कोरोना कहरका कारण जारी बन्दाबन्दीले उद्योगधन्दा सबै ठप्प छन् । त्यति मात्रै हैन मुलुकको अर्थतन्त्र नै तहसनहस भएको छ । ६ महिना लामो बन्दाबन्दी खुले पनि अर्थतन्त्र पूर्ण रुपमा चलायमान भइसकेको छैन । सरकारले मापदण्ड तोकेर होटल तथा उद्योगहरू सञ्चालनको अनुमति दिए पनि अवस्था सहज नहुँदा पूर्ण क्षमतामा व्यापार र उत्पादन हुने अवस्था बन्न सकेको छैन । धराशायी अर्थतन्त्रलाई कसरी उठाउन सकिन्छ र कोरोना कहर नहटिसकेको अवस्थामा अबको आवश्यकता के हुनसक्ला ? यिनै बिषयमा केन्द्रीत रही बिजशाला सुदूरपश्चिम प्रतिनिधि जीवन बिष्टले कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरसँग संक्षित कुराकानी गरेका छन्:

बन्दाबन्दी खुलेपछिको उद्योग व्यवसायको अवस्था कस्तो छ ?
करिब ६ महिना लामो बन्दाबन्दीपछि व्यवसाय सञ्चालन गर्न दिइए पनि देशभरिको उद्योगी, व्यवसायी सबैभन्दा बढी मर्कामा परेका छन् । अझै पनि व्यवसायले लय समात्न सकेको छैन । होटेल र यातायात व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ, तर यी क्षेत्रलाई लक्षित गरी राज्यले कुनै पनि राहातको कार्यक्रम ल्याएको छैन । व्यवसायीले अझै पनि ढुक्कले व्यापार गर्न सकिरहेका छैनन् । होटेल क्षेत्रमा त करिब ४५ हजार बढीले रोजगारी नै गुमाएका छैनन् । ६० प्रतिशत उद्योग अझै खुल्न सकेका छैनन् । अहिले व्यापारव्यवसायमा लगानी लगाउँदा भोलिका दिनमा फेरी बन्दाबन्दी हुँदा लगानी डुब्ने चिन्ताले व्यवसायीहरू हच्किएका छन् । कोरोना संक्रमण बढ्दो क्रममै छ । बजारमा व्यापार शून्य हुँदा उद्योगी व्यवसायी चिन्तित छन् । 

सरकारले राहत नदिएको गुनासो गर्नुभयो । सरकारले के गर्नुपथ्र्यो ?
विगतदेखि नै सम्बन्धित निकायमा जुन व्यवसाय मर्कामा परेको छ, अति प्रभावित व्यवसायीहरूका लागि घरभाडा, बिजुली, बैंङ्कको ब्याज छुट गर्नु पर्यो र अन्य राहत पनि उपलब्ध गराउन भनी माग गरेका थियौं । तर यसमा अहिलेसम्म केही सुनुवाइ भएको छैन । यसमा नचलेको व्यवसायको लागि मात्र भनेर नेपाल राष्ट्र बैङ्कले २ प्रतिशत ब्याज मात्र छुट गरेको छ । सरकारी स्तरबाट अन्य कुनै सहयोग भएको छैन । व्यवसाय ठप्प हुँदा कयौँ व्यवसायी पेशाबाट पलायन भएका छन् । साना, मझौला, ठूला व्यवसायी सबैलाई राज्य भएको अनुभूत हुनुपर्छ, राहातको आवश्यकता छ । तर राज्य स्तरबाट निजी क्षेत्रमा केही पनि सहयोग भएको छैन । बरु व्यवसायीहरुले उल्टै राज्यलाई सहयोग गर्नु परिरहेको अवस्था छ । हामीले निजी क्षेत्रबाट केही दिनअघि भारतबाट आएकाहरूलाई सिमानामा उचित व्यवस्थापन गर्यौं । कोरोना परीक्षणका लागि सरकारलाई आर्थिक रूपमा सहयोग पनि गर्यौं । तर राज्यले हामीलाई सहयोग गरेको छैन । राज्यले हेर्नुपर्ने कुरा केही पनि हेरेको छैन । म यहाँबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । 

