– भक्तराज रसाइली

काठमाण्डौ । नेपालमा वार्षिक ५ लाखको हाराहारीमा नयाँ जनशक्ति थपिन्छन् । नयाँ जनशक्तिहरु स्वदेशमा नै केही नौलो उद्यम वा व्यवसाय गर्न भने लाज मानेकै कारण बेरोजगारी भई बसेका हामीले देख्दै आएका छौं।

पूँजी र वातावरणको अभाव भन्दै मुलुकभित्र युवाहरु पसिना चुहाउनुभन्दा विदेश जान गर्विलो छाती बनाउने तर स्वदेशमा सानोतिना कामको थालनी नगर्दा मसल ड्रेन भइरहेको सत्यताबाट हामी बाहिर छैनौँ । गर्न सक्ने मान्छेलाई र लाज नमानीकन गर्ने आँट हो भने नेपालमा जहीँतहीँ पैसा फलाउन सकिने गतिलो उदाहरण बनेका छन्, एक युवा उद्यमी बिवश काफ्ले ।

काफ्लेले नौलो कन्सेप्ट र कटिबद्ध मेहनतकै कारण व्यावसायिक सफलता मिल्ने विश्वास राख्छन् । नेपाली चलचित्र ‘पशुपतिप्रसाद’ बाट प्रभावित भएका र स्वदेशमा नै केही नौलो काम गरी फलोअर बढाउन चाहने अनि व्यावसायिक वातावरण बनाउन सहजीकरण गर्न कम्मर कसेर लागेका एक जोशिला युवा हुन्, काफ्ले ।

काठमाण्डौको मैतीदेवी बस्दै आएका काफ्ले झापा भद्रपुर पोखरेल टोलका स्थायी बासिन्दा हुन् । २६ वर्षीय हँसिला र जोशिला काफ्लेले ‘भक्का हाउस’ पुरानो बानेश्वरमा, ‘मटिया हाउस’ देवीनगर बानेश्वरमा र ‘बेम्बो बिरयानी’ रातोपुलमा सञ्चालन गर्दै आएका छन् ।

काफ्ले परिवार सरकारी जागिरेको पृष्ठभूमि र आफन्तहरु भने बैंकिङ क्षेत्रमा छन् । उनलाई पनि सरकारी जागिर नै खानुपर्ने पारिवारिक दबाब भने थियो। तर उनले भने एनजीओ वा पुलिसफोर्समा जागिर खाने सपना बुनेका थिए।

वि.सं.२०६८ सालमा अध्ययनकै सिलसिलामा राजधानी काठमाण्डौ आएका काफ्ले सीए कोर्ष पढ्न भारतको नयाँदिल्ली हानिए । सीए पढ्न खासै मन नलागेपछि उनी फेरि जन्मघर झापा नै फर्के । अनि खुरुखुरु स्नातक पढेर पुलिसफोर्समा भर्ना हुने सपना पालेका काफ्लेलाई बैंक तथा जागिरमा धेरै समय दिनुपर्दा रुचि जगाउन सकेन ।

आफ्नै मामाघर लोकन्थलीमा बस्दै आएका काफ्ले विश्वज्योति हलमा वित्त तथा प्रशासन फाँटमा रहेर करिब ९ महिनाजति १५ हजार तलबमा काम गरे। जागिरमा खासै रुचि नभएपछि दिनरात पढेर इन्स्पेक्टर बन्न उनी बानेश्वरको एउटा होस्टलमा बस्न थाले । यही क्रमसँगै काफ्ले भूकम्प प्रविधि राष्ट्र समाज (एनसेड) मा जागिर खान ठोक्किए । एनजीओमा जागिर खाने मन गरेका काफ्लेले दोलखाको मालुु कार्यक्षेत्र रहँदा प्रोफेसन, बिजनेस, कार्यालय, संगठन, मानव संसाधनलगायत थुप्रै व्यावहारिक ज्ञान हासिल गर्ने मौका पाए ।

