एकपछि अर्को नयाँ नयाँ कीर्तिमान कायम गरेपछि हामीले खुशियाली मनाइरहँदा यही बजारमा साह्रै कमजोर र खराब वित्तीय अवस्था भएका कम्पनीको मूल्यमा पनि दैनिक सकारात्मक सर्किट लागिरहेको छ । नेगेटिभ इपीएस भएका, नेटवर्थ पनि नेगेटिभ भएका कम्पनीहरुको मूल्य पनि रकेटको गतिमा बढेको देखियो । यी सबै परिदृश्य हेर्दा कतै हाम्रो बजार दुर्घटनाउन्मुख त भइरहेको छैन ?
तपाईले भनेका केही कुरा सत्य होलान्, तर सबै कुरा सत्य होइन । पहिलेको जस्तो लगानीकर्ता छैनन् अहिले । सबै कुरा बुझेर मात्र दोश्रो बजारमा लगानी गर्नेहरु छन् । हामीले पटक पटक बुझेर मात्र लगानी गर्नुहोस् पनि भनिरहेकै छौं । 

तपाईले भनेजस्तो कुनै नेगेटिभ नेटवर्थ र इपीएस भएका कम्पनीको मूल्यमा बढोत्तरी देखियो भने त्यसपछाडि कुनै कारण हुनसक्छन् । जस्तो कतिपयको पछिल्लो प्रदर्शन राम्रो भएको हुनसक्छ, थोरै क्यापिटल भएर त्यो संस्थामा आफ्नो स्वामित्व बढाउने सोंच राख्ने लगानीकर्ताका कारण पनि मूल्य बढिरहेको हुनसक्छ । तर सबै लगानीकर्ता एकैठाउँमा हामफाल्नु चाहिँ घातक हुन्छ । बुझेर मात्र लगानी गर्नुहोस् । आफ्नो लगानीको सही प्रतिफल कहाँबाट आउँछ भनेर हिसाबकिताब गर्नुपर्छ । पूँजीबजार भनेकै जोखिमपूर्ण लगानीको क्षेत्र हो । जहाँ जोखिम छ, त्यहाँको रिटर्न पनि राम्रो हुन्छ । बैंकको ब्याजभन्दा कुनै सेक्टर वा कम्पनीको सेयरमा लगानी गर्दा मैले बढी प्रतिफल पाउँछु भन्ने निश्कर्षसहित लगानी गर्नुपर्छ । कुरा सबैको सुन्ने गर्नुहोस्, दिमाग चाहिँ आफ्नै लगाउने गर्नुभयो भने जोखिम हुन्न ।

 

अर्को कुरा मैले बजारमा पनि सुन्छु, मलाई नै कतिपयले सोध्नुहुन्छ । यो कम्पनीको सेयरको मूल्य यति धेरै किन पुगेको हो ? पुग्नै नहुने । कुनै पनि सेयरको मूल्य यति नै हुनुपर्छ भन्ने कुनै वैज्ञानिक आधार छ त ? छैन नि । हाम्रै देशमा युनिलिभरको मूल्य ४० हजार पुगेको होइन र ? त्यहाँ लगानी गर्नेले पनि त प्रतिफल पाएकै छन् नि । कतिपय कम्पनीको वर्षौसम्म साधारणसभा पनि भएको छैन, तर पनि त्यस्ता संस्थाहरुको अहिले पनि सेयरमूल्य १५–२० हजार छ । यस्तो विषयमा लगानीकर्ताले आफैंले सुक्ष्म अध्ययन गर्ने हो । हामीले यसमा लगानी गर्नुहोस्, यसमा नगर्नुस् भन्न मिल्दैन । 

मैले हेर्दा त नेपालको पूँजीबजारको भविष्य अत्यन्त राम्रो छ । किनभने अहिले हरेक सूचीकृत कम्पनीको कोभिड कहरकै बीचमा राम्रो प्रदर्शन देखिएको छ । सन्तोषजनक वित्तीय विवरण आइरहेका छन् । कम्पनीमा पारदर्शिता बढेको छ । अहिले लगानीकर्ताले अर्काले भनेको आधारमा किनबेच पनि गर्दैनन् । आफ्नो सदिच्छाले रियलटाइममा खरीदबिक्री गर्ने प्लेटफर्म पाउनुभएको छ । कतिपय कम्पनीको सेयरमा कसैले भनेको आधारमा मात्र लगानी गरिन्छ भने डूब्न सकिन्छ, यस्तोमा लगानीकर्ता सचेत हुनुपर्छ । 

