काठमाण्डौ । आर्थिक मन्दीको सुरुआतमा कम्पनीहरुले कम माग, घट्दो नाफा र उच्च ऋणको सामना गर्नुपर्दा लागत घटाउन कर्मचारीहरु कटौती गर्न थाल्छन्। बढ्दो बेरोजगारी मन्दी परिभाषित गर्ने धेरै सूचकहरुमध्ये एक हो। मन्दीमा उपभोक्ताले कम खर्च गर्छन् र औद्योगिक उत्पादन पनि सुस्त हुन्छ।

सन् २०२२ को जुन त्रैमासिकमा अमेरिकाको वृद्धि ०.९ प्रतिशतको वार्षिक दरमा घट्यो। अमेरिकी अर्थतन्त्र संकुचित भएको यो लगातार दोस्रो त्रैमासिक थियो। 

फाइनान्सियल टाइम्स एन्ड द इनिसिएटिभ अन ग्लोबल मार्केट्सद्वारा ४९ अमेरिकी बृहत् अर्थशास्त्रीहरुको सर्वेक्षणले सन् २०२३ सम्ममा मन्दी आउने अनुमान गरेको छ। सर्वेक्षण गरिएका दुई तिहाइभन्दा बढी अर्थशास्त्रीले सन् २०२३ मा मन्दी आउने प्रक्षेपाण गरेका छन्। 

विश्वकै ठूलो अर्थतन्त्र अमेरिका मन्दीसँग संघर्ष गरिरहेको छ। त्यहाँ मुद्रास्फीति ४० वर्षको रेकर्ड स्तरमा छ। 

सार्वजनिक र निजी कम्पनीहरुसँग सम्बन्धित जानकारी प्रदान गर्ने प्लेटफर्म क्रन्चबेसबाट संकलित तथ्यांकअनुसार जुलाईसम्म अमेरिकामा ३२ हजारभन्दा बढी प्राविधिक कामदारहरुले आफ्नो जागिर गुमाएका छन्। कर्मचारीलाई हटाउने कम्पनीहरुमा माइक्रोसफ्ट र मेटाजस्ता ठूला टेक कम्पनीहरु पनि समावेश छन्।

ब्लुमबर्गको रिपोर्टअनुसार दिग्गज टेक कम्पनी एप्पलले विगतमा १०० करारमा आधारित कर्मचारीलाई हटाएको छ। यी कर्मचारी मानव संसाधन विभागमा थिए र नयाँ कर्मचारी भर्ना गर्ने काम उनीहरुसँग थियो। एप्पलले खर्च नियन्त्रण गर्न यो निर्णय गरेको हो।

माइक्रोसफ्टले पनि २ हजारभन्दा बढी कर्मचारीलाई निकालेको छ। 

उता चिनियाँ स्मार्टफोन निर्माता शाओमीले ९०० भन्दा बढी कर्मचारीलाई निकालेको छ। साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार आर्थिक मन्दीका बीचमा कम्पनीले आफ्ना करिब ३ प्रतिशत कर्मचारीलाई निकालेको हो। 

उता बेलायतमा महँगी ४ दशकयताकै उच्च विन्दुमा पुगेको छ। बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंग्ल्यान्ड’ले बेलायतमा ३ महिनापछि मन्दी आउन सक्ने अनुमान गरेको छ। यसो भएमा बेलायत सन् २०२४ सम्म मन्दीबाट बाहिर निस्कन नसक्ने बैंकको भनाइ छ। –एजेन्सी