काठमाण्डौ । प्रदेश नं. २ का प्रदेश प्रमुख डा राजेश अहिराजले बैंकिङ सेवा विस्तार गरी जनताको घरदैलोसम्म पहुँच पुर्याउन जोड दिएका छन्। 

प्रदेश प्रमुखको कार्यालयामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाललगायत अन्य पदाधिकारीको उपस्थितिमा आर्थिक तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित विविध विषयमा भएको अन्तक्र्रियामा प्रमुख प्रमुख अहिराजले यस्तो जोड दिएका हुन्। ‘बैंकमा खोलिने खाता, खाता नभई जनतासँगको नाता हो’, उनले भने, ‘यसलाई बलियो बनाउने, खासगरी आर्थिक रुपमा विपन्नलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य बैंकिङ सेवाका माध्यमबाट नाता सुदृढ गर्ने र गाउँ टोलसम्म बैंकिङ सेवा विस्तार गर्नुपर्छ।’ 

क्षेत्रगत रुपमा आआफ्नो संस्थागत सामाजिक उत्तरदायित्व र अन्य लगानीको माध्यमबाट प्रदेशका साथै देशको विकासमा थप टेवा पु््याई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा यस क्षेत्रको योगदान अभिवृद्धि गरिनुपर्ने अहिराजको भनाइ थियो। ‘वैदेशिक रोजगारमा गई विप्रेषण भित्र्याउनु लज्जाको विषय भएकोले विदेशिने र प्रतिभा पलायनको समस्यालाई मध्यनजर गरी बैंकहरुले रोजगारजन्य पक्षमा जोड दिनुपर्छ’, उनले भने, ‘यसतर्फ बैंकिङ समुदायको ध्यानाकर्षण हुनुपर्छ।’

कृषि क्षेत्रमा स्रोतको अभावलाई पूर्ति गरी किसानलाई खेतीमा सहयोग गर्नुपर्ने भन्दै प्रदेश प्रमुख अहिराजले सरोकारवालाहरुसंग नीतिगत समन्वय गरी बैंकिङ क्षेत्रसँग सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता पनि गरे। 

कार्यक्रममा गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले जनताको पुँजीको जिम्मेवारी लिएकोले यसलाई जनताको हितमा अधिकतम उपयोग गर्ने कर्तव्य भएको विचार राखे। उनले आर्थिक रुपमा विपन्न तर काम गर्न सक्षम र उपयुक्त योजना–प्रस्तावसहित ऋणको अपेक्षा गर्ने जोकोहीलाई पनि निरुत्साहित नगर्ने र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने प्रतिबद्धता गर्दै प्रदेश नं २ मा विकासको सम्भावना प्रचूर रहेको विचार व्यक्त गरे। 

नेपाल बैंकर्स संघका अध्यक्ष दाहालले बैंकिङ क्षेत्रले विगतका कमीकमजोरी हटाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।