बुलिस बजारमा थापिने बुल ट्रयापबाट चाहिँ लगानीकर्ता कसरी बच्ने ?
हाम्रो देशमा मात्र होइन, विश्वका सबै देशको बजारमा बुल ट्रयापको पासो थापिन्छ । सेयर बजार भनेको सूचनाकै आधारमा चल्ने बजार हो । सूचीकृत कम्पनीको विवरण त्रैमासिक रुपमा आएका हुन्छन्, त्यो पनि हेर्नुपर्छ । त्यो संस्थाको व्यवस्थापन, संचालक समिति कस्तो छ ? व्यवसायको अवस्था के छ ? अन्तराष्ट्रिय स्तरमा त्यस्ता व्यवसाय कसरी चलेका छन् ? वासलात कस्तो छ ? यी विषयमा ध्यान दिनुपर्छ । निरन्तर रुपमा प्रदर्शन राम्रो गरेको संस्थामा लगानी गर्दा डूबिन्न । 

केही दिनअघि राष्ट्रबैंकले सर्कुलर जारी गरी बैंक तथा वित्तीय संस्थालाई दीर्घकालीन सेयर लगानीका लागि प्रोत्साहन गर्यो । माइक्रोफाइनान्सको सेयर खरीदमा अंकुश लगायो । तर, त्यसको ठूलो प्रभाव बजारमा परेन । हिजो बजेट आयो, दीर्घकालीन र अल्पकालीन लगानीकर्ताका लागि अलग अलग पूँजीगत लाभकर तोकियो । यो व्यवस्थाको नकारात्मक प्रभाव पनि देखिएन । लगानीकर्ताको मनोबल निकै बलियो बनेको रहेछ ?
-राष्ट्रबैंकले सर्कुलरमार्फत गरेको व्यवस्थाबाट सेयर बजार हच्किने कुनै कारण नै थिएन । बजारको दीगो विकासका लागि सहयोग हुने नीति आउँदा सबै उत्साहित नै देखिए । हिजो बजेट आयो, यसले पनि सकारात्मक सन्देश नै दियो । दीर्घकालीन र अल्पकालीन लगानीकर्ता छुट्याउनुपर्छ भन्ने माग सम्बोधन भयो । लाभकरमा अल्पकालीन लगानीकर्ताका लागि ५० प्रतिशत बढाइयो । तर पनि यो कर तिर्ने भनेको नाफाबाट त हो नि । नाफा गर्नुहुन्छ भने राज्यलाई कर तिर्न के समस्या ? तर, यत्तिले मात्र पुग्दैन । अब नाफा हुँदा तिर्ने मात्र होइन, नोक्सान हुँदा समायोजन गर्न पाउनुपर्छ भन्ने कुरा हो । यो माग पनि सम्बोधन हुनुपर्छ । यो भयो भने पूँजीबजारको माहौल अझ सकारात्मक बन्दै जान्छ । 

अर्को कुरा म्युचुअल फण्डहरुलाई लगाउँदै आएको कर पनि हट्यो । यसरी हेर्दा बजेटले पूँजीबजारका लगानीकर्ताको मनोबल बढाउने काम गरेको छ । यहीकारण पनि आजको बजारमा सकारात्मक अवस्था देखिएको हो । 