कैलालीमा ब्यवसायीहरुको नेतृत्व गरिरहनुभएको छ । उहाँहरूको समस्या समाधानका लागि के गरिरहनु भएको छ ?
हामीले व्यवसायीका समस्यालाई लिएर निरन्तर सरकारको ध्यानाकर्षण गराइरहेको छौं । कोरोना कहरका बीच भएको बन्दाबन्दीका कारण व्यवसायमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्यौं । र, उहाँहरूले बेहोर्नु परेको समस्या समाधानका लागि जिल्ला प्रशासन, स्थानीय सरकार, प्रदेश सरकारसँग पहल गरेका छौ । सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न चरणमा मागहरू राखेका छौं । तर  सुनुवाइ भएको छैन ।  तर अझै पनि हामीले राज्यलाई झकझक्याउने काम छाडेका छैनौं । 

हामीले सरकारलाई कर, घर भाडा, खानेपानी, बिजुलीलगायतका चिज बस्तुमा छुट र अतिप्रभावित व्यवसायमा केही राहत दिन माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण पनि गराइरहेका छौं । 

कोरोना संक्रमण बढ्दो क्रममै छ । यहीबेला बजार र व्यवसायहरू सञ्चालनमा आएका छन् । व्यवसायीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाइरहेका छन् ?
६ महिना लामो बन्दाबन्दीपछि बल्ल व्यवसायहरू सञ्चालनमा आएका छन् । हामीले नै अब व्यवसाय सञ्चालन हुनुपर्छ भनेर माग गरेका थियौ ।  र सरकारले पनि स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । 

त्यसैअनुसार हामीले कर्मचारी र ग्राहक दुबैलाई अनिवार्य मास्क, अनिवार्य स्यानिटाइजरको प्रयोग गराइरहेका छौं । स्वास्थ्य सतर्कतालाई ख्याल गरेर अहिले हामीले कमभन्दा कम कर्मचारी र त्यसमा पनि आलोपालो अवधारणाबाट सेवा दिइरहेका छौ । 

ग्राहकहरूबीच पनि सामाजिक दूरी कायम गराइरहेका छौ । तर के गर्ने हामीले मापदण्ड पूरा गरेरै व्यवसाय सञ्चालन गरे पनि ग्राहक आएका छैनन् । 

बढ्दो संक्रमितको संख्यासँगै कतिपयले फेरि बन्दाबन्दी गर्नुपर्छ पनि भनिरहेका छन् । तपाईहरुको धारणा के हो ?
अब फेरी बन्दाबन्दी भए मुलुक नै तहस–नहस हुन्छ । व्यवसायीहरू उठ्नै सक्दैनन् । जसोत्यसो धानिरहेका व्यवसायीहरू पलायन हुन्छन् । रोजगारीका स्रोत खोसिन्छन् । ६ महिनाको बन्दाबन्दीले त होटेल क्षेत्रमा मात्रै ४५ हजार बढीले रोजगारी गुमाएका थिए । अब त लाखौले रोजगारी गुमाउँछन् । अब बन्द भयो भने कामदारको काम मात्र जाँदैन, उनीहरुलाई काम दिने रोजगारदाता नै टाट पल्टिएर आफैं बेरोजगार हुन्छन् । 

लामो बन्दाबन्दी पछि उद्योग र होटेल खुले पनि हाल सम्म माथि उठ्न सकिरहेका छैनन् । यस्तो बेलामा फेरी बन्द भए व्यवसाय सबै सधैँका लागि बन्द गर्नुपर्ने स्थिति आउनसक्छ । हामीले बन्द गर्नुहुँदैन भनेका छौ । अबको विकल्प बन्द पनि होइन  । अहिलेको समयमा कोरोना संक्रमणबाट बचेर व्यवसायहरूलाई सञ्चालन गर्नुपर्छ । विगतमा हामीले बन्दाबन्दी गरेर के पायौं ? त्यस कारण कोरोना व्यवस्थापनको उपाय बन्दाबन्दी होइन । स्वास्थ्य सतर्कता बढाएर कोरोनासँग लड्दै दैनिकीलाई सहज बनाउँदै लैजानुपर्छ ।