काठमाण्डौ । दोश्रो बजारको विकास र बिस्तारमा नेप्सेको अनलाइन कारोबार प्रणाली प्रभावकारी बन्दै गएको देखिएको छ । 

दैनिकजसो नयाँ कीर्तिमान कायम भएको बजारको तथ्याङ्कले यस्तो देखाएको हो ।

बुधबार नेप्सेमा ४ अर्ब १५ करोडको ऐतिहासिक कारोबारको कीर्तिमान कायम भएको दिनमा समेत अनलाइनबाट सेयर कारोबार गर्नेहरुको संख्या उल्लेख्य देखिएको हो । यो दिन भएको कुल कारोबारमध्ये करिब ३८ प्रतिशत कारोबार अनलाइनबाट मात्रै भएको छ । जुन केही दिनअघि ३३ प्रतिशतमा मात्र सीमित थियो । यसले समेत बुलिस बजारमा दैनिकजसो अनलाइन प्रणालीबाट कारोबार गर्नेहरुको संख्या वृद्धि हुँदै गएको देखाएको छ । यसको अर्थ दोश्रो बजारमा आम लगानीकर्ताहरुमा कारोबार सहज पहुँच र आफैंले कारोबार गर्नसक्ने सहज व्यवस्था हुने हो भने आगामी दिनमा बजारले अझै ठूलो फड्को मार्ने देखिएको छ । 

बुधबार ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको कुल कारोबार भएकोमा अनलाइनबाट मात्र १ अर्ब ५७ करोड ८० लाख ९१ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

यो दिन कुल १५ हजार ९५४ लगानीकर्ताले सक्रियतापूर्वक सेयर कारोबार गरे । जसमध्ये अनलाइनबाट मात्रै ३ हजार ५५४ जनाले कारोबार गरे । कारोबारी संख्याका आधारमा समेत अनलाइन प्रयोग गर्नेको संख्या बढिरहेको देखिएको छ । 

यो दिन  १ लाख ४० हजार ८२० वटा अर्डर प्लेस भएकामा अनलाइनबाट मात्रै ५० हजार ९१३ अर्डर प्लेसमेन्ट भएको छ । 

कुल ९९ लख ६ हजार ९८९ कित्ता सेयर कारोबार भएकोमा अनलाइनबाट मात्रै ३९ लाख ९८ हजार ६६३ कित्ता कारोबार भएको छ । 

पछिल्लो तथ्यांकअनुसार नेप्सेको अनलाइन कारोबार प्रणालीको यूजर नेम र पासवर्ड २२ हजार १६९ लगानीकर्ताले लिइसकेका छन् ।