काठमाण्डौ । निजी क्षेत्रले लकडाउन नै अहिलेको कोभिड नियन्त्रणको अचुक उपाय नभएको स्पष्ट पारेको छ। 

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले कोभिडको दोस्रो लहर आएको सन्दर्भमा लकडाउनका कुरासमेत आउन थालेकाले लकडाउन नै अहिलेको समस्या समाधान नभएको स्पष्ट पारेका हुन्। उनीहरुले मुलुकको अर्थतन्त्रले अब अर्को लकडाउन थेग्न नसक्ने पनि बताए। 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल चेम्वर अफ कमर्सको हालै सम्पन्न ७० औँ वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्षसहित पदाधिकारीहरुको स्वागतमा आज महासंघ सचिवालयमा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्। अर्थतन्त्र र स्वास्थ्य सचेतनालाई एकैसाथ लैजानेतर्फ पहल हुनुपर्ने र महासंघ, चेम्बर र परिसंघ बीच संस्थागत सहकार्य र कार्यगत एकतालाई अगाडि बढाउन दुई/दुईजनाको एक समिति गठन गरी सोही समितिमार्फत कार्य गर्न उपयुक्त हुने सुझाव पनि दुवै संस्थाका पदाधिकारीहरुले राखे। 

निजी क्षेत्र एकढिक्का भएर जान सकेमात्र उद्योगव्यवसाय क्षेत्र बलियो हुने, निजी क्षेत्रले उठाएका मुद्दाहरु कार्यान्वयन हुने र आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने हुँदा संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनुपर्नेा दुवै संस्थाका पदाधिकारीहरुले जोड दिएका छन्। 

संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिडपश्चात अर्थतन्त्रको पुनरुत्थानलगायत उद्योगव्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आह्वान भएको बन्दलगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्नेलगायतका विषयमा प्रतिनिधि संस्थाहरुको संयुक्त धारणाबाट निकै बलियो संदेश गएको सोही अवसरमा स्मरण गरिएको थियो।  ‘एकता नै बल हो भन्ने कुरालाई हामी तीनैवटा संस्थाहरुले मनन गरेर अगाडि बढ्नुपर्छ’, महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरुलाई स्वागत गर्दै भने, ‘हामी प्रतिस्पर्धी होइन, एकअर्काका परिपुरक हौँ र आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरुमा कार्यगत एकता गरौँ, सहकार्यलाई घनिभुत ढंगले अगाडि बढाऔँ। हामीले बोल्ने भाषा एकै हुनुपर्छ। हामीले एकता देखाउन सक्यौँ भने हामी अझ बलियो हुन्छौँ।’ 

अध्यक्ष गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजका रुपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने पनि स्पष्ट पारे। महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमा समेत संस्थागत सहकार्य गर्न चेम्वरलाई उनले आग्रह गरे। 

अध्यक्ष गोल्छाले महासंघ र नेपाल चेम्वर बीचको ऐतिहासिक सम्बन्धका बारेमा स्मरण पनि गरे। 

कार्यक्रममा चेम्बरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्बरका निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसंग संस्थागत सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए। ‘महासंघका अध्यक्षले संस्थागत सहकार्यका लागि राख्नुभएको प्रस्तावप्रति हाम्रो पूर्ण समर्थन रहेको छ’, उनले भने, ‘चेम्बर र महासंघबीचको ऐतिहासिक सम्बन्ध अत्यन्त प्रगाढ रहेको छ र उक्त सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने विश्वास दिलाउन चाहन्छु।’ 

अध्यक्ष मल्लले महासंघले अगाडि सारेको भिजन पेपरको कार्यान्वयनमा के–कसरी सहकार्य गरि अगाडि बढ्न सकिन्छ भन्ने विषयमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए। बजेट ल्याउने तर कार्यान्वयन नहुने सरकारको समस्या रहेकाले बजेटमा उल्लेख गरिएका कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि पनि एकताबद्ध भएर पहल गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए। ‘हामीबीचको संस्थागत सहकार्य र कार्यगत एकता भोलिका पिँढीहरुका लागि पनि उदाहरणीय बनाउनुपर्छ’, उनले भने। 

कार्यक्रममा महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्यहरु, चेम्वरका तर्फबाट वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपकुमार मल्होत्रा, उपाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष उर्मिला श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष त्रिभुवनधर तुलाधरको सहभागिता थियो।