होस्टलमा नै बसेर मीनभवन क्याम्पसमा अध्ययनसमेत बढाइरहेका उनलाई ‘पशुपतिप्रसाद’ फिल्ममा जस्तै ठेला व्यवसाय गर्ने मुड चल्छ । यो मुड ल्याउन उनकै रुम पार्टनर किशोर शर्माको हात रहेछ । ‘कामको सम्मान गरौँ’ भन्ने थिमलाई बोकेर राम्रो ठेलामा बिजनेस गर्ने सोच उनको मनमा जाग्यो । त्यो जगाइले उनलाई चैन भएन र पुतलीसडकको एक कम्पनीमा डेलिभर ब्वाईका रुपमा काम गर्र्दै आएका सोही होस्टलमा सँगै बस्दै आइरहेका अर्का भाइसँग मिलेर ठेलामा खीर बेच्ने निधो गरे ।

बजार बुझ्न जरुरी थियो अनि काफ्ले पुगे सल्लाह माग्न पुरानो बानेश्वरमा रहेका मामालाई भेट्न । मामाले भक्का बेच्न सुझाएको उनी विगत सम्झन्छन् । भक्का बनाउन न उनलाई आउँथ्यो न त भाइ सुजन लामालाई नै । अनि काफ्लेको घर झापा भद्रपुरमा भक्का बनाउन सिक्नका लागि टिकट काटेरै लामालाई पठाए । लामाले २–३ दिन भक्का बनाउन सिकेर पनि आए र एकदिन काफ्लेकी सानिमाको घर ग्रिनहिल सिटीमा भक्का बनाएर खुवाउने भन्दै प्रयास गरे तर भाँडालगायत अन्य कारण उनको सपना पूरा हुन सकेन।

अन्ततः काफ्ले आफैं भक्का बनाउन झापा पुगे । माई (राजवंशी थरकी आन्टीहरुलाई सम्मानपूर्वक बोलाउने नाम) सँग उनले भटाभट सिक्न थाले । त्यतिबेला काफ्ले २३ वर्षका थिए र एनसेडको भैंसेपाटीमा जागिर पनि गर्दै थिए ।

भक्का बनाउने सीप सिकेर आएपछि व्यवसाय थालनी गर्ने भन्दै कोठा खोज्न निस्के । घरबेटीहरुले उनको भक्का हाउस नचल्ने दाबी गर्दै उनलाई कोठा दिन अस्वीकार गरे तर काफ्ले जागिरे भएकाले व्यवसाय नचलेमा तलबबाट तिर्ने भन्दै बल्लतल्ल घरबेटीलाई कन्भिन्स गरे । अनि खुल्यो बानेश्वरबाट मैतीदेवी जाने मोडमा व्यावसायिक भक्का हाउस ।

२०७४ साल चैत १० गतेबाट व्यवसाय थालेको भन्दै काफ्लेले भक्का हाउस अगाडि टालिएको एउटा पुरानो पर्चा देखाए । उसो त होस्टलमा बिहानको खाजास्वरुप फ्रीमा भक्का बनाएर काफ्ले बाँडुदथे । १ महिनासम्म फ्रीमा खुवाएका काफ्लेले रिभ्यूका लागि १ बोरा चामलको भक्का महिनाभर खुवाएको विगत कोट्याए ।

भक्का हाउस थालनी गर्नु थियो तर काफ्लेसँग पूँजी अभाव थियो । ‘परिवार पनि हुनेखाने नै छन् तर पनि म जिरोबाट कहाँ पुग्छु भनेर मैले बाबाबाट पछि फिर्ता गर्ने सर्तमा ५० हजार रुपैयाँ सापट लिएँ’, काफ्ले भन्छन्, ‘सानीमाहरुबाट २ लाख, साथीभाइबाट १ लाख र मसँग भएको जोरजाम गरेर ६ लाखबाट भक्का हाउस उभ्याएँ ।’

चैत गर्मी महिना हो । भक्का भने जाडो महिनामा मात्र चल्ने व्यवसाय हो । तर सोचेभन्दा ठूलो छलाङ मार्यो भक्का हाउसले । प्लेन, स्विट, चकलेट, छोयला भक्काका परिकार । भक्का प्रतिगोटा ४० देखि ६० रुपैयाँसम्म बिक्री गर्दछन् । ग्राहकले भक्का खाइसकेपछि प्रतिक्रियाहरु एउटा सानो चिटमा रेस्टुरेन्टकै एक भित्तापट्टि टाँस्न पाउने रोचक चलन पनि रहेछ ।