बजारको दायरा बढ्यो, बजार सूचक बढ्यो, कारोबार पनि बढ्यो । तर, करको चाहिँ दायरा बढ्नुपर्नेमा दर बढाउनतिर लागियो भन्ने गुनासाहरु पनि आइरहेका छन् ?
-अब नेपालको पूँजीबजार धेरै ठूलो भइसक्यो । अहिले पूँजीबजार हेर्ने गरी सरकारको एड्भाइजरको रुपमा नेपालमा धितोपत्र बोर्ड रहेको छ । धितोपत्र बोर्ड त छँदैछ, नेपाल सरकारले अर्थमन्त्रालयमै पनि पूँजीबजार मात्रै हेर्ने गरी छुट्टै सेल बनाउनुपर्ने जरुरी देखियो । ताकि चेक एण्ड ब्यालेन्स होस् । तपाई बाहिर हेर्नुहुन्छ भने बदमासी हुने कामहरु नियामक निकायले हेर्दैन, त्यस्तो काम हेर्ने छुट्टै निकाय हुन्छ । जस्तो हामीकहाँ सम्पत्ति शुद्धिकरण छ, अख्तियार छ । त्यसैगरी पूँजीबजार हेर्नका लागि छुट्टै निकाय स्थापना भएको छ र त्यहीअनुसार अन्य देशमा काम भएको छ । हामीमा पनि अब त्यो बेला आएको हो कि ? अब हामीलाई शंका गर्ने, सेबोन र लगानीकर्तालाई शंका गर्नेभन्दा पनि पारदर्शीताका साथ त्यो पनि हेर्ने पूँजीबजारसँग सम्बन्धित छुट्टै युनिट बनाएर अर्थमन्त्रालयमा राख्नुपर्छ । अहिले संस्थान समन्वय महाशाखाले हेर्छ, त्यसको कार्यक्षेत्र अथाह छ, त्यहाँ बस्नेले हेर्न भ्याउने अवस्था छैन । 

केही वर्षदेखि धितोपत्र बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्न थालेको छ । बजारमा अझै सकारात्मक वातावरण बनोस् भन्नका लागि लगानीकर्ताले बजेटमार्फत आशा गरेका, तर सम्बोधन नभएका कुन कुन इस्यू समेटिनुपर्छ ?
-नियामक निकायले नीति तथा कार्यक्रम बनाउँदा बजारका सबै पक्षसँग छलफल गर्नुपर्छ । हाम्रो पूँजीबजार इक्वीटीमा मात्र भर परेको छ । बण्ड तथा डिवेञ्चर कारोबारका लागि प्लेटफर्म तयार भएको एकवर्ष बढी भइसक्यो । यस्ता काम चाँडो हुनुपर्छ । विगतमा डेढ–दुई अर्बको कारोबार हँुदा ५० वटा ब्रोकर थिए । आजको दिनमा २० अर्ब नजिक कारोबार हुन थालिसकेपछि यो संख्याले पुग्छ त ? एक त ब्रोकरको संख्या बढाउनुपर्यो, अर्को संस्थागत रुपमा ब्रोकर लाइसेन्स वितरण गर्नुपर्छ । 

भएकै ब्रोकरहरुको साधनस्रोत र क्षमता पनि बढाउनुपर्छ । यो जरुरी भइसकेको छ । अहिले पनि हाम्रा ब्रोकर साथीहरु कर्पोरेट रुपले अगाडि बढ्न सकेको परिस्थिति छैन । २–४ वटा ठूला संस्था त्यसरी गएका होलान्, नभए अधिकांशको क्षमतामा वृद्धि भएको छैन । अहिले पनि म तपाईलाई दुःखका साथ भन्न चाहन्छु, हामीले सेयर राफसाफ चक्रलाई टी प्लस थ्रीबाट टी प्लस टू बनायौं, तर, यो व्यवस्था राम्रोसँग कार्यान्वयन हुन सकिरहेको छैन । ब्रोकरबाट समयमै सेयर बेचेको पैसा नपाएको लगानीकर्ताको बग्रेल्ती गुनासाहरु छन् । ब्रोकरहरुले पनि कतिपय लगानीकर्ताले समयमै पैसा दिएनन् भनेर गुनासो गर्नुहुन्छ । नियमसंगत समयमै ब्रोकर र लगानीकर्ताले पैसा तिर्नुपर्छ । यो काम त्यतिबेला मात्र संभव हुन्छ, जतिबेला स्वस्थ प्रतिस्पर्धा हुन्छ । हामीले वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको भए आजको दिनमा म ठोकुवाका साथ भन्नसक्छु हाम्रो अनलाइन सिस्टममा यत्रो समस्या पनि देखिने थिएन, लगानीकर्ताले पनि ‘टिएमएस घुमिरहन्छ काम गरेन’ भन्नु पर्ने थिएन । र, कारोबार पनि अहिलेको भन्दा बढ्थ्यो । 

