काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छाड्ने उद्देश्यले नै नेकपा उपाध्यक्ष बामदेव गौतमको नाम अगाडि सारेका सो पक्षले दाबी गरेको छ । 

ओलीका विश्वासपात्र तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक टेलिभिजन अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन् । 

उनका अनुसार गौतमलाई प्रधानमन्त्री बनाउनैका लागि आज बस्न लागेको सचिवालय बैठकमा स्पष्ट खाका तथा समयतालिका पेश गर्ने ओलीको तयारी छ । 

ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने विषयमा आश्वस्त बनाई आफ्नो कुर्सी गिराउन भइरहेका प्रयासहरुलाई निस्तेज पार्ने तयारी गरेका छन् । 
यसअघि बसेको सचिवालय बैठकले आवश्यक तयारी गरी आजको मितिमा बैठक तोक्नुलाई समेत सोही विषयसँग जोडेर हेरिएको छ । 

‘ओली पक्षले आवश्यक तयारी गर्ने भनिएको मतलब बामदेवलाई कसरी प्रधानमन्त्री बनाउने भन्ने विषयको खाका कोर्ने र टुंगोमा पुग्ने भन्ने थियो ।’ स्रोतले भनेको छ–‘अहिलेसम्मको अवस्था अनुसार ओली पक्षले बामदेव गौतमलाई मंसिरसम्म प्रधानमन्त्री बनाइसक्ने खाका प्रस्तुत गर्नेछ । यसका लागि आजको बैठकमा ओलीले बामदेवकै रोजाईमा निर्वाचन क्षेत्रको समेत टुंगो लगाउने र त्यहाँ उपनिर्वाचन गरी बामदेवलाई प्रतिनिधिसभामा ल्याउने विषयमा ठोस निर्णय हुनसक्छ।’

सत्तारुढ नेकपाका उपाध्यक्ष समेत रहेका बामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा मनोनीत भई संविधान संसोधन गरेर प्रधानमन्त्री हुन समेत खोजेका थिए । तर, त्यसको सर्वत्र विरोध भएको थियो । जनमत नै नभएको नेतालाई संविधान संसोधन गरेर प्रधानमन्त्री बनाउँदा गलत अभ्यासको थालनी हुने भन्दै यस्तो बाटोबाट अगाडि नबढ्न आफ्ना निकटकाले सल्लाह दिएपछि बामदेव समेत जनमत प्राप्त गरेरै प्रधानमन्त्री बन्न लालायित छन् । 

ओली पक्षबाट ठोस प्रस्ताव नै आउने बुझेकै कारण यो बीचमा बामदेवले समेत प्रधानमन्त्री बन्नसक्ने कानूनी बाटाहरु तथा सहज क्षेत्रहरुको विषयमा आफू निकटका कानून व्यवसायी, राजनीतिज्ञ तथा नेताहरुसँग छलफल गरेका छन् । 

बामदेवले आफूले रोज्नै परे कास्की वा पाल्पाका कुनै क्षेत्र रोज्नसक्ने स्रोत दाबी गर्छ । ‘तर, उहाँलाई कास्कीभन्दा पाल्पाबाट चुनाव लड्दा जोखिम कम हुन्छ ।’ गौतम निकट स्रोतले भनेको छ–‘आजको सचिवालयले गौतमलाई प्रधानमन्त्री बनाउने र जनमत प्राप्तिका लागि निर्वाचन लडाउने विषयमा ठोस निर्णय गर्ने हामीले बुझेका छौ ।’ 

बामदेवलाई प्रधानमन्त्री बनाउनका लागि ठोस प्रस्ताव ल्याउन नसकेको खण्डमा प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्नेछन् । यसकारण समेत उनले यो पटक बामदेवको विषयमा स्पष्ट खाका प्रस्तुत गर्नुपर्नेछ । 

बामदेव गौतम भने यसअघि पनि आफूलाई ५ पटक धोका भएको भन्दै उधारोमा सहमति नगर्ने अडानमा छन् । उनले ठोस प्रस्ताव आएमा मात्र ओलीलाई साथ दिने बुझिएको छ । 

ओलीले आगामी मंसिरसम्ममा बामदेवलाई चुनाव लडाएर जिताई सरकारको नेतृत्व जिम्मा लगाउने सोंच बनाएका स्रोतहरु दाबी गर्छन् । 

पछिल्लो समय सरकारले २ वटा अध्यादेश जारी गरेपछि नेकपामा बढेको विवाद चरम उत्कर्षमा पुगेको छ । यसकारण समेत आजको सचिवालय बैठकलाई निकै महत्वका साथ हेरिएको छ । बामदेवलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि बाँकी विषयमा समेत सहमति निकाल्नुपर्ने जटिलता भने कायम नै छ । 

वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्ड समूह पनि ओलीलाई यो पटक त्यत्तिकै छाड्ने पक्षमा छैन । यो समूहले स्थायी कमिटी बैठक तत्काल बोलाउन र त्यहाँ जे निर्णय हुन्छ, त्यसको सामना गर्न भनिरहेको छ । तर, ओली स्थायी कमिटी बैठकअघि पार्टीका विभिन्न नेता तथा खेमामा उठेको उनीप्रतिको आक्रोश कम गर्न चाहन्छन् । यही उद्देश्यले बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेश्रो अध्यक्ष बनाउने यसअघिको सचिवालयमा उनले प्रस्ताव गरेका थिए । 

गौतम प्रधानमन्त्री बन्न तयार देखिए पनि माधव नेपाल चाहि पार्टीको तेश्रो अध्यक्ष बन्न तयार छैनन् । नेपाललाई ओलीले सहमतिको कस्तो अस्त्र फ्याक्छन् भन्ने कुरा आजको सचिवालय बैठकपछि मात्र थाहा हुने देखिन्छ । 

सचिवालयका केही नेता चाहि यदि ओलीले इमानदारीपूर्वक बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका हुन् भने उनले तत्काल राजीनामा दिनुपने बताउँछन् । उनीहरुको भनाई छ–‘ओलीले राजीनामा दिएर बामदेवलाई वरिष्ठ उपप्रधानमन्त्री बनाउने र ६ महिनाभित्र कतै चुनाव गरी बामदेवलाई जिताएपछि उनी कन्फर्म प्रधानमन्त्री बन्नेछन् ।’