काठमाण्डौ । सेयर बजार। भनिन्छ, यो बजारमा पैसाको बाढी आउँछ। यो बाढी कोही तर्न सक्छन् त कोही डुब्छन्। लोभलाग्दो देखिने यो बजारको वास्तविक बुझ्न निकै गहिराइमा जानैपर्छ र यसलाई बुझ्न सायद वर्षौं लाग्न सक्छ। 

त्यसैले सेयर बजारका पुराना र दिग्गज लगानीकर्ताहरुको सल्लाह निकै महत्वपूर्ण मानिन्छ। यही कारण दिग्गजहरुको रायसल्लाह सदैव सुन्नुपर्छ अनि अनुशरण गर्नुपर्छ। 

आज हामी यहाँ भारतीय बजारका दिग्गज लगानीकर्ता जो बिग बुलको नामबाट प्रख्यात छन्, उनका केही टिप्स् प्रस्तुत गर्दैछौँ। उनी राकेश झुनझुनवाला। सेयर बजारमा हुने कमाइबारे उनको टिप्स् अपनाएर लाखौँ मानिस अहिले करोडपति बनेका छन्। 

झुनझुनवालाले सेयरबाट करोडौँ कमाइ गरिसकेका छन्। उनी प्रायः आफ्नो पोर्टफोलियोमा सिजन र सेन्टिमेन्ट्सका साथ बदलाव गरिरहन्छन्। उनको बदलावका बारेमा भारतीय बजारमा निकै अनुशरण गरिन्छ।

नेपालको सेयर बजारमा पनि झन्डै ४ वर्षपछि बुल रन सुरु भएको मानिन थालिएको छ। यो अवस्थामा सही सल्लाह र सुझाव अनि अध्ययनबाट सेयर बजारमा मनग्य आम्दानी गर्न सकिन्छ। यतिबेला यदि तपाइँ सेयर कारोबार गर्न चाहनुहुन्छ अनि पैसा कमाउन चाहनुहुन्छ भने यी दिग्गज भारतीय लगानीकर्ता राकेश झुनझुनवालाका टिप्स् तपाइँ सही मार्गदर्शन गर्न सक्छन् भन्ने हामीलाई लागेको छ। 

आउनुहोस् राकेश झुनझुनवालाका सेयर बजारबाट पैसा कमाउन प्रस्तुत गरेका ६ वटा मन्त्रहरुका विषयमा जानौँ। 

पहिलो मन्त्र : लामो अवधिका लागि लगानी गर्नुहोस्

राकेश झुनझुनवालाको नजर सधैँ लामो अवधिको लगानी हुने गरेको छ। उनी सुरुआती लगानी गर्नेहरुलाई प्रायः लामो समयका लागि लगानी गर्न सुझाव दिन्छन्। उनको विचारमा छोटो अवधिका लागि गरिने लगानीबाट प्राप्त हुने प्रतिफलभन्दा कैयौँ गुणा बढी लामो अवधिको लगानीबाट हुन्छ। उनी भन्छन्, ‘बजारमा पैसालाई परिपक्व हुन समय दिनुपर्छ। त्यसैले थोरै पर्खनुपर्छ। भविष्यमा प्रतिफल अवश्य राम्रै हुन्छ।’

दोस्रो मन्त्र : मूल्य होइन कम्पनीको भ्याल्यू हेर्नुहोस्

राकेश झुनझुनवालाका अनुसार कुनै पनि कम्पनीको सेयरमूल्यले होइन कि त्यो कम्पनीको भ्याल्यू हेरेरमात्र लगानी गर्ने कि नगर्ने तय गर्नुपर्छ। प्रायः मानिसहरु धेरै सेयरमूल्य भएका कम्पनीमा लगानी गर्छन्। तर झुनझुनवालाको नजरमा कम्पनीका १ वर्षदेखि ५ वर्षसम्मको प्रदर्शन हेरेरमात्र लगानी गर्नुपर्छ। यदि कम्पनीको आउटलुक राम्रो छ भने सेयर बजारमा हुने उतारचढावका बाबजुद पनि तपाइँले राम्रो प्रतिफल पाउनुहुनेछ।

तेस्रो मन्त्र : अरुलाई हेरेर पैसा सेयरमा नलगाउनुहोस्

सेयर बजारमा गरिने लगानी बैंकहरुमा जस्तै सधैँ सुरक्षित हुँदैन। सेयर बजारमा राम्रो प्रतिफल त पाइन्छ तर जोखिम पनि धेरै हुन्छ। त्यसैले कुनै पनि कम्पनीका बारेमा पहिले राम्ररी अध्ययन गर्नुपर्छ। अनिमात्र लगानी गर्नुपर्छ। अरुले लगानी गरिरहेकै सेयरमा आफूले पैसा खन्याउनुपर्छ पर्छ भन्ने मान्यता राख्नु गलत हुने झुनझुनवालाको तर्क छ। अरुले उक्त सेयरबाट हुने नोक्सानी व्यहोर्न समक्ष होलान् तर तपाइँ नहुन पनि सक्नुहुन्छ।

चौथो मन्त्र : क्यास सरप्लस हेर्नुहोस्

सेयर बजारमा कुनै कम्पनीले राम्रो प्रदर्शन गरिरहेको छ भने त्यो कम्पनीले पक्कै पनि राम्रो प्रतिफल दिन्छ भन्ने हुँदैन। त्यसैले लगानी गर्नुअघि उक्त कम्पनीको ब्याकग्राउन्ड जाँच गर्नुपर्छ र पत्ता लगाउनुस् कि त्यो कम्पनीले कति लाभांश दिइरहेको छ। लाभांशले पनि सेयर बजारमा निकै महत्व राख्छ। यदि कम्पनीले लामो समयदेखि नियमित रुपमा लाभांश दिइरहेको छ भने यसको मतलब हुन्छ कि त्यो कम्पनीसँग क्यासको कुनै कमी छैन। क्यास सरप्लस भएको कम्पनी प्रायः राम्रो प्रदर्शन गरिरहेका हुन्छन्।

पाँचौँ मन्त्र : एकैपटक ठूलो धनराशि लगानी नगर्नुहोस्

तपाइँसँग लगानी गर्न ठूलो धनराशि होला तर यो आवश्यक छैन कि सबै पैसा एकैपटक लगानी गर्नुपर्छ। राम्रो प्रतिफल प्राप्त गर्न चाहनुहुन्छ भने थोरै थोरै लगानी गर्दै जानुपर्छ। यसो गर्दा तपाइँले राम्रै प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ। सेयरहरुमा थोरै थोरै लगानी गर्दै जानुहो। यदि सेयरमा गिरावट आउँछ भने किन्न थाल्नुहोस्। यसले तपाइँको किन्ने क्षमता बढाउँछ र पछि राम्रो प्रतिफल दिन्छ।

छैटौँ मन्त्र : कम्पनीहरुको कर्जामा पनि ध्यान दिनुहोस्

सेयर बजारमा अर्को महत्वपूर्ण पाटो भनेको कुनै पनि कम्पनीमा लगानी लगाउनुअघि त्यसको कति कर्जा भन्ने जान्नु पनि हो। यदि कुनै कम्पनीको कर्जा कम छ भने त्यो कम्पनीमा क्यासको दबाब हुँदैन। तर यदि कर्जा धेरै छ भने त्यो कम्पनीको भ्याल्यूएसनमा उतारचढाव आउन सक्छ। त्यसैले लगानी गर्नुअघि पहिले कम्पनीहरुका कर्जाका बारेमा समीक्षा गर्नु अतिआवश्यक हुन्छ।