तपाईलाई म एउटा उदाहरण दिन्छु हामीले अनलाइन ल्याउँदा ब्रोकर साथीहरुलाई आ–आफ्नो हार्डवेयर राखेर एक/एकजना मान्छे आइटीको मान्छे राख्नुस् भन्यौं । मिडियावाजी गरियो । ‘नेप्सेले जबरजस्ती हामीलाई खर्च गराउन खोज्यो’ भनियो ।  व्यक्तिगत रुपमा साउद आफैंले हार्डवेयर बेच्न खोज्यो भन्ने जस्तो कुराहरु पनि आए । त्यो बुझाईको कमीले भएको थियो । यसकारण संस्थागत रुपमा ब्रोकर कम्पनी आउने हो भने पूँजीबजारको दायरा फराकिलो हुन्छ र वास्तविक रुपमा लगानीकर्ताले सुविधा पनि पाउँछन् । 

अर्को, डेरिभेटिभ प्रडक्टहरुका लागि पनि गृहकार्य भइरहेको छ । यी चिजहरु पनि धितोपत्र बोर्डको नीति तथा कार्यक्रममा राख्नुपर्छ । इन्ट्रा डे कारोबार, अक्सनका कुरा, लेण्डिङ र बरोइङका कुराहरु ल्याउनुपर्छ । 

यस्तै, संस्थागत लगानीकर्ताको विकास गर्नुपर्छ, चाहे त्यो स्वदेशी होस् वा विदेशी होस् । तर यसरी संस्थागत लगानीकर्ता बजारमा आउनका लागि हाम्रा कतिपय नीतिहरु बाधक छन् । जस्तो अहिलेको अवस्थामा व्यक्तिगत लगानीकर्ताले लाभकर ५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ, तर संस्थागतले भने २५ प्रतिशत तिर्नुपर्ने नीति छ । अनि संस्थागत लगानीकर्ताको कसरी विकास हुन्छ ? विदेशी संस्थागत लगानीकर्ता नेपालमा नाफा खोज्दै आउने हो, डोनेसन दिन त आउँदैन । नेपालीलाई ५ र ७.५ प्रतशित ट्याक्स भयो, अनि विदेशीलाई चाहि २५ प्रतिशत तिराउने व्यवस्था भएपछि कसरी आउँछ ? तसर्थ यस्ता विषयलाई पनि पोलिसीगत रुपमा धितोपत्र बोर्डले नीति तथा कार्यक्रममा राख्नुपर्छ । त्यसमा कतिपय काम राष्ट्रबैंकले, कतिपय काम सरकारले गरिदिनुपर्ने हुनसक्छ । प्लेटफर्ममा हामीले सकेसम्म सुधार गर्नुपर्छ । धितोपत्र बोर्डले पोलिसीगत रुपमा कंक्रिट कार्यक्रम ल्याउनुपर्यो । राष्ट्रबैकले माइक्रो लेभलमा नहेरी जसरी म्याक्रो लेभलमा हेरेर पोलिसी ल्याउँछ, धितोपत्र बोर्डले पनि त्यसैगरी नीति तथा कार्यक्रम ल्याउनुपर्छ । 

र, अर्को कुरा । अनलाइन नेप्सेल ल्यायो । यसमा धितोपत्र बोर्डले जहिल्यै पनि अब्जेक्सन गर्यो । हामीले ‘यो ठीक छ’ भन्ने उहाँहरुले जहिल्यै ‘ठीक छैन’ भन्ने । यो द्वन्द्व राम्रो भएन । स्टक एक्सचेञ्जले प्रयोग गर्ने सिस्टम कस्तो हुनुपर्छ ? हामीलाई पोलिसी चाहियो । उहाँहरुले ‘यो गर, ऊ गर’ भन्ने होइन । पूरा पोलिसी चाहियो । र, एउटा ब्रोकर कम्पनीले लगानीकर्तालाई सबै किसिमको सुविधा दिनका लागि कस्तो सिस्टम उहाँहरुले राख्नुपर्ने हो, त्यो पोलिसीमा आउनुपर्यो। यो भएन, ऊ भएन भनेर मात्र त भएन नि ?

