-प्रा.डा. मनोहरकृष्ण श्रेष्ठ

केमा व्यस्त हुनुहुन्छ हिजोआज ?
२०६७ सालमा त्रि.वि.बाट सन्यास लिइसकेपछि अहिले फ्रीलान्सरको रुपमा बढी व्यस्त छु । योसँगै  सेयर लगानीकर्ता अनि नेपाली पूँजी बजारको शुभचिन्तकका रुपमा समेत व्यस्त छु ।

निकट भविष्यमा आउन लागेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको बिषयमा तपाईको धारणा के हो ?
यो प्रणाली सेयर बजारमा एउटा यो कोशेढुंगाको रुपमा रहने छ । नीति, कार्यक्रमहरु राम्रै बनिरहेकाले बजार राम्रै हुने आशा राखौं । यसबाट समयको बचत, ठूला लगानीकर्ता र साना लगानीकर्ता सबैलाई फाइदाजनक हुन्छ । बजारमा म्यानुपुलेसनको सम्भावना कम हुनसक्छ ।

अहिलेको सेयरबजारलाई चाहि कसरी हेरिरहनु भएको छ ?
सेयरबजारमा एउटा चक्र हुन्छ । पहिलेको अव्यवस्थित सेयर बजारमा मैले लेखेका किताबमा उल्लेखित केही कुराहरु भर्खर पूरा हुँदैछन् । नेप्से निजीकरण तत्काल हुनुपर्छ । नेप्सेको उच्च कार्यकारी पदमा गैरव्यवसायिक व्यक्तिको पद बहालीबाट खासै केही आशा गर्न सकिंदैन । सेबोन(धितोपत्र बोर्ड) एउटा सरकारी निकाय हो, जसले सरकारलाई सल्लाह दिने काम गर्नुपर्छ न कि नेप्सेलाई अवरोध गर्ने । लगानीकर्ताबाट सेबोनले उठाएको रकम मुनासिब पनि देखिन्न । सरकार पनि सेयरबजारलाई सुविधासम्पन्न बनाउनुपर्ने ठाउँमा करका नाममा आँखा गाड्ने काम गरिरहेको छ । रेगुलटर त भायोलेटर नै बनेको छ । 

कतिपय न्यूज हाल्ने नेप्सेको वेबसाइटमा अनि उ आफैं लगानीकर्तालाई लत्याउँदै अनाउन्स मिसलिडिङ भइरहेकोमा म एकदमै चिन्तित छु । 

यस्तै, पहिला हकप्रद सेयर दामासाही रुपमा बाँडिने गरेकामा अहिले अक्सनमार्फत हकप्रद सेयर बेच्ने जुन परिपाटी बस्यो, यो सरासर गलत बाटो हो ।

पछिल्लो अवस्थामा सेयर बजार बढ्नका कारणहरु के हुनसक्छन् ?
बिदेशमा क्रिसमस चाडमा इण्डेक्स बढे जस्तै यहाँ पनि सिजनल असर परेकाले बजारमा बढोत्तरी आएको हो । चाडबाडमा लगानीकर्ताहरु तरलता चाहने गर्छन् ।

डिजिटाइज बजारका चुनौतिहरु के के छन् ?
यो त एकदमै शुभसंकेत हो सेयर बजारका लागि । यद्यपि नेप्सेको रिस्टक्चरिङ(पुनरसंरचना) अत्यावश्यक पनि छ । ब्यूरोक्र्याटिक मेन्टालिटिबाट माथि उठ्नु चाहि ठूलो चुनौति देख्छु म । नेप्सेका अधिकारीहरुमा पनि रिस्टक्चरिङ गरिनुपर्छ । 

डिजिटल युगले मार्केट कसरी ड्राइभ होला ?
इफिसियन्सी बढेसँगै भोल्यूम र कारोबारमा वृद्धि हुनेछ । सजिलैसँग खरिदबिक्रीको सहज अवस्था लगानीकर्ताले पाउनेछन् । मार्केट स्वतः बुस्ट हुनेछ । तर, यतिले मात्र पुग्दैन, सिस्टममा बसेकाहरुको व्यवहारमा पनि परिवर्तन ल्याउन जरुरी छ र यससँगै व्यवसायिक व्यक्तिहरुको प्रवेश सुनिश्चित गर्न टड्कारो आवश्यक छ ।

