काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। 

निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ। चेम्बरले नियमनकारी निकाय राष्ट्र बैंकसमक्ष हाल कायम स्प्रेड दर एवं बैंकहरुका आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ। चेम्बरले राष्ट्र बैंकलाई विभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो। 

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ। निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग–व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तीय असन्तुलनको जोखिम बढाउँछ।’

कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्र्दभिक सेवा शुल्कलाई हटाउनसमेत चेम्बरले माग गरेको छ। यस्तै उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नका लागि एकल दरको ब्याज कायम गर्नसमेत चेम्बरले आग्रह गरेको छ।

बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरी विगतका वर्षहरुमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था गर्न पनि चेम्बरले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ।

यस्तै चेम्बरले परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा प्रवाह गरिएको कर्जामा निश्चित अवधिसम्म स्थिर ब्याजदर कायम गर्न पनि माग गरेको छ। निक्षेप लिएर कर्जा प्रवाह गर्दा सोही महिनामा ब्याजदर वृद्धि नगरी ३ महिनापछि मात्रै कायम गर्ने व्यवस्थालाई यथावत राख्ने व्यवस्था मिलाउन पनि चेम्बरले राष्ट्र बैंकसँग माग गरेको छ।

उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पुँजीगत खर्च समयमै गर्नसमेत आग्रह गरेको छ।