कतिपय कुरामा हामीबीच द्वन्द्व देखिएको छ । उहाँहरु पनि बजार राम्रो होस् भन्ने चाहनुहुन्छ, हाम्रो चाहना पनि त्यही हो । दुवै पक्ष सकारात्मक हुँदाहुँदै पनि पोलिसीको कमीले हामीबीच कहिलेकाही द्वन्द्व हुन्छ । संभव हुने कुरा मात्र पोलिसीमा राख्नुहोस् । टी प्लस टू कै व्यवस्थापन धौ धौ परिरहेको छ, फेरि रियलटाइम कारोबारको कुरा चर्चामा ल्याइएको छ । रियलटाइम कारोबार दुनियाँमा कही हुन्छ ? लगानीकर्तालाई नचाहिने आश्वासन दिनुहुन्न । नहुने चिज हुन्छ भन्नुहुँदैन । अहिले टी प्लस टू नै ठीक छ । पूँजीबजारमा रियलटाइम कारोबार संभव छैन, बण्ड र डिवेञ्चरमा मात्र हुने हो । कुनै नीति ल्याउँदा हामीले हाम्रो भौगोलिक अवस्था पनि हेर्नुपर्छ । हाम्रा कतिपय क्षेत्रहरुबाट बैंक र ब्रोकर शाखासम्म आउन २–४ दिन नै हिडँ्नुपर्ने अवस्था छ । सबै ठाउँमा इन्टरनेटको सुविधा पनि छैन । तसर्थ नीति बनाउँदा भद्रगोल किसिमले काम गर्नुहुन्न ।

यस्तै, पोलिसीमा राखिएका कुराको सही कार्यान्वयन पनि हुनुपर्छ । जस्तो आइटीसँग सम्बन्धित विज्ञहरुलाई बोर्डले पनि हायर गर्नुपर्छ । हामीसँग द्वन्द्व हुने एउटा कारण अहिले यो पनि हो । नेप्सेका आइटीका कर्मचारी निकै दक्ष छन्, तर बोर्डमा आइटी कर्मचारी त्यति दक्ष छैनन् । धितोपत्र बोर्डले दक्ष जनशक्ति हायर गर्नसक्नुपर्छ । 

कारोबार र बजार बढिरहँदा बीचमा नेप्सेभित्रै आन्तरिक रुपमा ब्रोकरलेस कारोबार प्रणाली थालनीको विषय पनि छलफल भएको थियो । यसको पछिल्लो अपडेट र यो प्रणालीको सान्दर्भिकताको विषयमा तपाईको धारणा के हो ?
-ब्रोकरको संख्या नथप्ने हो, लगानीकर्ताले यस्तै किसिमको दुःख पाइरहने हो भने अब त्यो प्रणालीमा जानुपर्छ । प्लेटफर्म प्रोभाइडर हामी हौं । तर, हामीसँग धेरै अधिकार छैन । विदेशमा ब्रोकरहरुलाई चलाउने काम स्टक एक्सचेञ्जले गर्छ, तर हाम्रो देशमा उल्टो छ, सबै धितोपत्र बोर्डले गर्छ । ऐननियमको पनि कमीकमजोरी होला । मैले अर्थमन्त्रालयमा युनिट चाहियो भनेको पनि यही कारणले हो । बोर्डले बनाएको नीति ठीक भयो कि बेठीक भयो भनेर चेक गर्ने कसले ? पछिल्लो दिनमा नेप्से र सिडिएससीबीच सीएनएस कमिसनको विषयमा द्वन्द्व सिर्जना भयो । ब्रोकरको काम गरेपछि कमिसन पनि त्यतैबाट लिनुपर्यो नि । काम ब्रोकरको गर्ने अनि कमिसन चाहि नेप्सेले तिर्छ ? दुनियाँमा यस्तो कहीँ हुन्छ ? 

