काठमाण्डौ । नेपाल राष्ट्रबैंकका एक पूर्व गभर्नरले नेप्से परिसूचक ७०० भन्दा माथि पुग्नु नै अस्वभाविक भएको भन्दै सुन्निएको बजारमा उचालिएर लगानी गर्नेहरुले आत्महत्या गर्नुपर्ने अवस्था आउनसक्ने दाबी गरेका छन् । 

केन्द्रीय बैंकका पूर्व गभर्नर तथा विश्लेषक दीपेन्द्रबहादुर क्षेत्रीले यस्तो दाबी गरेका हुन् । 

‘अहिलेको बजार भनेको निश्चित ठूला खेलाडीहरुले सानालाई लुट्न सुनियोजित ढंगले सिर्जना गरेको ट्रयाप मात्र हो ।’ क्षेत्रीले बिजशालासँग भने–‘अरिंगालले टोकेर सुन्निएको जिउ जस्तो मात्र हो अहिलेको बजार । हेर्दै जानुहोला यो बजारले धेरैलाई डूबाउनेछ ।’ 

उनले नेपालको सेयर बजारमा सहभागी कम्पनीहरुको अवस्था हेर्दा नेप्से परिसूचक ७०० सम्म पुग्नु मात्र स्वभाविक देखिने पटक–पटक दाबी गरे । ‘एकपटक त घटेर ५०० सम्म पनि पुगेको थियो, अहिले त बढाइएर ३२०० पुगेको छ ।’ उनले भने–‘यता अर्थतन्त्र सुस्त छ, उत्पादन सुस्ताएको छ, रोजगारीको अवस्था शून्यप्राय छ । अनि बजार चाहिँ कसरी ३२०० पुग्छ ? यो पूर्ण नमिल्दो र अस्वभाविक देखिन्छ ।’ 

उनले बजार बढ्दै गएका कारण धेरै साना लगानीकर्ता पनि आएका र उनीहरुलाई निश्चित ठूलाले लुटिरहेका दाबी समेत गरे ।

‘बैंकहरुले पनि लगानीका विकल्प कम भएपछि सेयर धितो कर्जामा लगानी बढाउँदै गएका छन् । बजार निरन्तर घट्न थालेपछि उनीहरु मार्जिन कलमा जानैपर्छ, त्यसबेला लगानीकर्ताको अवस्था के होला ?’ प्रश्न गर्दै उनले थपे–‘जब बैंकहरुले ऋण चुक्ता गर्नुस् भन्दै मार्जिन कलको दवाब बढाउन थाल्छन्, त्यसपछि कतिपयले आत्महत्या गर्छन् । किनभने उनीहरु आफ्नो पूँजीमा आधारित भएर लगानी गरिरहेका छैनन् । यस्तो बजारबाट फाइदा कसले लिन्छ ? दुईचारजना ठालूले मात्र हो ।’ 

पूर्व गभर्नर क्षेत्रीले तिनै ठालूले राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको मार्जिन कर्जासम्बन्धी व्यवस्थाको तीव्र विरोध गरिरहेका दाबी समेत गरे । सेयर बजारमा लगानीका गर्नेका लागि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र पूरा वित्तीय प्रणालीबाट १२ करोडको सीमा पर्याप्त रहेको उनको तर्क छ । ‘आफ्नो पूँजी नफसाइकन सेयर धितोमा राखेर अर्ब लिन पाइएन भन्नेहरुको मात्र गुनासो हो यो । उनीहरुका गुनासाले अर्थतन्त्रमा कुनै फरक नै पार्दैन ।’ क्षेत्रीले भने–‘त्यसकारण राष्ट्रबैंकले ४ र १२ करोडको सीमा सम्बन्धी व्यवस्था कुनै पनि हालतमा संसोधन गर्नु हुँदैन ।’ 

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्था, बीमा र केही हाइड्रो क्षेत्रका कम्पनीको मात्र बोलवाला रहेको, तर रियल सेक्टर र उत्पादनशील क्षेत्रका कम्पनीहरु अत्यन्त न्यून रहेकोले अहिलेको बजारको बढाई अस्वभाविक रहेको उनले बताए । ‘सेयर बजारले उत्पादनलाई बढाउदैन । न रोजगारी सिर्जना गर्छ, न त आयात प्रतिस्थापन नै ।’ क्षेत्रीले भने–‘दुःखको कुरा के भने देश बेच्न पाइँन भनेर हाम्रा नेताहरुले चित्त दुखाएजस्तो सेयर बजारमा हामीले खेलेर बेपत्तासँग सानातिना भूरे माछाहरुलाई लुट्न पाइएन भनेर ठूलाले अरण्यरोदन गरेको भन्दा अहिलेको अवस्था केही पनि फरक लाग्दैन मलाई ।’ 

नेप्सेको बढोत्तरी अस्वभाविक भने पनि पछिल्लो समय यसको दायरा भने फराकिलो हुँदै गएको भने उनले स्वीकार गरे । ‘म अस्ती पोखराको एउटा फोटो स्टूडियोमा सानो कामका लागि गएको थिएँ, आधाघण्टा समय लगाइदियो ।’ उनले थपे–‘सेयर बजार उतारचढाव भइरहेको छ है भनेर उसले मलाई कुराइदियो ।’

उनले पोखराकै एक रिटेलरले वर्षौदेखिको आफ्नो पेशा छाडेर सेयर बजारमा लागेको र ६० लाख लगानी गरेर २ करोड कमाएको कुरा पनि आफूले सुनेको बताए । ‘केही निश्चितले मात्र कमाएका छन्, बाँकी सबै मूर्गा मात्र भएका हुन् ।’ उनले थपे–‘अहिले हाइड्रोपावरहरुको मूल्य वेपत्तैसँग बढाइएको छ । म सुन्दैछु, हाइड्रोका प्रोमोटरहरुले जति लगानी गरेका थिए पहिला, त्यो निकालेर अहिले आफू चोखो भएर बसेका छन् रे । उनीहरुले पनि सोझालाई नै भिडाए सेयर ।’ 

उनले भारतीय लगानीको युनिलिभर र एउटा सिमेन्टबाहेक रियल सेक्टरका कम्पनीको नेप्सेमा न्यून सहभागिता रहेको र त्यस्ता कम्पनी नआएसम्म बजार सही ढंगले अगाडि बढ्न नसक्ने दाबी गरे । ‘अहिले त कामै नलाग्ने कम्पनीको प्रमोटरहरु ट्रयाप थापेर बसेका छन्, सोझा र साना लगानीकर्ता त्यस्तै कम्पनीमा लगानी गर्दै बसिरहेका छन् ।’–उनले भने । 

सेयर बजारमा लगानीकर्ता आफ्नो क्षमता पनि हेर्नुपर्नेमा उनको जोड छ । ‘बाढी आएको बेलामा मान्छेहरु यत्तिकोसम्म त तर्न सक्छु होला भनेर गए, खुट्टा चिप्लिएर बग्यो भने त्यसको लाश खोज्नलाई ७ दिन लाग्छ ।’उनले भने–‘हाम्रो अहिलेको सेयर बजारको अवस्था योभन्दा फरक नै होइन ।’ 

उनले विनोद चौधरी, पशुपति मुरारका, ज्योति ग्रुप जस्ता टाइकुनहरुका उत्पादनशील उद्योगहरु बजारमा सूचीकरण हुने अवस्था नआएसम्म नेपालको सेयर बजार भरपर्दो नहुने समेत तर्क पेश गरे ।