काठमाण्डौ । ‘युवासँग–महालक्ष्मी लाइफ’को सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको शुभारम्भ गरेको छ। 

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा देशभरिबाट शाखा तथा उपशाखा प्रमुख र अधिकृतहरुसमेत गरी ७५ जनाको उपस्थिति थियो। 

समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उद्घाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत  सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तीकरणका लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए। समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउनेयस्ता कार्यक्रम फलदायी हुने उनले विश्वास व्यक्त गरे। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावका बारेमा जानकारी गराए। ‘देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देशअघि बढ्न सक्दैन’, उनले भने, ‘महिलाहरुलाई तालिम दिई रोजगारीमार्फत आयआर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुनेछ।’

आव २०७९–८० भित्र परीक्षणका रुपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ। यो कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ। यो कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमालगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ। 

वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाबाट सञ्चालित कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागत मन्तव्य र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०७८–७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने गरी ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सञ्चालन गरेको थियो। एक वर्षभित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा ८ हजारभन्दा बढी युवालाई तालिम प्रदान गरेको थियो। उक्त कार्यक्रम अत्यन्त सफल भई बीमासम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको कम्पनीले जनाएको छ।