संस्थागत रुपमा ब्रोकरको संख्या बढाउने हो भने ठीक छ, नभए लगानीकर्ताले सधैंभरि गुनासो गर्ने अवस्था मात्र रहिरहने हो भने हामी ब्रोकरलेसमा जानुपर्छ । केही समय लाग्ला, त्यसका लागि हामी छुट्टै युनिट बनाउँछौ । ब्रोकरले जसरी काम गरेका छन्, त्यसैगरी यहाँ हामी जनशक्ति पनि थप्छौं । सर्भिस कन्ट्रयाक्टमा ल्याएर भए पनि काम गराउँछौं र लगानीकर्तालाई सुविधा दिन्छौं । लगानीकर्ताले अहिले ब्रोकरलाई जति कमिसन तिरिरहेका छन्, धेरै बच्छ । हामी सरकारी संस्था हो, नाफा मात्र हेर्दैनौं, सर्भिस ठूलो कुरा हो । अहिले पनि नेप्से चलेको कसको कमाईले हो ? लगानीकर्ताको पैसाले होइन ? सेबोनलाई सरकारले पैसा दिएको छ र ? होइन नि, ऊ चलेको पनि लगानीकर्ताकै पैसाले हो । त्यसकारण लगानीकर्तालाई सही ढंगले सेवा दिनका लागि ब्रोकरलेस कारोबारमा जान हामी तयार छौं । त्यसका लागि पोलिसी आउनुपर्छ । सरकार र बोर्डले पनि सहयोग गर्नुपर्छ । 

ब्रोकर साथीहरुले पछिल्लो समय नेप्सेलाई बाइपास गरिरहेको मैले अनुभूति गरिरहेको छु । नेप्सेलाई पन्छाउँदै सेबोनमा मात्र लविङ गरेर काम हुन्छ कि भन्ने उहाँहरुको सोंच देखियो । टिएमएसमा त्यही आयो । टिएमएस नेप्सेले दिने हो । यो भनेको त टोटल सिस्टम हो नि । नट्सदेखि लिएर सबै कुरा जोडिने चिज हो, धितोपत्र बोर्डले ‘यो गर’ भने पनि भोलि पारदर्शी भएन भने हामी कहाँ गर्छौ ? हामी दिंदैनौं नि । ब्रोकर साथीहरुले धितोपत्र बोर्डले नियम बनाइदियो भने नेप्सेलाई त पेलेरै भए पनि काम गराउँछौं भन्ने सोंच राख्नुभएको देखियो । दुनियाँमा कहीँ हुन्छ यस्तो ? यो पनि त सरकारी संस्था हो नि । अहिले ५० वटा ब्रोकरले कारोबार गराउँदा त कार्टेलिङ भयो भन्ने बजारमा हल्ला छ । भोलि भएभरको कारोबार, टिएमएस उहाँहरुलाई जिम्मा लगाएर र कम्पनी पनि उहाँकै मात्र हुने हो भने हामीसँग त पावर नै हुन्न नि । अहिले ब्रोकरले गर्न खोजेको पनि त्यही हो । यो त कुनै पनि हालतमा हुँदै हुँदैन । धितोपत्र बोर्डले पनि यसलाई हलुका रुपमा नबुझोस् । अर्थ मन्त्रालयले त मलाई ‘यो काम हेर्नु, तलमाथि पर्यो भने तपाईलाई पनि ठीक हुँदैन’ भनेर प्रष्ट भनिसकेको छ। यस्ता चिजहरुमा बोर्डले पोलिसी बनाउने हो, त्यसको कार्यान्वयन गर्ने काम हाम्रो हो । नियामक निकायले जे भन्यो त्यो गर्नुपर्छ भन्ने पनि छैन । हामी पनि दोश्रो बजार संचालन गर्ने सरकारी संस्था हौं, त्यो अपरेट कसरी गर्ने हो पोलिसी बनाउनुहोस्, हामी गर्छौ । तर अपरेट गर्ने काम पनि उहाँहरुले गर्नुहुन्छ भने किन चाहियो स्टक एक्सचेञ्ज ? बोर्डमै एउटा डिपार्टमेन्ट खोलेर नेप्सेको काम जिम्मा दिए भैगो नि ।

यसर्थ हामीले सबै पक्षको सुझाव लिएर पोलिसी बनायौं भने बोर्डको पनि इमेज रहन्छ र हाम्रो पनि । सरकारले पनि भनेजस्तो काम हुन्छ । भोलि भएभरको पावर प्राइभेट सेक्टरमा गयो भने सरकारले ‘यो कन्ट्रोल गर’ भन्दा हामीले सक्छौं ? संभव नै हुँदैन । 