भक्का हाउसमा दुईजनालाई रोजगारीसमेत दिलाएका काफ्ले चाँडै स्यान्डविच र बर्गर भक्काको स्वादसमेत पस्कने बताउँछन् । तराई क्षेत्रका सडक किनारामा प्रतिगोटा ५ रुपैयाँ पाउने भक्कालाई रेस्टुरेन्टको रुप दिई भक्का खाजालाई पनि व्यावसायीककरण गर्दै नेपालको पहिलो भक्का हाउस भएको काफ्ले दाबीसमेत गर्छन् ।

२०७५ साल मंसिरमा काफ्लेले एनसेडमा ६० हजार तलबको जागिरलाई बिदाइ गर्दै भक्का हाउसमै लागिपरे । उसो त काठमाण्डौवासीले भक्का खानकै लागि प्लेनबाट मगाउने गरेको थाहा पाएका काफ्लेले गर्मीमा समेत भक्का क्रेजलाई एकाएक श्वात्तै बढाउन सफल बने ।

सुरुमा दैनिक १८ हजार रुपैयाँसम्मको भक्का बेच्न काफ्लेलाई भ्याइनभ्याइ हुन्थ्यो । हिजोआज पनि दैनिक २० हजार रुपैयाँबराबरको भक्का बेच्न काफ्ले भ्याउँछन् । एउटा सामान्य खाजालाई पनि नयाँ कन्सेप्ट दिएर मालामाल बनेका काफ्लेले अर्को व्यवसायमा पनि हात हाल्न प्रेरित बने ।

काफ्लेकै पसलमा आएका एक ग्राहकले माटोका भाँडामा चिया खान पाए हुुने भन्दै माग गरे । अनि काफ्लेलाई मटिया चिया पनि चल्छ भन्ने लागेछ । मटियाका विषयमा उनलाई त्यति ज्ञान थिएन । अनि रिसर्च गर्नैैका लागि रौतहटको गरुडा पुगेर सिक्न थाले । त्यहाँ पुग्न भने एनसेडमै कार्यरत पूर्वसहकर्मीको हात थियो ।

गरुडाबाट मटियाका आइटम बनाउन सिकेर चिकेन र अस्ट्रिच पकाउने अभ्यासमा काफ्ले लाग्छन् । गमलामा कोइला बालेर ट्रायल गरेर सफल भएपछि सेतोपुल मुन्तिर धोबीघाट करिडोरमा २६ लाखको लगानीमा मटिया हाउस खोल्न पुगे ।

मटिया हाउसमा माटाकै भाँडामा सबै परिकार पकाएर माटाकै भाँडामा सर्भ गरिन्छ । मटिया चिया, मटन तथा चिकेन बिरयानी, अण्डा, खीरका आइटम माटाका भाँडामा ग्राहकहरुलाई दिइन्छ । यो मटिया हाउसमा काफ्लेले ६ जनालाई रोजगारीसमेत दिइरहेका छन् ।

अस्ट्रेलिया र अमेरिका जानेलाई पैसा सहजै दिइने चलन छ तर नेपालमा केही गर्ने मान्छेलाई कसैले केही सहयोग नगर्ने रहेछ भनेर काफ्लेले फेसबुकमा स्टाटस लेख्नेबित्तिकै उनलाई साथीभाइ आफन्तको सहयोग आउन थाल्यो ।

नाताले सानिमाको भान्जा पर्ने दीपेन्द्र तिम्सिनासँग काफ्लेको भेट हुन्छ । तिम्सिना भने सेफ रहेछन् । तिम्सिना र काफ्लेको संयुक्त लगानीमा बेम्बो बिरयानी रातोपुलमा रेस्टुरेन्ट २ महिना अघिमात्र खोले । यो नेपालमै पहिलो बेम्बो बिरयानी रेस्टुरेन्ट भएको काफ्लेको दाबी छ ।

यहाँ लाइभ किचेनको व्यवस्था छ । बाँसमा बिरयानी बनाउने सामग्रीहरु बाँसमै हालेर सालको पातले छोपेर आगोमा सेकेर तयार गरिन्छ । मटन, चिकेन, पनिर बिरयानी र भिन्डालो बिरयानीसमेत तयार गरिन्छ । अनि पाकिसकेपछि टपरीमा सर्भ गर्ने चलन छ ।

बेम्बो बिरयानीमा भने जम्मा ८ लाख लगानी गरेका काफ्लेले लाज नमानेमा नेपालमा प्रचूर सम्भावना रहेको जिकिर गरे ।