नेपालको सेयर बजारमा लामो समयदेखि इन्साइडर ट्रेडिङको धन्दा चलिरहेको छ । डिजिटाइज बजारमा इन्साइडर ट्रेडिङ रोकिएला त ?
इन्साइडर ट्रेडिङ भनेकै प्राइभेट इन्फरमेसन हो । समयमा नै बित्तीय डिस्क्लोज नहुनु र गाइडलाइनको अभावले नै भनौं, हामी हरेक चीजमा चिप्लिएका छौं । नेपाली सेयर बजारका लागि धितोपत्र बोर्ड र नेप्सेका केही जिम्मेवारी अधिकारीहरु शत्रु हुन्, उनीहरु बजारमा कमिसन एजेण्टको रुपमा काम गरिरहेका छन् ।(मनोहरले नामै किटेका व्यक्तिको नाम उनले लगाएको आरोप प्रमाणित गर्ने प्रमाण नहुँदा पत्रकारिताको मर्यादा र केही सीमाका कारण हामीले यहाँ हाल्न सकेनौ।)  

बोर्ड र नेप्सेमा गैरव्यवसायिक व्यक्तिहरुलाई राजनीतिक नियुक्ति दिइनु पनि निन्दयी हो । उनीहरुसँग कुनै भिजन नै छैन । सोच्ने टाउको सानो छ, तर भूँडी ठूलो छ । कुनै स्वार्थी समूहले आयोजना गरेका पार्टीका नाममा बोलाएर व्हीस्की इन इनफरमेसन आउट हुने गरेको तथ्य हामीबाट टाढा छैन ।

इन्साइडर ट्रेडिङमा दोष कसको छ ? सुधार कसरी गर्न सकिएला ?
इन्साइडर ट्रेडिङमा आन्तरिक व्यवस्थापन, नियामकहरु नै मुख्य दोषी हुन् । नेप्सेसँग अनलाइनको पूर्वाधार नै छैन । सर्वप्रथम त नेप्सेले प्रविधि नै अपडेट गर्नुपर्छ । अन्तर्राष्ट्रिय टेष्टेड अभ्यास हुन जरुरी छ । डेट एक्सपायर्ड मेसिनका सट्टा अत्याधुनिक प्रविधिमा ध्यान दिन आवश्यक छ । पैसा लगानीकर्ताबाट नेप्से र सेबोनले नै खाने, तर सुविधा र फ्यासिलेट गर्ने विषयमा चाहिँ सिन्को नभाँच्ने, यस्तो त भएन नि । तसर्थ यस्ता निकायमा राम्रो तलबसुविधा दिई शर्तानुसार पूँजीबजारको विषयमा खट्ने व्यक्तिहरुको प्रवेशले मात्र सेयर बजारको विकास र विस्तार हुन्छ ।

ओली सरकारका गतिविधिलाई कसरी नियाल्नुहुन्छ ? सरकारको आर्थिक समृद्धिको सपना पूरा होला ? 
ड्रिमल्याण्डको सपना जहाँसम्म छ, यो त केबल इमाजनरी फिलोसफी(काल्पनिक दर्शन) मात्र हो । म त के भन्छु भने प्रधानमन्त्रीकै आचरण सुरुमा सफा हुनपर्यो । स्वास्थ्य उपचार, विदेश सयरजस्ता खर्च राज्यको ढुकुटीबाट गरेर समृद्धिको सपना कहाँ पूरा हुन्छ र ? त्याग कुन चराको नाम जस्तो छ यहाँ । मुख कम्युनिष्ट, तर दिमागमा पूँजीबादका तरंगहरु छन् । यो पाराले त कसरी बन्छ समतामुलक देश ? अनि कसरी सुखी बन्न सक्छन् नेपालीहरु ? वास्तवमा यहाँ थ्योरी अफ सोर्स फोर्स इज इक्वल टू रिसोर्सको अवस्था छ । सोचौं त, यसरी पनि कहीँ समृद्ध नेपाल बन्ला ? ट्याग ब्याग नभएको मानिस वा स्वतन्त्र मानिस बाट मात्र आर्थिक समृद्धिको सपना पूरा गर्न सकिन्छ ।

प्रस्तुती: भक्तराज रसाइली