लगानीकर्ताले खोजेका कतिपय सुधारका माग धितोपत्र बोर्डको नीति तथा कार्यक्रममार्फत सम्बोधन भए भने बजारको भविष्य कस्तो होला ?
-धितोपत्र बोर्डलाई तताउनका लागि आज धेरै कुरा गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो । उहाँहरुले पनि धेरै कुरा सिक्न जरुरी छ । उहाँहरुले पोलिसीमा समन्वय गरेर जानुपर्छ । पोलिसी एउटा बनिसकेपछि त्यो कंक्रिट हुनुपर्छ । हाम्रो धितोपत्र बोर्डले पोलिसी कसरी बनाउने भनेर राष्ट्रबैंकबाट सिक्नुपर्छ । 

यस्तै, बजारमा सूचीकृत कम्पनीमध्ये जुनको नियामक निकाय छैन, ती कम्पनीको सुपरीवेक्षणको काम धितोपत्र बोर्डले गर्नुपर्छ । नेप्से हेर्ने, ब्रोकर हेर्ने, यो काम छैन । हामी त स्वनियमनमा चलेका संस्था हौं । नियामक निकाय पनि हौं । 

जस्तो विदेशतिर आइपीओ, एफपीओ निश्कासन गर्नुपर्यो भने स्टक एक्सचेञ्जको सिफारिसमा नियामक निकायले स्वीकृत गर्ने हो  । हाम्रोमा सोझै बोर्डले दिन्छ । दियोस्, कुनै समस्या छैन । तर, जुन जुन कम्पनीले आइपीओ जारी गर्नुअघि विवरणपत्र सार्वजनिक गरेर आगामी केही आर्थिक वर्षको अनुमानित आम्दानी खर्च, प्रदर्शन प्रक्षेपण गरेका हुन्छन्,  त्यो पूरा गरेको छ कि छैन, छैन भने उसलाई प्रश्न गर्ने काम कस्को ? धितोपत्र बोर्डको होइन र ? विदेशमा उसले प्रक्षेपण गरेको भन्दा प्रदर्शनमा २० प्रतिशत तलमाथि पर्यो भने त्यहाँको संचालक समितिलाई कारबाही हुने व्यवस्था छ । यस्तो काम पनि बोर्डले हेर्न थाल्नुपर्छ । यत्ति काम हेरिदिने हो भने नेपालको पूँजीबजारको भविष्य सुनौलो छ । 

अहिले बैंकिङ प्रणालीमा तरलता फालाफाल छ । आर्थिक वर्ष सकिनै लागेको छ । सरकारको खर्च पनि बढेको छ, यसले प्रणालीमा फेरि तरलता थपिन्छ । यसले ब्याजदर अझै घट्नसक्छ । यी सबै परिदृश्य हेर्दा निकट भविष्यमा बजार कता पुग्ला ? तपाईको कुनै प्रक्षेपण  ?
-ठ्याक्कै प्रक्षेपण गर्न त सकिन्न । तर केही समयअघि तपाईकै मिडियामार्फत मैले भनेको थिएँ, अबको अवस्थामा २० देखि २५ अर्बको दैनिक कारोबार सामान्य र स्वभाविक मान्नुपर्छ । तर, यसका लागि लगानीकर्ताको झञ्झट कम गर्दै जानुपर्छ । राजनीतिक वातावरणले पनि भूमिका खेल्छ । पछिल्लो समय जब बजार इन्भेष्टरको हातमा आयो नि, लगानीकर्ताको मनोबल धेरै माथि छ । असारसम्मै बजारको परिदृश्य असाध्यै राम्रो देख्छु । तर, लगानीकर्ताले आफ्नो क्षमताअनुसार गर्ने हो । अरुले भनेको आधारमा गर्ने होइन । केही समय थेग्नसक्ने क्षमता पनि मेन्टेन गर्नुपर्छ । फेरि बजार करेक्सन हुन्छ, त्यसपछि सकारात्मक हिसाबले जान्छ । इण्डेक्स घट्यो वा बढ्यो भन्ने कुरामा धेरै वास्ता गर्नुहुन्न । आफूले गरेको लगानीले प्रतिफल दिएको छ कि छैन, त्यो मात्र हेरे काफी हुन्छ।