काठमाण्डौ । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिबार काठमाण्डौमा विशेष प्रस्तुति दिएकी छिन्। 

‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा डा. नइमले २ घन्टा लामो प्रस्तुति दिएकी हुन्। 

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा. नइमले नेपालजस्ता मुलुकहरुले प्राथमिक स्वास्थ्यको हेरचाहमा मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा साथ समेट्नुपर्ने र मानसिक स्वास्थ्य समस्याको विषयमा विद्यालयस्तरदेखि नै पढाइ हुनुपर्नेमा जोड दिइन्। 

नइमले व्यक्तिको समग्र स्वास्थ्यका लागि शारीरिक तथा मानसिक दुवै अवस्था सही हुनुपर्ने उल्लेख गर्दै भनिन्, ‘यो समस्यालाई मनोवैज्ञानिक रुपमा नहेरिनेलगायतका कारणले व्यक्ति मानसिक समस्यामा पर्दै जाने क्रम बढेर गएको छ। शारीरिक समस्यालाई जसरी व्यक्तिको मानसिक समस्यालाई पनि ध्यानमा राख्न आवश्यक छ। राज्यस्तरबाटै यस्तो विषयमा पर्याप्त नीति बनाइन, सचेतना फैलाइन र समयमै समस्याको निदान हुनुपर्छ।’

मानसिक समस्यालाई सामान्य रुपमा लिँदा पछिल्लो समय यसले विकराल रुप लिइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले जनस्तरमा समेत यसको विषयमा पर्याप्त सचेतना फैलाइन आवश्यक रहेको बताइन्। 

डा. नइमले काठमाण्डौमा रहेर सक्रिय मनोचिकित्सक तथा चिकित्सकहरुसँग समेत मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा केन्द्रीत रहेर अन्तरक्रिया गरेकी थिइन्। 

कार्यक्रममा नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष राजेन्द्रबहादुर सिंहले जल्दोबल्दो विषयमा दुबईबाट नेपाल आएर महत्वपूर्ण समय र प्रस्तुति दिएको भन्दै डा. नइमको प्रशंसा गरेका थिए। उनले पछिल्लो समय मानसिक समस्यालाई सामान्य रुपमा लिँदा समाजमा डिप्रेसनको समस्या बढ्दै गएको र आत्महत्याका घटनामा पनि उल्लेख्य वृद्धि भएको भन्दै विद्यालयस्तरदेखि नै मनोविज्ञानको विषयमा पढाइ हुनुपर्ने र नेपाल सरकारले समेत मानसिक समस्यालाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरु अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा नर्भिक अस्पतालका संस्थापक बसन्त चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रलगायतको पनि सहभागिता थियो।