काफ्ले दैनिक १८ घण्टा ३ वटा रेस्टुरेन्टमा खट्छन् । यी ३ वटै रेस्टुरेन्टमा मासिक ३ लाख खर्च हुने गरेको बताउँदै हाल ऋण तिरिरहेको काफ्लेको भनाइ छ ।

काफ्ले फ्रेन्चाइजमा लैजान भने तयार छैनन् । उनका अनुसार उनले थालनी गरेको व्यवसाय प्रतिलिपि गरेर अन्यले पनि काम गरुन् भन्ने सोचाइ छ । 

समाजसेवामा समेत रुचि भएका काफ्ले समाजमा बजार खोज गर्न औधी रुचाउँछन् । कामलाई सम्मान गर्ने मूल थिममा रहेर गरे पैसा जति पनि कमाउन सकिने उनको भनाइ छ ।

काफ्लेलाई हामीले शंकरदेव क्याम्पस अगाडि भक्का बेच्दै गरेका देखेका थियौं । काफ्ले भन्छन्, ‘बाटोमा भक्का बेच्न लाज लाग्दैन, मेरा बाआमासमेत मप्रति गर्व गरुन् भन्ने सोच राख्छु ।’

बरु १८ घन्टा काममा खट्दा भने काफ्लेका बाबुआमा उनीसँग थोरै रुष्ट रहेछन् । आखिरमा बाआमाको माया न हो, छोरा धेरै काममा खट्दा दुःख हुन्छ भनेर नै माया बोलेको हुन्छ । उसो त उनको परिवारलाई आर्थिक जोहो गर्नैपर्ने भन्ने बाध्यता पनि रहेनछ तर उनी जिरो लेभलबाट आफू कहाँसम्म पुगिएला भनेर मेहनत गरेको सुनाउँछन् ।

व्यवसायमा कसरी सफल भइने रहेछ भनेर प्रश्न राख्दा काफ्ले भन्छन्, ‘के बिजनेस गरिरहेको छु भन्ने हेक्का राख्दै मेहनत र धैर्यता आवश्यक पर्छ ।’

युवाहरुलाई काफ्ले लाजलाई गोजीमा हालेर काम गर्न सुझाउँछन् । उनी ३ वटा रेस्टुरेन्टका मालिक भए पनि आफैँ पनि सबै काममा हात हाल्न पुग्छन्। काफ्ले आफैंले पनि आवश्यक परे भाडा माँझ्दा रहेछन् । ‘मेहनत गर्न छोडे त व्यवसाय डुबिहाल्छ नि’, उनले बिजशालासँग भने, ‘जिम जानुभन्दा काम गरेर शरीर फिट राख्छु, कमसेकम जिमको पैसा पनि त बचत हुन्छ ।’

हाल युवाहरु अल्छी बन्दै गइरहेकोमा चिन्तित बनेका काफ्ले काम सिकेर मालिक बन्न सकिन्छ र पैसा नेपालमा नै कमाउन सकिने धारणा राख्छन्  ।

भनिन्छ– गर्नेलाई जहीँतहीँ । यस्तै नियम लागू हुन्छ, काफ्लेको जीवनमा । पुलिसफोर्समा जागिर खाने सपना पालेका उनी हाल रेस्टुरेन्ट व्यवसायमा चम्किरहेका छन् । प्राकृतिक र परम्परागत खाजाहरुलाई रेस्टुरेन्टका रुपमा आधुनिकीकरण गर्ने आइडियाले नै मालामाल बनिरहेका काफ्लेको मेहनतलाई हामी सबैले सम्मान गर्नैपर्छ अनि कामलाई सानोतिनो ठान्ने नेपाली समाजको धारणालाई समेत चिर्न आवश्यक ठहर्छ ।

युवाहरुलाई स्वरोजगार बनाउने सरकारी नीति भए पनि केही गर्छु भन्ने काफ्लेजस्ता युवाहरुलाई सरकारले संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । काफ्लेको नयाँ कन्सेप्टमा खुलेका रेस्टुरेन्टहरुले थुप्रै रोजगारी सिर्जना गरेको त छँदैछ नै यिनलाई सफलताको थप शुभकामनासमेत बिजशाला प्रदान गर्दछ ।